
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको टिकापुरमा स्कुटर चालक महिलाले प्रहरीसँग भनाभन गरेपछि हात हालाहाल भयो।
- सुनसरीमा गाउँपालिका अध्यक्षले ट्राफिक प्रहरीलाई धम्की दिएपछि घटना भएको छ।
- प्रहरी र नागरिकबीचको विवादले कानुन पालनामा असर पुर्याइरहेको र व्यवहारमा सुधार आवश्यक रहेको विश्लेषण गरिएको छ।
२६ जेठ, काठमाडौं । शनिबार कैलालीको टिकापुर नगरपालिका–७ स्थित सडकमा स्कुटर चालक महिला राजकुमारी कुँवर शाह र प्रहरीबीच भनाभन भयो ।
सादा पोशाकमा ड्युटीमा खटिएका प्रहरीले स्कुटर रोक्न लगाएपछि उनीहरूबीच भनाभन भएको थियो । भनाभनका क्रममा चालक महिलाले प्रहरीका सई यज्ञराज पन्तलाई ‘तँ’ भन्दै गालीगलोज गरिन् । विवाद बढ्दै जाँदा उनीहरू हात हालाहालको स्थितिसम्म पुगे ।
यो घटनाको मुख्य कारण ट्राफिक नियमसँग जोडिएको छ । राजकुमारीले आफू स्कुटरको पछाडि बसेर एकजना नाबालकलाई स्कुटर चलाउन दिएको सार्वजनिक भिडिओमा प्रष्ट देखिन्छ ।
लाइसेन्स नभएका नाबालकलाई स्कुटर चलाउन दिएको भन्दै सादा पोशाकमा ड्युटीमा रहेका प्रहरीले रोकेका थिए ।
तर, स्कुटरको पछाडि बसेकी राजकुमारीले भने प्रहरीसँग सवालजवाफमा उत्रिँदै प्रहरीलाई ‘तँ’ भनेको भिडिओमा सुनिन्छ ।
त्यसपछि ती महिलाले आफूसँग लाइसेन्स र ब्लु बुकसमेत रहेको बताउँछिन् । किन रोकेको ? भन्दै सवालजवाफ गरेकी उनलाई प्रहरीले भने लाइसेन्स नभएका बालकलाई स्कुटर चलाउन किन दिएको भन्दै प्रश्न गर्छन् ।
बालकले पनि स्कुटर आफैंले चलाएको बताउँछन् । भिडिओ खिच्दै गरेका प्रहरीको मोबाइल समेत राजकुमारीले झारिदिन्छिन् । त्यसपछि हात हालाहालको अवस्था आउँछ ।
यो घटनामा सुरुमा प्रहरीलाई अपशब्द बोल्दै गाली गरे पनि प्रहरीले भने महिलालाई हात हाल्नु ठिक नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बालनरसिंह राणा बताउँछन् ।
विवादै भए पनि प्रहरीले लाइसेन्स, ब्लु बुक राखेर स्कुटर दिएको भए अवस्था सामान्य हुन सक्थ्यो । त्यसमाथि महिलालाई पुरुष प्रहरी कर्मचारीले हात हाल्ने अवस्था भएपछि यो घटनाले प्रहरीलाई पनि विवादित बनायो । यो घटनामा प्रहरीको नियत गलत नभए पनि संयमताको भने ख्याल गर्न नसकेको बुझाइ छ ।
यो घटनामात्रै होइन, दैनिकजसो नागरिक प्रहरीबीच सडकमै भनाभन, विवाददेखि हात हालाहालको अवस्था भएको देखिन्छ । कतिपय यस्ता घटनाहरू बाहिरन्छन् भने कतिपय गुपचुपमै रहन्छन् ।
कैलालीको यो घटनालाई माथ खुवाउने गरी सुनसरीमा अर्को घटना भएको छ, त्यो पनि समाजका अगुवा तथा जनप्रतिनिधिबाटै ।
गत शुक्रबार ओभरलोड भएको ट्याक्टर चेकजाँच गरेको विषयमा सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ट्राफिक प्रहरीलाई अश्लिल शब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिए ।
कोशी गाउँपालिका–२ कोशी कटान क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग सुरक्षाका लागि खटिएको टोलीलाई अन्सारीले अश्लिल शब्द प्रयोग गर्दै कुटेर मारिदिने धम्कीसमेत दिए ।
ट्राफिकका अनुसार बाँस ओभरलोड गरिएको ट्याक्टर चेकिङ गर्दा कागजात भेटिएन । त्यसपछि चिट काट्न खोजेपछि गाउँपालिका अध्यक्ष अन्सारी दलबलसहित घटनास्थल पुगे । अनि, ज्यान मार्नेसम्मको धम्की दिँदै भने, ‘कोशीमा ट्राफिक चाहिँदैन, यहाँबाट गइहाल ।’
