
६ असार, काठमाडौं । चार वर्षभन्दा बढी समय लगाएर तयार ग्वार्को ओभरपास उद्घाटन गर्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम तय भएको थियो ।
त्यही अनुसार, ओभरपासको एक छेऊमा सानो शिलालेख निर्माण गरिएको थियो, जहाँ ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको…’ भन्ने उल्लेख थियो । सडकमा रातो रिवन काटेर प्रधानमन्त्रीबाट सडक उद्घाटन गराउने तयारी भौतिक पूर्वाधार मन्त्रालयको थियो ।
तर, मन्त्रालयका सचिव केशवकुमार शर्मा, पूर्वसांसद् नवराज सिलवालसहित शुक्रबार अपराह्न सडकमा देखिएका ओली आफैंले रिबन भने काटेनन् । शिलालेख छोपिएको कपडा प्रधानमन्त्रीले उघार्ने वित्तिकै रिबन काटेर उद्घाटन गर्न संकेत गर्दै सचिवले प्रधानमन्त्री ओलीलाई कैंची दिन खोजे ।
तर, ओलीले पछाडि हेर्दै ट्राफिक प्रहरीको खोजी गर्न थाले । उनले ट्राफिक प्रहरीलाई बोलाउन भनेपछि शर्माले केही पछाडि रहेका उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीलाई अगाडि आउन संकेत गरे ।
प्रधानमन्त्री ओलीले नै खोजेपछि एसएसपी अधिकारी मुस्कुराउँदै अगाडि आएर अभिवादन गरे । ओलीले उनलाई कैंची दिँदै रिबन काट्न भने ।
‘प्रधानमन्त्रीज्यूले यसले ट्राफिकलाई सहज हुने हो भन्दै मलाई कैंची दिनुभयो’, एसएसपी अधिकारी भन्छन्, ‘त्यसपछि मैले रिबन काटेँ ।’
सिमसिमे पानीका बीच एसएसपी अधिकारीले रिबन काटेपछि प्रधानमन्त्री ओलीसहित उपस्थित अन्यले ताली बजाए । यसपछि अहिले ग्वार्कोमा औपचारिक कार्यक्रम चलिरहेको छ ।
१४ करोड लागत थप
१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।
तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।
‘करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो । तर, काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ,’ भण्डारीले भने, ‘ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (ईपीसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।’
केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
२०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।
तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।
ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
ओभरपासको संरचना निर्माणको काम सकिएपछि ८ जेठदेखि कालोपत्रको काम सुरु भएको थियो ।
ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्याम्प बनाइएको छ ।
चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो । मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी ओभरपास बनाइएको छ । यसबाट ट्राफिक जाम कम हुने अपेक्षा छ ।
तस्वीरहरु: आर्यन धिमाल/विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4