
News Summary
Generated by OK AI. Editorially reviewed.- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोशी नदीमाथि बनिरहेको पुल दोस्रो पटक भाँचिएको छ।
- कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब वैशाखमा पनि भाँचिएको थियो।
- पुल पटक-पटक भाँचिएपछि यसको गुणस्तरमा प्रश्न उठेको छ।
८ असार, काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको छ ।
मन्थलीको वडा नम्बर ६ कुनौरी र वडा नम्बर ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान भाँचिएको हो ।
कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आइतबार बिहान फेरि भाँचिएको हो ।
आइतबार बिहान पुल अनुगमनमा पुगेका रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पुलको एकातर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको जानकारी दिए । यस अघिको अनुगमनमा नै कैफियत देखिएपछि पुनर्निर्माण गर्न सुझाव दिएको तर त्यसैलाई मर्मत गर्न खोज्दा भाँचिएको उनले बताए ।
यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ । डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ ।
पुल निर्माण गर्न भ्याट र पीएस आइटम बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त रकममध्ये ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेको छ ।
यो पुल निर्माण पश्चात् लामो दुरीमा मन्थली खुर्कोट हुँदै काठमाडौंसम्म आउन र छोटो दुरीमा मन्थली नगरपालिका–७ भटौलीसहित खाँडादेवी, दोरम्बा र शैलुङ गाउँपालिकाका विभिन्न वडामा पुग्न सहज हुने थियो ।
प्रतिक्रिया 4