
News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको बटेश्वर गाउँपालिकामा ३ दिने कृषि तथा पशुपालन तालिममा अनियमिता भएको कृषकहरूले आरोप लगाए।
- तालिममा सहभागी कृषकले १,५०० रुपैयाँको बिउको भर्पाइमा १०० रुपैयाँ मात्र उपलब्ध गराइएको बताए।
- गाउँपालिकाले बजेटबाट विभिन्न तालिम र गोष्ठी सञ्चालन गरेको भए पनि अनियमितता र कमिसन लिने आरोपहरू देखिएका छन्।
८ असार, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा ३१ जेठदेखि २ असारसम्म ३ दिने कृषि तथा पशुपालनसम्बन्धी तालिम सम्पन्न भयो । तालिम बटेश्वर गाउँपालिकाको बजेटमा जानकी प्रशिक्षण केन्द्र जनकपुरले दिएको थियो ।
४० जना कृषकका लागि भनेर दिइएको उक्त तालिमका नाममा व्यापक अनियमिता भएको तालिममा सहभागी कृषकले बताएका छन् । १ हजार ५०० रुपैयाँको बिउ उपलब्ध गराउने भन्दै भर्पाइमा हस्ताक्षर गराएर १०० रुपैयाँको मात्र उपलब्ध गराइएको आरोप उनीहरूको छ ।
तालिममा सहभागी महेन्द्र महतोका अनुसार २ जेठमा समापन हुने तालिमको अघिल्लो दिन नै कृषकलाई ३ दिनकै हस्ताक्षर गराइयो । भर्पाइमा हस्ताक्षर गराउन थालेपछि केहीले रोक्दै फाइल र भर्पाइ नियन्त्रणमा लिए ।
‘१०-११ जनाले हस्ताक्षर गरिसकेका थिए । भर्पाइमा हस्ताक्षर गराउनुको कारण के हो ? भनेर सोध्यौं । हाकिमले भनेर गराएको भनेपछि हामीले रजिष्टर, फाइल र भर्पाइ नियन्त्रणमा लियौं,’ महतोले भने ।
तालिमको उद्घाटन गरेका बटेश्वर-२ का वडाध्यक्ष विजयकुमार महतोका अनुसार प्रत्येक सहभागीलाई १ हजार ५ सय रुपैयाँ बरारबरको विभिन्न बालीका बिउ दिने आयोजक संस्थाका अध्यक्ष राघवेन्द्र साहले जानकारी गराएका थिए । पालिका कार्यालयले भनेअनुसार वडाध्यक्ष महतोले नै किसान छनोट गरी तालिममा सहभागी गराएका थिए ।
तर, तालिम समापनका दिन आफूलाई जानकारी नै नगराई मात्र १०० रुपैयाँ बराबरको बिउ दिएर भर्पाइमा हस्ताक्षर गराउन थालेपछि सहभागीले फाइल नियन्त्रणमा लिएको जानकारी आफूले पाएको वडाध्यक्ष महतोले बताए । ‘पालिकाले भनेअनुसार मैले किसान छनोट गरी तालिममा पठाएको थिएँ । तर अन्तिममा १०० रुपैयाँ बराबर मात्र बिउ दिएर भर्पाइमा हस्ताक्षर गराउन थालेपछि फाइल नियन्त्रणमा लिए । यी विषयमा मलाई आयोजकले जानकारी नै गराएन ।’
गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पौडेलका अनुसार पालिका अध्यक्ष रामआशिष महतोको भागको योजना चालुतर्फको ५ लाख बजेटबाट यो तालिम सञ्चालन भएको हो । प्रस्तावमार्फत उक्त तालिम सञ्चालनको जिम्मा जानकी प्रशिक्षण केन्द्रले पाएको थियो ।
सहभागी कृषक श्रवण महतोका अनुसार ३ दिने तालिममा ५० हजार पनि खर्च भएको छैन । ‘५० हजार पनि खर्च भएको छैन । समान्य खाजा खुवाए । विद्यालयले सभाहल निःशुल्क दियो । यो किसानको नाममा बजेट छुट्याएर जनप्रतिनिधि र कर्मचारीको ब्रह्मलुट हो,’ उनको गुनासो छ ।
फाइल नियन्त्रणमा लिएपछि मंगलबार दिउँसो १२ बजे आयोजक र सहभागीबीच वडा नम्बर २ को कार्यालयमा छलफल थियो । तर आयोजक गएन । सहभागीहरू गाउँपालिका कार्यालयमा पुगेर पालिका अध्यक्ष महतो र उपाध्यक्ष फूलकुमारी सिंहलाई गुनासो गरेका थिए । पालिका अध्यक्ष र उपाध्यक्षले थामथुम गरेर उनीहरूलाई फर्काएका थिए ।
यता, तालिम सञ्चालनकर्ता जानकी प्रशिक्षण केन्द्रका अध्यक्ष राघवेन्द्र साहले आफू एउटा कार्यक्रममा रहेकाले पछि मात्रै कुरा गर्ने बताए ।
विभिन्न तालिम र गोष्ठी योजनाको नाममा बटेश्वर गाउँपालिकामा कसरी कुन हिसाबले अनियमितता भइरहेको छ भन्ने यो एउटा उदाहरण घटना मात्र हो ।
