+
+
Shares

घुस दिन बाध्य शिक्षक नै घुस्याहाको पक्षमा बोलेपछि…

‘आफूले दुःख दिएका शिक्षक भोजराज भट्टराईलाई शाखा अधिकृत प्रसाईंले प्रभावित पारेको देखियो । पेन्सनपट्टा बनाइसकेका ती शिक्षक बहकाउमा परे,’ अख्तियार स्रोतले भन्यो, ‘उनले विशेष अदालतमा गएर मसँग कविता अधिकारीले घुस मागेकी नै थिइनन् भनी बकपत्र गरे ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते २२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षक भोजराज भट्टराईले आफूसँग घुस माग्ने शाखा अधिकृत धनेश्वर प्रसाईंकै पक्षमा बयान दिएका छन्।
  • भट्टराईले विशेष अदालतमा आफ्नो बयान परिवर्तन गरी प्रसाईं घुस नलिएको बताएका छन्।
  • अदालतबाट दोषी ठहर भएमा शिक्षक भट्टराईमाथि कैद र जरिवाना त हुनेछ नै, जिन्दगीभर पढाएर पाएको पेन्सन समेत खोसिन सक्नेछ ।

३० वैशाख, काठमाडौं । दुई पटकसम्म घुससहित रंगेहात पक्राउ परेको एउटा कर्मचारीको मनोबल कतिसम्म गिर्छ होला ? ‘अब जोगिन सकिँदैन’ भनेर हरेस खाइसकेको हुनुपर्ने हो । तर शिक्षक किताबखानाबाट ३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृत धनेश्वर प्रसाईं यो मामिलामा जब्बर भेटिए ।

४ महिनाअघि दोस्रो पटक घुससहित पक्राउ परेका प्रसाईंले आफूलाई घुस बुझाउन बाध्य भएका शिक्षकलाई नै प्रलोभनमा पारे र बयान उल्ट्याउन लगाएर भ्रष्टाचार मुद्दामा नै फसाइदिए ।

सहजै हुने काममा अल्मल्याएपछि दिग्दार बनेका संखुवासभाका शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएर शाखा अधिकृत प्रसाईं लगायत तीन जनालाई घुससहित पक्राउ गराएका थिए । अख्तियारले साक्षी बनाएर विशेष अदालतमा पुगेका तिनै शिक्षक भट्टराई प्रलोभनमा परेर उल्टो बकपत्र गरे ।

उल्टो बकपत्र गरेको आरोपमा शिक्षक भट्टराईविरुद्ध समेत अख्तियारले मुद्दा चलायो । पेन्सन पकाएर घर बसेका शिक्षक भट्टराई आरोपितहरूलाई जोगाउँदा उल्टै भ्रष्टाचार मुद्दामा फसेका छन् । आरोप प्रमाणित भए उनको पेन्सनपट्टा समेत खोसिन्छ ।

पेन्सनपट्टा बनाउँदाको सास्ती

संखुवासभाका शिक्षक भोजराज भट्टराई आफ्नो पेन्सनपट्टा बनाउन पुस, २०८१ मा शिक्षक किताबखाना, ताहाचल पुगे । मागेको कागजात बुझाएपछि काम बन्नुपर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाईंले कहिले के कागजात पुगेन, कहिले के मिलेन भनेर हैरानी दिइरहेका थिए ।

शिक्षक भट्टराईका अनुसार, उनी प्रधानाध्यापकबाट अवकाश भएपछि व्यवस्थापन समितिले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा हाल्यो, मुद्दा चलुन्जेल उनले पेन्सनपट्टा बनाएका थिएनन् ।

अदालतबाट दोषी ठहर भएमा शिक्षक भट्टराईमाथि कैद र जरिवाना त हुनेछ नै, जिन्दगीभर पढाएर पाएको पेन्सन समेत खोसिन सक्नेछ ।

शिक्षक भट्टराईले त्यो मुद्दा जिते । त्यतिबेला देशभर कोरोना संक्रमण उत्कर्षमा थियो, उनले पट्टा बनाउन हतार गरेनन् । अहिले मात्रै उनी पेन्सनपट्टा बनाउन काठमाडौं आएका थिए ।

