+
+
Shares

सरकारलाई प्रभु साहको प्रश्नै-प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारलाई भ्रष्टाचार र जनविरोधी कार्यमा संलग्न भएको आरोप लगाए।
  • उनले विदेशमा नेपाली युवाहरुको मृत्यु, ठगी र सरकारी सेवाको निरंकुशता प्रति चिन्ता व्यक्त गरे।
  • साहले बाढी, खानेपानी, स्वास्थ्य र रोजगारका समस्या समाधान नभएको भन्दै सरकारको आलोचना गरे।

७ असार, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारलाई प्रश्नमाथि प्रश्न गरेका छन् ।

शनिबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्‍याउने भगौडा दलालहरुको पक्षधर भएको आरोप लगाए ।

‘नेपालमा दुई किसिमका जनता छन् । एउटा विदेशमा कमाएर नेपाल ल्याउँछन् । अर्को नेपालमा लुटेर विदेश लैजान्छन् । वर्तमान सरकार कुन जनताको पक्षधर हो ?,’ साहको प्रश्न छ ।

उनी थप्छन्, ‘सरकार नेपाललाई लुटेर विदेश लैजाने दलाल र भगौडाहरुको पक्षधर हो कि ? नेपालको लागि मर्ने र लड्नेहरुको पक्षधर हो ? आज सरकारको कार्यक्रम र बजेट हेर्दा यो सरकार देशमा लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर देखिन्छ ।’

उनले विदेशमा नेपाल र नेपाली जनताको लागि काम गरेकाहरु ठगिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘आज नेपालको लागि मर्नेहरू झनै प्रताडित भएका छन् । उनीहरू ठगिएका छन् । तिनीहरू रूनुपरेको स्थिति छ । विदेशमा गएकाहरुको लागि तपाईंहरुले के गर्नुभयो ?,’ साहको प्रश्न छ, ‘विदेशमा रहेका नेपालीहरू मरिरहेका छन्, के गर्नुभयो ? दिनको तीन/चार वटा लास आउँछ । तिनीहरुको बचाउको लागि के गर्नुभयो ?’

नेपालबाट मेडिकल टेष्टमा पास भएर गएका होनाहार युवाहरु विदेशी भूमिमा ज्यान गुमाउन बाध्य भएको भन्दै उनले त्यसप्रति सरकार संवेदनशील हुन नसकेको बताए ।

सरकारले नै डिमाण्ड स्विकृत र श्रम स्विकृत गरेपछि मात्रै युवाहरु रोजगारीको लागि विदेश जानसक्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको बारेमा प्रश्न सोध्दा हामी मेनपावर व्यवसायी हो र ? भनेर प्रश्नबाट समेत पन्छिएको उनको टिप्पणी छ ।

‘तपाईंहरूकै डिमाण्ड स्विकृत र श्रम स्वीकृतबाट होईन हाम्रा युवाहरू श्रम गन्त्वय मुलुकमा पुगेको ?,’ साह प्रश्न गर्छन्, ‘तर तपाईंको सरकारको प्रमुखले भन्नुहुन्छ हामी मेनपावर व्यवसायी होईन भनेर । सरकारको छापबिना कोही माइकालाल विदेश जान सक्छ ? यदि सक्दैन भने सरकारले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’

फ्रि–भिसा र फ्रि–टिकटको नाममा अहिलेपनि युवाहरू ठगिएको भन्दै उनले यो बेथिति रोक्न सरकारले कुनै पहल नगरेकोमा भनेर आलोचना गरे ।

‘आज दिनादिनु युवाहरू ठगिएका छन् । फ्रि–भिसा र फ्रि–टिकट भनिएको छ, तर वैदेशिक रोजगारीको नाममा दिनदिनै गाउँमा एजेन्टहरु पुगेका छन्, यो ठगी निरुत्साहित गर्नुपर्ने होईन ?,’ उनी प्रश्न गर्छन, ‘वैदेशिक रोजगारमा ठगिएकाहरुलाई न्याय दिनुपर्छ । ठगी मुद्दा सरकारवादी मुद्दा होईन र ?’

सरकारले आफ्नो दायित्व पूरा नगर्दा समस्या भएको उल्लेख गर्दै उनी थप्छन्, ‘गरिबहरूलाई रुवाएर लुटेर विदेश पुर्‍याउने काम भएको छ । यसको अन्त्य हुनुपर्छ ।’सांसद साहले सरकारले गरिब, निमुखा जनताका छोराछोरीलाई सरकारी जागिरमा बाटो छेकेको र स्थायी बनाउन गम्भीर नभएको आरोप लगाए ।

श्रेणीविहीन कर्मचारीहरूबाट सकेको सेवा लिने गरेको तर उनीहरूको वृत्तिविकास र स्थायीको लागि कुनै पहल नगरेको उनको भनाइ छ ।

‘सरकारी स्थायी जागिरमा गरिबका छोराछोरी आउनै हुँदैन । माथिल्लो पोष्टमा काम गर्नेहरु स्थायी हुनुपर्ने ? अनि तल्लो तहमा काम गर्नेहरु तड्पिनुपर्ने ?,’ उनी प्रश्न गर्छन्, ‘सवारीचालकको जीवन जीवन होईन ? त्यसले पेन्सन पाउनुहुँदैन् । उसको पनि वृत्तिविकास हुनुपर्दैन र ?’

