
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन्।
- आगलागी ग्यास चुहिएर भएको प्रारम्भिक अनुमान गरिएको छ र यसलाई मध्यनजर गर्दै अनुगमन बढाउने योजना बनाइएको छ।
- आगलागीमा एक महिलाको मृत्यु भएको र धेरै घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिका-२४ मखनटोलमा आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन् ।
बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगो सल्किएको थियो । यसक्रममा एकजनाको मृत्युसमेत भएको छ ।
क्षति भएका घरको अवलोकनको क्रममा उपप्रमुख डंगोलले घरधनीहरू दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग छलफल गरिन् ।
ग्यास चुहिएर आगलागी भएको प्रारम्भिक विवरण आएको भन्दै उपप्रमुख डंगोलले भनिन्, ‘आगलागीका घटनाहरू धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौं ।’
डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरूमा पनि अनुगमन गर्ने जानकारी दिइन् ।
बुधबार आगलागीमा परेर श्रेष्ठको चारतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ सोही घरमा एक महिलाको मृत्यु भएको हो । दयारामको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर र सँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको काठमाडौं-२४ वडाध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिए ।
प्रतिक्रिया 4