शिक्षक भट्टराईले गत पुसमा अनलाइनखबरसँग भनेका थिए, ‘किन ढिलो पेन्सनपट्टा बनाउन खोजेको भन्दै अल्मल्याइरहे । कहिले यो त कहिले अर्को कागजात पुगेन भनेर दुःख दिए । अनि अख्तियारमा उजुरी दिएको थिएँ ।’

शाखा अधिकृत प्रसाईंसँग मिलेमतो गरेका बिचौलिया सुदर्शन न्यौपानेले पैसा दिएमा आफूले काम मिलाइदिने भनी शिक्षक भट्टराईलाई आश्वासन दिएका थिए ।

अख्तियारले बिचौलिया भनेर आरोपपत्रमा नाम उल्लेख गरेका सुदर्शन न्यौपाने ताहाचलस्थित शिक्षक किताबखानामा दिनभर घुमफिर गरिरहने व्यक्ति थिए । उनकी पत्नी भवानी अधिकारी त्यही किताबखानामै कार्यालय सहयोगी थिइन् ।

घुस माग्ने क्रममा शिक्षक किताबखानामा पहिले क्यान्टिन सञ्चालन गरिरहेका सुदर्शन न्यौपाने र किताबखानामै कार्यालय सहयोगीको रूपमा कार्यरत भवानी अधिकारीले ‘डिल’ गरिरहेका थिए । भिडियो फुटेज र केही अडियो अख्तियारमा पेस भएको थियो ।

३ लाख रुपैयाँ घुस खाएको आरोपमा शाखा अधिकृत प्रसाईं, बिचौलियाको भूमिका खेलेका सुदर्शन न्यौपाने र कार्यालय सहयोगी रहेकी भवानी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा चलेको थियो ।

प्रलोभनमा परेपछि…

भ्रष्टाचारसम्बन्धी कानुनमा घुस लिने र दिने दुवैलाई सजाय हुने व्यवस्था छ । तर आफूलाई सरकारी कर्मचारी वा पदाधिकारीले घुस मागेको भनी उजुरी दिने व्यक्तिलाई अख्तियारले पैसा बुझाउन अनुमति दिन्छ ।

अनि, उसलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गर्छ, तर मुद्दा दायर गर्दैन ।

बिचौलियाको भूमिकामा रहेका सुदर्शन न्यौपाने र उनकी पत्नी एवं कार्यालय सहयोगी भवानी अधिकारीले घुस मागेर हैरान पारेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए ।तर, विशेष अदालतमा पुग्दा उनी बदलिए ।

मुद्दामा सहुलियत पाएवापत उसले विशेष अदालतमा अख्तियारको साक्षीको रूपमा बकपत्र गर्दा आफूले घुस बुझाएको र आरोपितहरूले घुस मागेको विवरण खुलाउनुपर्छ ।

त्यही प्रक्रियाअनुसार संखुवासभाका शिक्षक भोजराज भट्टराई विशेष अदालतमा उपस्थित भए ।

अख्तियारमा गरेको बयानअनुसार उनले विशेष अदालतमा ‘आफूसँग सुदर्शन न्यौपाने र भवानी अधिकारीले घुस मागेका थिए र मैले उनीहरूलाई रकम बुझाएको हुँ’ भनी बकपत्र (अदालतमा गएर साक्षीको रूपमा आफ्नो भनाइ राख्ने काम) गर्नुपर्ने थियो ।

अख्तियार स्रोतका अनुसार, दुई पटक रंगेहात पक्राउ परिसकेका शाखा अधिकृत धनेश्वर प्रसाईंले यो बीचमा पनि चलखेल गर्ने उपाय देखे ।

ती शिक्षक भोजराज भट्टराईले विशेष अदालतमा गएर बिचौलिया सुदर्शन न्यौपाने र कार्यालय सहयोगी भवानी अधिकारीले मसँग घुस मागेका थिएनन्’ भनेर बयान गरेमा मुद्दा कमजोर हुन्थ्यो । बिचौलिया प्रयोग गरेर घुस लिएका अधिकृत प्रसाईं त झनै जोगिने सम्भावना रहन्थ्यो ।

