+
+
Shares

त्रिविमा एक सय दिनमा प्रकाशित गर्नुपर्ने नतिजा ४ सय दिनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले परीक्षा परिणाम प्रकाशनमा ढिलाइ गरेको पाइएको छ ।
  • क्यालेन्डर पालना नगर्नु र कर्मचारीको अभाव जस्ता कारणले नतिजा प्रकाशन ढिलो भएको हो ।
  • त्रिविले यस वर्षदेखि समयमै नतिजा प्रकाशित भइरहेको दाबी गरे पनि, सुधारको आवश्यकता अझै रहेको छ।

१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सय दिनमा प्रकाशित गर्नुपर्ने नतिजा चार सय दिन लगाउने गरेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयको ६२औं प्रतिवेदनमा त्रिविले नतिजा प्रकाशनमा ढिला गरेको उल्लेख गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले २०८० असोज २७ मा परीक्षा सकिएको एक सय दिनभित्रै नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

‘यो वर्ष सञ्चालित परीक्षाको नतिजा प्रकाशन गर्न २०४ देखि ४०० दिनसम्म लागेको देखियो,’ महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बीबीएस चौथो वर्षको नतिजा २०४ दिनमा, बीए पहिलो वर्षको ३५७ दिनमा, बीएड पहिलो वर्षको ३८९ दिनमा, बीबीए पहिलो वर्षको ४०० दिनमा, बीएड तेस्रो वर्षको ३५० दिनमा, बीबीएस तेस्रो वर्षको ३४६ दिनमा, बीएड दोस्रो वर्षको नतिजा ३१४ दिनमा प्रकाशित भएको छ । यसरी ढिला गरी नतिजा प्रकाशित गर्दा विद्यार्थी मारमा परेका छन् ।

‘विश्वविद्यायले क्यालेन्डर फलो नगर्दा नतिजा प्रकाशितमा ढिला भएको हो । क्यालेन्डर बनाउने तर नेतृत्वले नै पालना नगरेपछि समस्या आएको हो,’ त्रिवि स्ववियु अध्यक्ष दीपक जाशीले भने, ‘नतिजा ढिला प्रकाशित हुँदा शैक्षिक सत्र प्रभावित हुन्छ । विद्यार्थी जब मार्केटमा जान पाउँदैनन् ।’

परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कर्मचारीको व्यवस्थापन नभएकाले पनि सयमा नतिजा प्रकाशन गर्न ढिलाइ भएको अध्यक्ष जोशी बताउँछन् ।

‘बल्खुमा एक जना कर्मचारी बिदामा बस्दा काम कारबाही ठप्प हुन्छ । अर्को जनशक्ति तयार छैन,’ उनले भने ।

त्रिविको प्रणालीमै समस्या देख्छन् प्राध्यापक संघका अध्यक्ष वसन्त ढकाल । ‘समयमा कक्षा, परीक्षा र नतिजा प्रकाशित नुहुनु भनेको त्रिविको प्रणालीमै समस्या हो,’ ढकालले भने, ‘समयमा उत्तर पुस्तिका परीक्षण गरेर नतिजा निकाल्नु पर्छ ।’ यसबारे अनुगमन गर्ने निकाय विश्वविद्यालय अनुदान आयोग पनि हो । क्यालेन्डर फलो गर्न सचेत गराएपनि विश्वविद्यालयहरूले कार्यान्वयन नगरेको निष्कर्ष आयोगको छ ।

‘नतिजा प्रकाशनमा ढिलाइ भएको छ । हामीले क्यालेन्डर पनि मागेका छौं । नियमित अनुगमन गरेका छौँ। फेरि क्यालेन्डर समितिको बैठक बसेर अर्को निर्णय गर्छौं,’ अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले भने । परीक्षा प्रणालीलाई डिजिटलाइजेसन गर्‍यो भने पनि समस्याको समाधान हुने विद्यार्थीहरू बताउँछन् ।

‘डिजिटलाइजेनमा जान हामीले धेरै समयदेखि भनिरहेका छौँ । प्रयास पनि भएको हो पूर्ण हुन सकेको छैन । यसका लागि प्रविधिमैत्री जनशक्ति पनि बल्खुमा आवश्यक छ,’ स्ववियु अध्यक्ष जोशीले भने । चार वर्षमा सकिने पर्ने पढाइ ६ वर्षसम्म लाग्ने गरेको विद्यार्थीको गुनासो छ । महालेखाले समयमै नतिजा प्रकाशित गर्न सुझाव समेत दिएको छ ।

‘नतिजा प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक सत्र तथा रोजगारीका अवसरमा भाग लिन असर पर्ने भएकाले तोकिएको समयमा परीक्षाफल प्रकाशन गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

तर, त्रिविका पदाधिकारी भने यो वर्षदेखि समयमै नतिजा प्रकाशित भइरहेको दाबी गर्छन् ।

‘यो प्रतिवेदन अघिल्लो वर्षको हो । यो वर्षदेखि नियममित एक सय दिनभित्रै नतिजा प्रकाशित गरिरहेका छौं,’ त्रिविका रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?