News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा दोस्रो जित हासिल गर्यो।
- नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भयो र कुशल भुर्तेलले ६५ रन बनाए।
- नेपालले अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
५ असार, काठमाडौं । कुशल भुर्तेलको अर्धशतक मदतमा नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको प्रभावशाली जित हात पारेको हो ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए ।
आरिफ नपालको स्कोर १६८ रन हुँदा रिटार्य हर्ट भएका थिए । यस्तै टी२०आईमा डेब्यू गरेका भीम सार्कीले २७ रन बनाए । दिपेन्द्रसिंह ऐरी १६ रनमा अविजित रहे । लोकेश बमले विजयी छक्का प्रहार गर्दै १२ रनमा अविजित रहे ।
नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो ।
नेदरल्याण्ड्सका लागि ओपनिङ ब्याटर माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का सहित ८६ रनको आक्रमक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले ।
एक समय ४५-४ को अवस्थामा रहेको नेदरल्याण्ड्सका लागि लेभिटले एकतर्फी रूपमा आक्रमण गर्दै साकिब जुल्फिकरसँग मिलेर ६३ रनको साझेदारी गरे ।
१२९-७ को स्कोर भएपछि भान डर मर्वेले आर्यन दत्तसँग मिलेर ४५ रनको साझेदारी गर्दै टिमको स्कोर १७४ सम्म पुर्याए ।
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १-१ विकेट लिए ।
नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ । नेपालले यसअघि नेदरल्याण्ड्ससँगको खेलमा तीन सुपर ओभर खेल्दा पराजित भएको थियो । यस्तै स्कटल्याण्डलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4