+
+
Shares

यी ७ सेलिब्रेटीको मृत्यु प्रकरण, जुन रहस्यमै छ

धेरैले अझै पनि मुनरो मारिएको र यसमा राष्ट्रपति र उनका भाइको हात हुनसक्ने अनुमान गर्ने गर्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउडका चर्चित सेलिब्रेटीहरू मर्लिन मुनरो, टुपाक शकुर, क्रिस्टोफर वालेस, बबी क्रिस्टिना ब्राउन, डोलोरेस ओ’रियोर्डन, एलिजाबेथ शर्ट र विलियम टेलरको मृत्यु रहस्यमय र विवादास्पद छ।
  • मर्लिन मुनरोको मृत्युलाई ‘सम्भावित आत्महत्या’ भनिए पनि फ्यानहरूले कन्स्पिरेसी थ्योरी फैलाएका छन् भने अन्यको मृत्युको कारण अझै स्पष्ट छैन।
  • यसैगरी, टुपाक शकुर, क्रिस्टोफर वालेस र एलिजाबेथ शर्टको मृत्युको रहस्य अझै अनसुल्झिएको छ र अनुसन्धान जारी छ।

हलिउडको चमकदमक संसारभित्र अँध्यारो पाटो पनि छ । बाहिरबाट हेर्दा जस्तो देखिन्छ, त्यस्तो छैन हलिउड । त्यहाँ जति प्रशिद्धि, चर्चा परिचार्च, पैसा, ग्ल्यामर छ उत्तिकै डरलाग्दो कथाव्याथा पनि छ । त्यही कारण त कति सेलिब्रेटीको मृत्यु दर्दनाक मात्र छैन उत्तिकै रहस्यमयी पनि ।

१. मर्लिन मुनरो, १९६२

सुन्दर, आकर्षक र दुर्भाग्य । यी शब्दहरू हलिउडकी चर्चित नायिका मर्लिन मुनरोसँग मेल खान पुग्छ । शंका छैन, उनी हलिउडकी जीवन्त स्टार हुन् । तर ५ अगस्ट १९६२ का दिन ३६ वर्षको उमेरमा नै उनको मृत्यु भयो । उनको शव लस एन्जलसस्थित घरमै भेटिएको थियो ।

मृत्युको कारणमा भने अस्पतालले बार्बिचुरेट (एक प्रकारको निन्द्राको औषधि) को ओभरडोज भनेको थियो । यसले गर्दा उनको मृत्युलाई आधिकारिक रूपमा ‘सम्भावित आत्महत्या’ भनियो । तर फ्यानहरूले सो कुरा पत्याएनन् । बरु विभिन्न कन्स्पिरेसी थ्योरीहरू फैलिन थाले ।

धेरैले अझै पनि मुनरो मारिएको र यसमा राष्ट्रपति केनेडी र उनका भाइ रोबर्ट केनेडीको हात हुनसक्ने अनुमान गर्ने गर्छन् ।

२. टुपाक शकुर, १९९६

उनलाई टु प्याक वा म्याकाभेली पनि भनेर चिन्ने गरिन्छ । उनी आफ्नो समयका चर्चित र प्रभावशाली हिप–हप कलाकार थिए । डियर मामा, क्यालिफोर्निया लभ, चेन्जेज, कीप या हेड अप जस्ता हिट नम्बर दिएका उनको संगीतमा सामाजिक मुद्दा, व्यक्तिगत भावना र ग्याङ्स्टर जीवनशैली देखिन्छ ।

त्यस्ता स्टार कलाकार लस भेगासको एक क्लबमा कार्यक्रमका लागि जाँदै गर्दा ७ सेप्टेम्बर १९९६ मा गाडीबाटै चलाइएको गोली लागेर गम्भीर घाइते हुनपुगे । उनलाई अस्पताल पनि लगिएको थियो । तर त्यसको ६ दिनपछि, सेप्टेम्बर १३ मा उनको मृत्यु भयो । त्यसबेला उनी जम्मा २५ वर्षका मात्र थिए । उनको हत्याको रहस्य अझै सुल्झिएको छैन ।

३. क्रिस्टोफर वालेस (नोटोरियस बी.आई.जी.), १९९७

शकुरको हत्याको ६ महिनापछि अर्का स्टार र्‍यापर वालेस (जो नोटोरियस बी.आई.जी. वा बिगी स्माल्स नामले पनि चिनिन्छन्) ९ मार्च १९९७ का दिन उस्तै प्रकृतिको गोलाबारीमा परे । त्यो दिन उनी लस एन्जलसमा एक पार्टीबाट निस्किँदै थिए । त्यसको एक घण्टापछि उनको अस्पतालमा मृत्यु भयो ।

