
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले शौचालयबाट निस्कने फोहोर पानीको प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरेको छ।
- यस प्रणालीले घरेलु फोहोर व्यवस्थापनसँगै तरल फोहोर व्यवस्थापनलाई पनि जोड दिन्छ।
- यसले दुर्गन्धरहित र प्रयोग गर्न मिल्ने पानी उत्पादन गर्दछ, जसलाई बोटविरुवामा प्रयोग गर्न सकिन्छ।
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयका शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ ।
दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।
उनका अनुसार यो नमूना योजनाको रूपमा सञ्चालनमा ल्याइएको हो । ‘यसको नतिजा हेरेर अन्यत्र पनि विस्तार गर्ने योजना छ,’ राईले भनिन्, ‘काठमाडौंको स्वच्छताका लागि घरेलु फोहोर व्यवस्थापनसँगै तरल फोहोर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगका लागि अहिले परीक्षण गरेका हौं ।’
बिजलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहोर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ हो ।
‘३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्बर छन्,’ विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइराला प्रणालीको प्राविधिक पक्षबारे जानकारी दिइन् ।
‘शौचालयबाट केही ठोससहितको फोहोर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन सुरु हुन्छ ।
तेस्रो चरणमा एरोविक (अक्सिजन दिनुपर्ने विधि) बाट र चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ,’ कोइरालाले भनिन् ।
विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रूपमा प्रशोधन गरिएको छ ।
यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइनेछ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4