
काठमाडौं । फोल्डेबल स्मार्टफोनको क्षेत्रमा चिनियाँ स्मार्टफोन कम्पनी अनरले एक नयाँ मानक स्थापित गर्दैछ । समाचार अनुसार कम्पनीले आगामी जुलाई २ मा आफ्नो नयाँ फोल्डेबल फोन अनर म्याजिक भी फाइभ सार्वजनिक गर्ने घोषणा गरेको छ। उक्त फोन अहिलेसम्मको सबैभन्दा पातलो र हलुका फोल्डेबल स्मार्टफोन हुने दाबी गरिएको छ।
अनर कम्पनीका सीईओ जेम्स लीले मोबाइल वर्ल्ड कंग्रेस सांघाई २०२५ का क्रममा आयोजित कार्यक्रममा म्याजिक भी फाइभ स्मार्टफोनको झलक सार्वजनिक गर्दै यसको विशेषताहरूका बारेमा जानकारी गराएका थिए।
उनका अनुसार उक्त फोन केवल पातलो र हलुका मात्र नभएर यसको कार्यक्षमता, डिजाइन र आर्टिफिसियल इन्टेलिजेन्सको इन्टिग्रेसनको हिसाबले पनि निकै शक्तिशाली हुनेछ।
यो फोनमा क्वालकोमको स्नापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिंग, मल्टी टास्किङ तथा उच्चस्तरको एआई सम्बन्धित कार्यसम्पादनलाई सहज बनाउनेछ।
म्याजिक भी फाइभमा ७.९५ इन्चको 2के+ एलटीपीओ फोल्डेबल स्क्रिन हुनेछ। साथै यसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा राखिएको छ, जसले प्रिमियम फोटोग्राफी अनुभव दिनेछ। यो फोनमा ६१०० मिली एम्पियर आवर क्षमताको सिलिकन कार्बन ब्याट्री जडान गरिएको छ, जुन लामो समयसम्म टिक्नुका साथै ६६ वाट फास्ट चार्जिंग सपोर्ट गर्नेछ।
यसअघि सार्वजनिक गरिएको म्याजिक भी थ्री मोडेलको अनफोल्ड मोटाई ४.३५ मिलिमिटर थियो भने फोल्ड भएपछिको मोटाई ९.२ मिलिमिटर थियो। नयाँ संस्करण भी फाइभले यस डिजाइनलाई अझै परिष्कृत बनाउने प्रयास गरेको छ। यसको वजन पनि निकै हलुका हुने बताइएको छ, जसले दैनिक प्रयोगमा झन्झट कम गर्नेछ।
विश्लेषकहरुका अनुसार अनर म्याजिक भी फाइभले सामसुङको ग्यालेक्सी फोल्ड सिरिजलाई सिधा टक्कर दिनेछ। खासगरी आगामी ग्यालेक्सी जेड फोल्ड सेभेन सँग यसको प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
उक्त ग्यालेक्सी फोल्डेबल फोन आगामी जुन जुलाई ८ मा सार्वजनिक हुनसक्ने चर्चा छ। फोल्डेबल स्मार्टफोन बजारमा यी दुई ब्रान्डबीचको प्रतिस्पर्धाले प्रयोगकर्तालाई नयाँ विकल्प र प्रविधि अनुभव गराउनेछ।
अनरको म्याजिक भी फाइभ फोनको मूल्य कति हुने भन्ने बारेमा कम्पनीले कुनै खुलासा गरेको छैन। तर यो प्रिमियम फोन भएकाले यसको मूल्य अघिल्लो संस्करण भन्दा उच्च रहनेछ।
यो फोन पहिलो चरणमा चीनमा उपलब्ध हुनेछ र त्यसपछि अन्य देशहरूमा क्रमशः लन्च हुने सम्भावना छ। एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4