त्यसबेला उनी जम्मा २४ वर्षका मात्र थिए । ज्युसी, बिग पोप्पा, हिप्नोटाइज, मो मनी मो प्रोब्लम जस्ता चर्चित गीत दिएका उनले स्टोरिटेलिङ, फ्लो र न्यूयोर्कको सडक जीवन चित्रणबाट चर्चा कमाएका थिए ।

४. बबी क्रिस्टिना ब्राउन, २०१५

उनी अमेरिकाकी प्रख्यात गायिका ह्विटनी ह्युस्टनकी छोरी हुन् । उनको मृत्यु २२ वर्षकै उमेरमा २६ जुलाई २०१५ मा एटलान्टा क्षेत्रको एक अस्पतालमा भएको थियो । तर मृत्युको कारण आजसम्म गर्भमा नै छ।

किनकि अस्पताल भर्ना हुनुभन्दा ६ महिनाअघि नै उनी जर्जियास्थित आफ्नै घरमा बेहोस अवस्थामा फेला परेकी थिइन् । जुन निकै शंकास्पद थियो । बेहोस अवस्थामा फेला परेकी उनको बाथटबमा अनुहार तल परेको थियो ।

त्यत्रो समयसम्म अस्पतालमा राख्दा समेत के भएको थियो भनेर बताउन उनी कहिल्यै होसमा आइनन् । मृत्यु भएको निकै समयपछि सार्वजनिक गरिएको पोस्टमार्टम रिपोर्टमा धेरै प्रकारका लागूऔषध र पानीमा डुब्नुलाई उनको मुत्युको कारण मानिएको थियो।

५. डोलोरेस ओ’रियोर्डन, २०१८

उनी आइरिस अल्टरनेटिभ रक ब्यान्ड ’द क्रानेबेरिज’की प्रमुख गायिका थिइन् । उनको ४६ वर्षको उमेरमा १५ जनवरी २०१८ का दिन लन्डनको एक होटलमा अप्रत्याशित मृत्यु भयो । त्यहाँ उनले रेकर्डिङ गरिरहेकी थिइन् ।

प्रहरी अनुसन्धानले उनको मृत्युलाई अस्पष्ट तर शंकास्पद नभएको बताएको थियो । तर कोरोनर (मृत्युको कारण पत्ता लगाउने अधिकारी) ले उनको मृत्युको आधिकारिक कारणबारे अझै निर्णय दिएका छैनन् ।

६. एलिजाबेथ शर्ट, ’ब्ल्याक डालिया’, १९४७

अमेरिकी इतिहासको सबैभन्दा प्रसिद्ध ’कोल्ड केस’ (नसुल्झिएको मुद्दा) मध्येको एक हो, एलिजाबेथ शर्टको मृत्यु प्रकरण । २२ वर्षको उमेरमा लस एन्जलसको कुनै खाली ठाउँमा नग्न अवस्थामा उनको शव फेला परेको थियो ।

उनको शरीर कम्मरबाट आधा काटिएको, अनुहारमा एक कानदेखि अर्को कानसम्म काटिएको थियो । त्यस्तो विभत्स तरिकाले हत्या गरिए पनि उनको मृत्युको केस अझैंसम्म सुल्झिएको छैन । सिने क्षेत्रमा उनलाई ’ब्ल्याक डालिया’ नामले बढी चिनिन्छ ।

७. विलियम डेसमन्ड टेलर, १९२२

विलियम डेसमन्ड टेलर आवाजविहीन फिल्म (साइलेन्ट फिल्म)हरूको युगका चर्चित निर्देशक हुन् । उनले दर्जनौं फिल्महरू निर्देशन गरेका छन् । तर लस एन्जलसस्थित उनी आफ्नै घरको बैठक कोठामा पिठ्यूँमा गोली लागेको अवस्थामा फेला पारेका थिए ।

सो कोठामा त्यसबेलाका उदीयमान नायिक मेरी माइल्स मिन्टरको प्रेमपत्र भेटिएको थियो । पछि मिन्टर आफैंले समेत आफू र आमा टेलरको हत्या भएको दिन सो घरमा भएको कुरा स्वीकार गरेकी थिइन् ।

तर उनीहरूलाई कुनै पनि अभियोग भने चलाइएन । यसले गर्दा पनि टेलरको हत्याको कुरा अहिलेसम्म पनि रहस्यको पोल्टोमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?