‘आफूले दुःख दिएका शिक्षक भोजराज भट्टराईलाई हारगुहार गरेर शाखा अधिकृत प्रसाईंले प्रभावित पारेको देखियो । पेन्सनपट्टा बनाइसकेका ती शिक्षक बहकाउमा परे,’ अख्तियार स्रोतले भन्यो, ‘उनले विशेष अदालतमा गएर मसँग कविता अधिकारीले घुस मागेकी नै थिइनन् भनी बकपत्र गरे ।’

बिचौलियाको भूमिकामा रहेका सुदर्शन न्यौपाने र उनकी पत्नी एवं कार्यालय सहयोगी भवानी अधिकारीले घुस मागेर हैरान पारेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए । शाखा अधिकृत प्रसाईंसहित ३ जना घुससहित पक्राउ परेपछि शिक्षक भट्टराईले अख्तियारमा गई ‘उनीहरूले आफूसँग घुस मागेको’ भनी बयान पनि गरेका थिए ।

तर, विशेष अदालतमा पुग्दा उनी बदलिए । शिक्षक भट्टराईले विशेष अदालतमा आफूसँग कसैले घुस नमागेको भनी बोली फेरे । उनले बकपत्रमा भनेका छन्, ‘(कार्यालय सहायक) भवानी अधिकारीले मसँग काम गरिदिन्छु वा गराइदिन्छु भनी कुनै रकम माग गरेको देखिँदैन ।  कार्यालय सहयोगी पदमा रहेर कुनै कागजातमा हस्ताक्षर गर्ने वा श्रेष्ता प्रमाणित गर्ने अधिकारसमेत नभएको कारणले निजलाई सफाइ दिँदा मेरो मञ्जुर छ ।’

सुदर्शन न्यौपानेको तारतम्यमा शिक्षक भट्टराईसँग फोनमा घुस माग्ने काममा कार्यालय सहयोगी भावनी अधिकारी संलग्न रहेको अख्तियारको आरोप थियो । तर विशेष अदालतमा उल्टो बकपत्र गरेपछि मुद्दा स्वतः कमजोर हुने भयो । त्यहीँबाट आफूले दोस्रो पटक सफाइ पाउने आश देखेका शाखा अधिकृत प्रसाईंले ती शिक्षकलाई प्रभावित पारेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

गत फागुनमा अदालतमा उल्टो बकपत्र गरेको खबर अख्तियारले थाहा पायो । अख्तियारले विशेष अदालतबाट बकपत्रको प्रमाणित प्रति नै मगायो । अनि उल्टो बकपत्र गर्ने तिनै शिक्षक भोजराज भट्टराईसँग बयान लियो ।

उनले अख्तियारमा ‘भवानीको अधिकारीको हकमा मैले बकपत्र गर्दा भुलवश कानुनी भाषा वा शब्दहरू चयन नभई छुट भएको’ भनी बयान दिए । अख्तियारले उनको बयानमा चित्त बुझाएन । ‘प्रतिकूल बकपत्र गरेको’ आरोपमा शिक्षक भट्टराईलाई पनि फन्दामा पार्‍यो । शिक्षक किताबखानाका कर्मचारीहरूलाई घुस खुवाएको आरोपमा अख्तियारले उनीविरुद्ध १९ चैत, २०८१ मा विशेष अदालतमा मुद्दा दायर गर्‍यो ।

पेन्सनपट्टा बनाउन खोज्दा किताबखानाका कर्मचारीहरूले घुस मागेपछि आक्रोशित शिक्षक भट्टराईले अख्तियारमा उजुरी गरे । रंगेहात पक्राउ परेका कर्मचारीहरूविरुद्ध मुद्दा दायर गर्न भूमिका खेलेका शिक्षक भट्टराई विशेष अदालतमा उल्टो बकपत्र गरेकाले उल्टै भ्रष्टाचारको फन्दामा परे ।

अदालतबाट दोषी ठहर भएमा उनीमाथि कैद र जरिवाना त हुनेछ नै, जिन्दगीभर पढाएर पाएको पेन्सन समेत खोसिन सक्नेछ । पेन्सनका लागि अख्तियारलाई खबर गरेर घुस बुझाएका उनी प्रतिकूल बकपत्र (बयान फेरेका)का कारण पेन्सनै खोसिने जोखिममा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?