
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल’ अभियानअन्तर्गत बारपाकको तस्वीर प्रदर्शन गर्ने योजना बनाएको छ।
- यस प्रदर्शनीले गोरखा भूकम्पको १० वर्षपछिको पुनर्निर्माण र पुनर्जीवनको कथा चित्रण गर्दछ।
- साथै, बोर्डले भीमप्रसाद शर्माको कला प्रदर्शनी आयोजना गरी आध्यात्मिक र चेतनामूलक विषयवस्तु प्रस्तुत गर्दैछ।
३० वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डमा बारपारका तस्वीर प्रदर्शनमा राखिने भएको छ ।
बोर्डले आफ्नो प्रमुख अभियान ‘फोटो नेपाल’ अन्तर्गत जेठमा नेपालको भावनात्मक गहिराइ, सिर्जनात्मकता र साहसी आत्मा उजागर गर्ने दुई प्रेरणादायी प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ ।
यस महिना १–३ जेठसम्म फोटो पत्रकार प्रकाशचन्द्र तिमल्सेनाको बारपाक फोटो प्रदर्शनी राखिने बोर्डले जनाएको छ । गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा आयोजना गरिँदै गरेको यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई तस्वीरका माध्यमबाट चित्रण गर्ने समेत बोर्डले जनाएको छ ।
बोर्डको यो अभियानले विभिन्न व्यक्ति र संस्थाको सहकार्यमा नेपालका दृश्य सम्पदा र सामूहिक स्मृति दस्तावेज गर्दै आएको छ । ४–१० जेठसम्म पर्यटन बोर्डले प्रतिष्ठित कलाकार भीमप्रसाद शर्मा को १३औं एकल कला प्रदर्शनी (कुण्डलिनी) प्रस्तुत गर्ने समेत जनाएको छ ।
ऊर्जा, चेतना र आध्यात्मिक रूपान्तरणका विषयवस्तु आधार बनाएको कला प्रदर्शनीले रङ, रूप र प्रतीकहरूको प्रयोग मार्फत दर्शकलाई आन्तरिक यात्राको सन्देश दिने बोर्डले उल्लेख गरेको छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी नेपाललाई दृश्यहरूका माध्यमबाट विश्वभरि प्रेरणा दिने कामको प्रयास गरिएको बताउँछन् ।
प्रतिक्रिया 4