+
+
Shares

राराब क्याम्पसमा विवाद, स्ववियू सभापतिसहित दुईजना पक्राउ

विवादको क्रममा स्ववियु सभापति मनिष यादव र चेतन प्रसाद गोइतलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधामको रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा प्रवेश पत्र वितरणको विषयमा विद्यार्थी र क्याम्पस प्रशासनबीच विवाद भएको हो।
  • विवादको क्रममा प्रहरी र विद्यार्थीबीच हातपात भएको र प्रहरी निरीक्षकको औंला मर्किएको प्रहरीले जनाएको छ।
  • विद्यार्थीहरूले रिहाइ नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् र परीक्षा सञ्चालनमा समस्या आएको छ।

६ आसार, जनकपुरधाम । जनकपुरधामको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसका प्रवेश पत्र वितरणको विषयलाई लिएर विद्यार्थी र क्याम्पस प्रशासनबी विवाद भएको छ ।

बीबीएस तेस्रो वर्षका विद्यार्थीलाई परीक्षा प्रवेश पत्र बाँड्न ढिलाइ भएको विषयमा क्याम्पस प्रमुख वसन्त कर्णसँग स्ववियू सभापति मनिषयादवबीच विवाद भएको थियो ।

विवादको क्रममा स्ववियु सभापति मनिष यादव र चेतन प्रसाद गोइतलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार प्रहरीमाथि हातपातसँगै प्रहरी निरीक्षक जीवछ सिंहको दायाँ हातको ठूलो औंला मर्किएको छ । पोसाक समेत च्यातिदिएको छ । त्यस घटनामा दुबै विद्यार्थीको संलग्नता रहेकाले पक्राउ गरिएको उनको भनाइ छ ।

पक्राउ दुवैजनामाथि प्रहरीले शान्ति सुरक्षाविरुद्धको कसुरमा अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

बीबीएस तेस्रो वर्षका विद्यार्थीलाई परीक्षा प्रवेश पत्र बाँड्न ढिलाइ भएको भन्दै आज बिहान साढे ७ बजेतिर सभापति यादवसहित विद्यार्थीहरु क्याम्पस प्रमुख वसन्त कर्ण समक्ष पुगेका थिए । सो क्रममा दुबैजनाबीच विवाद भएको थियो ।

क्याम्पसका स्ववियु सचिव करण साहका अनुसार त्यस क्रममा क्याम्पस प्रमुख कर्णले प्रहरी बोलाएर सभापति यादवसँगै विद्यार्थीमाथि लाठीचार्ज गराएका थिए । स्ववियु सभापति यादवलाई पक्राउ गरेर प्रहरीले लग्न खोज्दा अन्य विद्यार्थीले छुटाउने प्रयास गरेका थिए । तर अर्को प्रहरीले त्यहाँ गरेको लाठी प्रहारले प्रहरी निरीक्षकको औंलामा लागेको हुन सक्ने सचिव साहको दावी छ ।

‘प्रहरीमाथि कुनै विद्यार्थीले हातपात गरेको छैन । प्रहरीले नै लाठिचार्ज गरेको थियो । सभापतिलाई पक्राउ गरेर लग्न खोजेपछि विद्यार्थी छुटाउने बेला प्रहरीकै लाठी लागेर प्रहरीको औंला मर्किएको हुन सक्छ’ उनले भने ‘क्याम्पस प्रमुख र प्रहरीले विद्यार्थीमाथि ज्यादती गरेका हुन्।’

विद्यार्थी नेता पक्राउपश्चात विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरु बिहानैदेखि क्याम्पसअगाडि तथा क्याम्पस चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । आज दिउँसो जिल्ला प्रशासन कार्यालय घेरा उगर्दैसमेत प्रदर्शन गरेका छन् ।

आज साँझसम्म रिहाई नभए भोलिदेखि कडा आन्दालन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् । ‘आज साँझसम्मको अल्टिमेटम छ । रिहाइ भएन भने भोलिदेखि पठनपाठन बन्द गरेर कडा आन्दोलन गर्छौं।’ उनले भने ।

त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको राराबमा गत असार ४ गतेदेखि बीबीएस तेस्रो वर्षको परीक्षा भइरहेको छ । जसमा झण्डै साढे १३ सय परीक्षार्थी सहभागी छन् । तर प्रवेशपत्र भने १२ सय परीक्षार्थीले मात्रै पाएका छन् ।

बाँकी परीक्षार्थीलाई सिम्बल नम्बरको आधारमा परीक्षा दिन दिइएको छ । यस बारे क्याम्पस प्रमुख कर्णसँग कुरा गर्न खोज्दा उनको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?