अन्सारीको धम्की यस्तो रह्यो कि, ट्राफिक कमलप्रसाद दाहाल नेतृत्वको पूरै युनिट नै परिवर्तन भयो । प्रहरीको व्यवहारमा समस्या थियो कि भन्नेबारे छानबिन गर्न सुनसरीका डीएसपी योगराज खतिवडाको नेतृत्वमा ४ सदस्यीय समिति बनाइएको छ । तर गाउँपालिका अध्यक्षको अभिव्यक्तिबारे कसैले केही प्रश्न उठाएको छैन । अन्सारी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
प्रहरी, नागरिक, जनप्रतिनिधि र ट्राफिक प्रहरीबीच भएको विवाद, भनाभन, धम्की र हात हालाहालको श्रृंखला लामो छ । नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्ने प्रहरी र नागरिकबीच हुने यस्ता असहिष्णु व्यवहारले कानुन पालनामा असर गरिरहेको हुन्छ ।
नागरिक र प्रहरीबीच विवाद हुनुमा भने स्वार्थ बाझिने विषयलाई मुख्य मान्छन् जानकारहरू । प्रहरी कानुन कार्यान्वयन गराउने निकाय भएकाले त्यहीअनुसार कानुन पालना गराउन लागेको हुन्छ । तर यसलाई कतिपयले सहज नमान्दा तनाव हुने गरेको नेपाल प्रहरीका पूर्वएआईजी भीम ढकाल बताउँछन् ।
ट्राफिकमा समेत बसेर काम गरेका ढकाल भन्छन्, ‘कानुन पालना गराउँदा कतिपयलाई आफूलाई अन्याय भएको महसुस हुन्छ । त्यो भएपछि नागरिक पनि आवेशमा आउँछन् र सडकमै विवाद हुने गरेको देखिन्छ ।’
नागरिकलाई पनि आफूलाई अन्याय भएको महसुस भएमा माथिल्लो निकायमा जाने ठाउँ छ । तर उहाँहरू पनि त्यहाँ नगएर सडकमै रमिता देखाउन थाल्दा समस्या आउने गरेको नेपाल प्रहरीका एक अधिकृत बताउँछन् ।
‘हिजो सुनसरीकै घटनाको कुरा गर्नुहुन्छ भने गाउँपालिका अध्यक्ष जस्तो मान्छेले एउटा प्रहरीको जवानसँग बाझ्नुभन्दा उहाँलाई अन्यायमा परें भन्ने महसुस भएर माथिल्लो निकायमा सम्पर्क गरेको भए एक मिनेटमै समस्या समाधान हुने विषय हो । तर उहाँले नै संयमता गुमाउनुभयो । यसले न उहाँलाई राम्रो भयो न प्रहरीलाई,’ एक अधिकृतले अनलाइनखबरसँग भने ।
यी दुई घटनाको जडको एउटा मुख्य कारण नागरिक पनि हुन् । तर प्रहरीकै कारण पनि कतिपय सर्वसाधारणले अनावश्यक तनाव भोग्नु मात्रै परको छैन, भौतिक आक्रमण समेत खेप्नु परेको छ ।
सर्वसाधारणमाथि कुटपिट गरेको भन्दै ४ जना ट्राफिक प्रहरीलाई ट्राफिकको जिम्मेवारीबाट हटाउँदै गणमा थन्क्याइएको छ ।
गत २३ मंसिरमा सुन्धाराको आकाशे पुलमुनि सर्वसाधारणलाई ट्राफिक प्रहरीले कुटेको भिडिओ ६ महिनापछि ११ वैशाखमा बाहिरिएको थियो । उक्त भिडिओ बाहिरिएपछि छानबिन गर्दा ट्राफिककै गल्ती भेटियो । सर्वसाधारणलाई कुट्ने ट्राफिकका सई इश्वर महर्जनसहित ४ जनालाई सशस्त्र प्रहरी गण नम्बर २ सामाखुसीमा सरुवा गरिएको छ ।
यस्ता प्रकृतिका घटनाले प्रहरीको व्यवहार र आचरणमै प्रश्न उठाएका छन् । ‘मुस्कान सहितको प्रहरी सेवा’ भनिए पनि यस्ता घटनाले प्रहरीको व्यवहारमै प्रश्न उठाएको छ ।
प्रहरी-नागरिक तनाव हुनुको एउटा कारणमध्ये प्रहरीको व्यवहार भएको मानिन्छ । तर पहिलाको तुलना गर्ने हो भने अहिले प्रहरीको व्यवहारमा धेरै सुधार भइसकेको पूर्वएआईजी ढकाल बताउँछन् ।
‘प्रहरीको व्यवहार र आचरण पहिलाको तुलनामा धेरै सुधार भएको छ । कुनै एक घटनालाई हेरेर प्रहरीकै व्यवहारका कारण घटना भयो भनेर सामान्यीकरण गर्नु उचित हुँदैन,’ ढकाल भन्छन्, ‘दुवै पक्षका कमजोरीलाई सुधार गरेर अघि बढेको अवस्थामा यस्ता घटना न्यूनीकरण हुन्छन् । नत्र पुरानै प्रवृत्ति दोहोरिने खतरा हुन्छ ।’
प्रतिक्रिया 4