+

डेब्यूमै नन्दनको शानदार प्रदर्शन

२०८२ जेठ  २८ गते ८:०८ २०८२ जेठ २८ गते ८:०८
डेब्यूमै नन्दनको शानदार प्रदर्शन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नन्दन यादवले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भएको एकदिवसीय शृंखलामा डेब्यू गरे।
  • उनले नेदरल्याण्ड्सविरुद्ध ३ विकेट लिए र उत्कृष्ट बलिङ प्रदर्शन गरे।
  • नन्दनले आफ्नो पहिलो एकदिवसीयमा शानदार प्रदर्शन गर्दै नेपालको जितमा योगदान दिए।

२८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने एकदिवसीय शृंखलाका लागि नन्दन यादव दोस्रोपटक नेपाली टोलीमा समावेश भएका थिए ।

यसअघि पनि टिममा परेका तर मौका नपाएका नन्दनले केही महिनाअघि मात्र हङकङमा भएको टी-२०आई शृंखलामार्फत राष्ट्रिय टोलीका डेब्यू गरेका थिए । तर एकदिवसीयमा भने मौका पाएका थिएनन् ।

यस शृंखलामा पनि उनले एकदिवसीय डेब्यूका लागि अझै पर्खनुपर्ने अवस्था लगभग निश्चितजस्तै भएको थियो । तर प्रशिक्षणका क्रममा मुख्य पेस बलर सोमपाल कामीलाई चोट लागेपछि मंगलबारको खेलमा नन्दनले डेब्यूको मौका पायो ।

नेपाली बेन्चमा नन्दनबाहेक अर्का पेस बलर रिजन ढकाल मात्र थिए जसले यो शृंखलाको पहिलो खेल मात्र खेलेका थिए । उनलाई बेन्चमै राखेर प्रशिक्षक स्टुअर्ट लले नन्दनलाई डेब्यूको मौका दिए ।

नन्दनले पनि पाएको मौकामा आफुलाई अब्बल साबित गर्दै नेदरल्याण्ड्सविरुद्ध ३ विकेट नै लिए । उनको बलिङ फिगर पनि शानदार थियो ।

नन्दनले ९ ओभरमा १ मेडनसहित ३९ रन दिएर ३ विकेट लिए । यो नेपालका लागि ओडिआई डेब्यूमा उत्कृष्ट बलिङ प्रदर्शनमध्येको एक हो ।

नेदरल्याण्ड्सविरुद्ध उनले ओपनर म्याक्स ओ डाउडलाई सस्तैमा क्याचआउट गराएका थिए । त्यसपछि तल्लोक्रममा सेट भइरहेका काइल क्लेन र रोलफ भान डर मर्वेलाई पनि क्याच आउट गराए ।

डेब्यूमा विकेट लिन पाउँदा निकै खुसी लागेको नन्दनले बताए । ‘डेब्यूमा विकेट लिन पाउनु भनेको निकै ठुलो कुरा हो, त्यसमाथि पनि टिमले जितेको कारणले अझ स्पेशल बनेको छ’ उनले भने ।

अस्ट्रेलियामा रहेर त्यहाँको स्थानीय क्रिकेट खेल्ने गरेका नन्दन गत नोभेम्बरमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्न आएका थिए ।

प्रतियोगिता सकिएपछि अस्ट्रेलिया फर्कन बोर्डिङ पास लिइसकेका नन्दनलाई आमाले फोन गरेर नेपाल फर्कनुपर्छ यतैबाट खेल्नुपर्छ भनेपछि उनी अस्ट्रेलिया गएका थिएनन् ।

त्यसपछि नेपाली टोलीबाट दुवै फर्म्याटमा डेब्यू गर्दै उनले डेब्यूमै शानदार प्रदर्शन गर्दै नेपालको जितमा भूमिका खेलेका छन् ।

डेब्यूमा उत्कृष्ट प्रदर्शन गर्ने चौथो नेपाली

नन्दन यादव डेब्यू ओडिआई खेलमा नै उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीको सूचीमा चौथो नम्बरमा छन् । सबैभन्दा उत्कृष्ट प्रदर्शन भने पारस खड्काको नाममा छ ।

सन् २०१८ अगस्टमा भएको नेपालको पहिलो ओडिआई खेलमा पारसले नेदरल्याण्ड्सविरुद्ध नै १० ओभरमा २६ रन दिएर ४ विकेट लिएका थिए । यद्यपी नेपाल उक्त खेलमा पराजित भएको थियो ।

त्यस्तै सुशान भारीले सन् २०२० मा ओमानविरुद्धको खेलमा डेब्यू गर्दा १० ओभरमा १४ रन मात्र दिएर ३ विकेट लिएका थिए ।

सोमपाल कामीले २०१८ को नेदरल्याण्ड्ससँगकै खेलमा ८.४ ओभरमा ३४ रन दिएर ३ विकेट लिएका थिए ।

नन्दन यादव नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय