
७ असार, काभ्रेपलाञ्चोक । उत्तरी नाका प्रवेश गर्ने अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तीन ठाउँमा अवरुद्ध भएको सडक पूर्ण रुपमा खुलेको छ ।
भोटेकाशी गाउँपालिका २ कोदारीमा गत असार १ गते देखि तथा भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङ र वडा नं ३ लार्चामा असार ३ गतेदेखि राजमार्ग अवरुद्ध थियो ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार, भोटेकाशी गाउँपालिका २ कोदारीमा र कोप्लाङमा भासिएको सडक मर्मत गरिएको जानकारी दिए ।
त्यस्तै, लार्चामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएपछि बाह्रबिसे–कोदारी खण्ड सुचारु भएको हो ।
सडक भासिएको छ भने लर्चामा ह्युमपाइप बगाएको छ ।
कोप्लाङमा राजमार्गको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल भासिएको थियो भने लर्चामा अस्थायी संचालनको लागि राखिएको ह्युमपाइप बगाएको थियो ।
राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेसँगै भन्सार प्रक्रियाका लागि चीनबाट सामान बोकेर हिँडेका दर्जनौं कन्टेनर लिपिङमा रोकिएका थिए । नाका चलेसँगै रोकिएका कन्टेनर लार्चास्थित भन्सार आइपुगेका छन् ।
मर्मतसम्भार गरेर पूर्ण रुपमा सडक खुला गरिएको चरिकोट सडक डिभिजनका कार्यालयका सुचना अधिकारी इन्जिनियर सुरज महर्जनले बताए ।
यही वर्षमै दोस्रोपटक नाका पूर्णरूपमा अवरुद्ध भएको थियो ।
लार्चामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा
चीनसँगको उत्तरी सीमा तातोपानी नाका जोड्ने लार्चामा नयाँ बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।
गत वर्षको असोजमा आएको बाढीले लार्चा पुल बगाएपछि ह्युमपाइप राखेर जोखिमपूर्ण सडक सञ्चालन गरिएकोमा शनिबारबाट बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।
चरिकोट सडक डिभिजन कार्यालयका अनुसार एक करोड ७० लाख बजेटमा ५४ मिटर लामो पुल निर्माण भएको छ ।
सोवर्ण निर्माण सेवा र क्रियटिभ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले प्राप्त ठेक्का समय डेढ महिनाभित्रै निर्माण सम्पन्न भएको थियो ।
चीनसँग जोडिएको राजमार्ग र भोटेकोसी गाउँपालिका वडा नम्बर २, ३ र ४ को एकमात्र मार्ग पहिरोले क्षतिग्रस्त भएछि बेलिब्रिज निर्माण भएको हो ।
पुरानो बेलिब्रिज बगाएपछि भोटेकोशी नदीमा ह्युमपाइप राखेर मालबाहक कन्टेनर र अन्य यातयातका साधान सञ्चालन गरिँदै आएको थियो । केही दिनअघि भोटेकोशी नदीको बाहव बढेसँगै उक्त ह्युमपाइप बगाएको थियो । ह्युमपाइप बगाएपछि करिब पाँच दिन कन्टेनर र अन्य यातयातका साधान पूर्ण रुपमा बन्द भएको थियो ।
बेलिब्रिजमा २९ टनको सवारी पास गरेर परीक्षण गरिएको थियो । बेलिब्रिजमा २८ टन सम्मको गाडी संचालन गर्न सकिने परीक्षण पश्चात जानकारी दिइएको छ ।
प्रतिक्रिया 4