चालु आर्थिक वर्षमा मात्रै पूँजीगत र चालुतर्फ झन्डै ३० वटा तालिमका लागि पालिकाले १ करोड रुपैयाँ बढी बजेट विनियोजन गरेको थियो । पूँजीगततर्फको कार्यक्रम बाहिरिए पनि चालुतर्फको अहिले पनि गोप्य राखिएको छ । पूँजीगततर्फ बजेटबाट १५ वटा विभिन्न तालिम र गोष्ठी राखिएको छ ।
जसमा पालिका अध्यक्ष महतोले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरणमा ५ लाख रुपैयाँ राखेका छन् भने उपाध्यक्ष फूलकुमारी सिंहले ५ वटा तालिमका लागि २५ लाख छुट्याएकी थिइन् ।
उनले आफ्नो भागमा परेको बजेट सिलिङमा चालु आवमा महिलाको लागि सिलाइकटाइ तालिम ५ लाख, जनजाति, आदिवासी र दलित भाषा संस्कृति संस्कार परम्परा जोगाउने जनचेतनामूलक तालिम ५ लाख, विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षा तालिम ५ लाख, फरक क्षमता भएका व्यक्तिहरूलाई क्षमता विकास तालिम ५ लाख र सामुदायिक मेलमिलापकर्ताहरूको लागि आधारभूत तालिम ५ लाख रुपैयाँको रहेको उपाध्यक्षको भागको बजेट पुस्तिकामा उल्लेख छ ।
वडा नम्बर १ मा महिला सशक्तीकरण तालिम र लागुऔषध दुर्व्यसनी तालिम ५ लाख रुपैयाँको रहेको छ । त्यस्तै वडा नम्बर २ मा लागुऔषध न्यूनीकरण कार्यक्रम २ लाखको रहेको छ । वडा नम्बर ३ मा भने एउटा पनि यस्तो तालिम पूँजीगततर्फको बजेटमा छैन । वडा नम्बर ४ को प्रजनन स्वास्थ्यसम्बन्धी महिलालाई जनचेतनामूलक तालिम ३ लाख, दलित आदिवासी जनजातिसम्बन्धी तालिम र बालविवाह न्यूनीकरण कार्यक्रम एक-एक लाख रुपैयाँको रहेको छ ।
वडा नम्बर ५ मा ५-५ लाखका तीनवटा तालिम छन् । पशु बीमासम्बन्धी जनचेतनामूलक तालिम, बाल श्रम शोषणबारे सचेनामूलक तालिम र विपद जोखिम न्यूनीकरणसम्बन्धी तालिम रहेको बजेट पुस्तिकामा उल्लेख छ । यी सबै तालिम ५७ लाख रुपैयाँको रहेको छ ।
यस्तै, पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूँजीगत बजेटबाट बाहेक चालुतर्फको बजेटमा पनि एक दर्जनभन्दा बढी तालिम गोष्ठी राखिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । उक्त तालिमहरू ३ देखि ५ लाखसम्मको गरी ५० लाख रुपैयाँको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ । तर त्यो तालिमको लिस्ट भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । उनले पछि उपलब्ध गराउने बताए ।
यस्ता तालिम सञ्चालन गर्न प्रस्ताव गर्ने संस्थासँग ४० प्रतिशतसम्म कमिसन लिने गरेको आरोपसमेत लाग्ने गरेको छ । बटेश्वर गाउँपालिका कार्यालयबाट एउटा तालिम सञ्चालन गरेका एक संस्थाका सञ्चालकले आफूसँग ३५ प्रतिशत कमिसन सम्बन्धित जनप्रतिनिधिले लिएर मात्र दिएको बताए ।
‘तालिम, अभिमुखीकरण गोष्ठी जस्ता कार्यक्रम गर्न ४० प्रतिशतसम्म कमिसन दिनुपर्छ । नभए कार्यक्रम नै दिँदैनन्,’ उनले भने ।
यता, पालिका उपाध्यक्ष फूलकुमारी सिंहले भने तालिमको नाममा कुनै अनियमितता नभएको दाबी गरिन् । ‘प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरूले नै योजना कार्यान्वयन गर्ने गरेकोले त्यसरी लिनेदिने कुरा उनीहरूलाई नै थाहा होला,’ उनले भनिन् ।
महालेखा परीक्षकको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा बटेश्वर गाउँपालिकाले चालु खर्चमा मात्रै विभिन्न तालिम गोष्ठी तथा अभिमुखीकरण कार्यक्रममा गैरसरकारी संस्थाहरूमार्फत ८२ लाख ४७ हजार ३१५ रुपैयाँ खर्च गरेको छ । तर गैरसरकारी संस्थाहरूले सञ्चालन गरेका तालिममा सहभागीहरूको छनोटको स्पष्ट आधार उल्लेख नहुने गरेको देखिएको उल्लेख गरेको छ।
प्रस्तावना स्वीकृत गराएर मात्र तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा बटेश्वर गाउँपालिकाले गैरसरकारी संस्थामार्फत सञ्चालन गरेका अधिकांश तालिम गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमको प्रस्तावना तयार नगरेको महालेखाले जनाएको छ ।
प्रतिक्रिया 4