सरकारले कर्मचारीमा समेत वर्ग निर्धारण गरेको आरोप लगाउँदै्र उनले ध्यानाकर्षण गरे । अगाडि भने, ‘तपाईंहरूलाई स्वादिष्ट परिकार खुवाउने ती भान्सेहरु स्थायी हुनुपर्दैन ? गरिबलाई ताला लगाईदिने, गरिब त स्थायी हुनुैहुँदैन है ? शासक स्थायी हुनुपर्छ । राज गर्नुपर्ने, अनि मरेपछि पनि सुविधा पाउनुपर्छ । गरिबले केही पाउनुहुँदैन ? नैतिकता खोइ ?’

पूर्वमन्त्री साहले निजामती विद्येयकमा राखिएको २ वर्षे कुलिङ पिरियडको बहस चलिरहेको भन्दै अहिलेसम्म कसैले पनि श्रेणीविहीनहरुको भविष्यको लागि नसोचेको भनेर चिन्ता व्यक्त गरे ।

‘अहिले कुलिङ पिरियडको बहस छ । हाईलेभल कर्मचारीहरु, सचिवहरूलाई आफ्नो रिटार्यड भएपछिको जीवनको चिन्ता छ,’ उनी भन्छन्, ‘तपाईंहरूको कुकर्मको कारण ती नागरिक गरिब भए, उसले पढ्न पाएन । जसको काम तपाईं गराउनुहुन्छ, कि तपाईंहरूलाई सवारीचालक चाहिएको छैन ? माली चाहिएको छैन ? स्विपर चाहिएको छैन ?’

हाकिमले सुविधा पाउने तर, कार्यालय सहयोग तड्पिनुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको माग छ । उनी भन्छन्, ‘तपाईंहरू कार्यालयमा बसेर पिसाब गर्नेले सुविधा पाउनुपर्ने तर त्यसलाई सफा गर्नेले सुविधा पाउनुहुँदैन ? यो अत्याचार होईन भने के हो ? यो सरकार कुन वर्गको हो ?’

सांसद साहले गत वर्षको बाढी/पहिरोबाट भएका क्षतिग्रस्त संरचना अझै नबनेको र अहिलेको बजेट तथा कार्यक्रम हेर्दा अझै बन्न नसक्ने पनि स्मरण गरे ।

‘ती बाढीले क्षति भएका हाम्रा संरचना कहिले बन्ने हो ? अहिलेको रेडबुक हेर्दा यसले पून:संरचना हुँदैन । पहाडको पानीले तराई क्षेत्रका बाँध, तटबन्धमा ठूलो असर पर्दै आएको छ, ती कसले बनाउने ?,’ साहको प्रश्न छ ।

उनले क्रमागत योजना काटिएकोमा पनि चिन्ता व्यक्त गरे । खानेपानीको समस्या अहिलेपनि उस्तै रहेको भन्दै नागरिकले शुद्ध पानी कहिले पाउने ? भनेर प्रश्न गरे ।
उनले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी नदिएकोमा आक्रोश पोखे ।

‘कि गरिबको ट्याक्स लिँदैनौं भन्नुहोस्, उनीहरूको श्रम चाहिँदैन भन्नुहोस, वा चुनावमा भोट लिँदैनौं भन्नुहोस, होइन उनीहरूसँग कर लिनुहुन्छ, श्रम चाहिन्छ र भोट पनि चाहिन्छ भने खानेपानी दिनुहोस न । यसरी मानवताविरोधी अपराध गर्न मिल्छ ?,’ उनले भने ।

सांसद साहले एकीकृत सेवा केन्द्र कै आधारमा बनानिएको भन्दै गृहमन्त्री रमेश लेखकलाई सोधे ।

‘म माननीय गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु–सेवा केन्द्र के आधारमा बनाउनुहुन्छ ? रौतहटको कटहरिया किन सेवा केन्द्र भएन ?,’ सिमा सुरक्षाको नामा खटाइएका प्रहरी लुट्न बसेको भन्दै उनीहरुको भूमिकामाथि पनि साहले प्रश्न उठाए ।

स्वस्थ्य नि:शुल्क भनिएको र १०० थरी औषधी नि:शुल्क भनिएको भएपनि त्यो सुविधा गरिब तथा निमुखा जनताले पाउनै नसकेको साहको गुनासो छ ।

उनले भने, ‘एक सय थरी औषधी नि:शुल्क पाउँछ भनिएको छ, त्यो औषधी कहाँ पाउँछ ? म सोध्न चाहन्छु । पायो भने पनि सायद मन्त्रीजीहरूको घरमा पाउँछ होला । सरकारी अस्पतालमा गरिबले पालो नै पाउँदैन, पायो भने कुनै सुविधा नै पाउँदैन । यस्तै बेथितिको निर्माण गर्न सरकार बनाएको हो र ?’

सांसद साहले विश्वविद्यालयको आम्दानी, सरकारी कलेज र सामूदायिक विद्यालयका आम्दानीलाई लुटको अड्डा बनाउने काम भएको पनि आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?