+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जको घडियालका जन्मिए २०२ बच्चा

गत वैशाखमा राप्ती नदीका विभिन्न ठाँउमा संकलन गरिएका २३२ अण्डा मध्येबाट २०२ वटा बच्चा जन्मिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते २०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन् केन्द्रमा वैशाखमा २०२ वटा बच्चा जन्मिएका छन्।
  • निकुञ्जले ह्याचरीमा ५ वर्षसम्म पालेर नदीमा छाड्ने गरिन्छ र मृत्युदर ३० देखि ४६ प्रतिशत हुन्छ।
  • राप्ती नदीमा घडियाल र मगर गोही पाइन्छ र ती नदीमा बाँच्ने प्रतिशत अन्य नदीभन्दा बढी हुन्छ।

४, जेठ, चितवन। चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा घडियालका २०२ वटा बच्चा जन्मिएका छन् । गत वैशाखमा राप्ती नदीका विभिन्न ठाँउमा संकलन गरिएका २३२ अण्डा मध्येबाट २०२ वटा बच्चा जन्मिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वैशाखमा १२ दिन लगाएर गोहीका अण्डा बालुवाबाट संकलन गरिएका थिए । अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो । प्रजनन् केन्द्रमा अहिले भाले गोहीको अभाव छ ।

केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष नारायणी, राप्ती, कर्णाली तथा कोशी नदीमा लगेर छाड्ने गरिन्छ । घडियाल गोहीहरू ५ वर्षको भएपछि वयस्क भएपछि प्राकृतिक वासस्थानमा छाडिने निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत थापामगरले बताए । चालु बर्ष मात्रै १०३ वटा गोही राप्ती नदीमा छाडिएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।

नदीमा घडियाल साना बच्चाको मृत्युदर अधिक हुन्छ । तर, ह्याचरीमा उत्पादनको क्रममा पनि ३० देखि ४६ प्रतिशत सम्म मात्रै मृत्युदर हुन्छ । निकुञ्जले ह्याचरीमा ७० प्रतिशतसम्म घडियाल बचाउन सकिने संरक्षणकर्मीहरु बताउँछन् ।

केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष नारायणी, राप्ती, कर्णाली तथा कोशी नदीमा लगेर छाड्ने गरिन्छ ।

ह्याचरीमा झन्डै ५ बर्ष बिताएपछि र १५ देखि २० किलो तौल भएपछि घडियाललाई नदीमा छोडिने गरिएको छ । केन्द्रमा ५ वर्षसम्म माछा खुवाएर पाल्ने गरिएको छ ।

प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक वासस्थानमा छाड्ने गरिएको गोहीमध्ये थोरै मात्रै जीवित रहने गरेको पाइएको उनले बताए ।

राप्तीमा छाडिएका गोहीहरूको बाँच्ने प्रतिशत अलि बढी भए पनि अन्य नदीमा भने घडियाल हराउने गरेका छन् । कतिपय गोही नदीमा बग्दै भारततर्फ जाने गरेका छन् ।
राप्ती नदीमा घडियालसँगै मगर गोहीसमेत पाइन्छ । घडियाल गोहीलाई ताजा पानी आवश्यक पर्दछ । घडियाल गोही पाइने ठाउँको पानी सफा हुने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?