+
+
Shares

लकडाउनमा त्रिभुवन विश्वविद्यालय

‘ठप्प छ हजुर ! सरहरू नै अफिसभित्र छिर्न पाउनु भएको छैन,’ सुरक्षा गार्डले भने । । किन बन्द हो भन्ने प्रश्नमा उनी भन्छन्- ‘माथिको कुरा के जानुम् ।’ 

दिनेश गौतम दिनेश गौतम
२०८२ असार ८ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आंशिक प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेका छन्।
  • विद्यार्थी नेताहरूले पदाधिकारीको कार्यकक्षमा ताला लगाएपछि कार्यालयका कामहरू प्रभावित भएका छन् ।
  • विरोधका मुख्य मागहरूमा फास्ट ट्र्याक विज्ञापन खारेज र सबै दरबन्दी खुल्ला गर्नुपर्ने छन्।

८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित उपकुलपति कार्यालयको मूल ढोकामा विज्ञप्तिमाथि विज्ञप्ति टाँसिएका छन् । आंशिक प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ (नेविसंघ) को एउटा समूह र अनेरास्ववियू (क्रन्तिकारी) ले मूल ढोकामा तालाबन्दी गरेका छन् । आइतबार त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा पुग्दा सुनसान थियो । न पदाधिकारी भित्र छिर्न पाएका छन् न कर्मचारी नै । ढोकामा सुरक्षा गार्ड भने तैनाथ थिए ।

‘ठप्प छ हजुर ! सरहरू नै अफिसभित्र छिर्न पाउनु भएको छैन,’ सुरक्षा गार्डले भने । । किन बन्द हो भन्ने प्रश्नमा उनी भन्छन्- ‘माथिको कुरा के जानुम् ।’

नेविसंघबाट निर्वाचित भएका उपत्यकाका स्ववियुका विद्यार्थी नेताहरू १४ जेठमा पदाधिकारीको कार्यकक्षमा ताला लगाए । २६ दिन भयो पदाधिकारीहरू आफ्नो कार्यकक्षमा जान पाएका छैनन् । स्नातक पहिलो वर्षमा भर्ना खुलाउनु पर्ने माग राखेर विद्यार्थी नेताले तोडफोड गरेका थिए । तोडफोडमा संलग्नलाई कारबाही त परको कुरा पक्राउ परेको दुई जनालाई पनि छोडिसक्यो । उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दुविनन्द ढकाल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल बाहिरै बसेर काम गरिरहेका छन् ।

आइतबार उपकुलपति केसीलाई सम्पर्क गर्दा उनी पुल्चोकमा थिए । ‘कार्यकक्षमा जान पाएका छैनौं । पुल्चोकबाट नै काम गरिरहेका छौँ,’ उनले भने । यसरी विद्यार्थीको तालाबन्दीले प्रभावित भएको त्रिविमा फेरि ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गर्‍यो ।

नेविसंघका विद्यार्थी नेताले पदाधिकारीको कार्यकक्षमा मात्र लगाएका थिए । र, कर्मचारीहरू कार्यालयभित्र छिर्न पाएका थिए । तर आंशिक प्राध्यापक संघले मूल ढोकामा नै ताला लगाएपछि कर्मचारीसमेत भित्र छिर्न पाएका छैनन् । १० दिन बित्यो कर्मचारीहरू त्रिविको बाहिरतिर चौरतिरै बसिरहेका छन् । ‘बिहान एक पटक रेक्टर कार्यालयमुनि हाजिर गर्छौं । त्यसपछि आपतकालीन काम भए गर्छौं, नभए घर जानुको विकल्प छैन,’ रेक्टर कार्यालयमा भेटिएका एक कर्मचारीले भने ।

सोमबार कोही कर्मचारी स्मृति भवनमा, कोही पुल्चोकमा, कोही परीक्षा नियन्त्रण कार्यालयमा ल्यापटप बोकेर हिँडिरहेका थिए । ‘आपतकालीन काम बाहेक अरू काम गर्न मिल्दैन । ल्यापटक बोकेर कहिले कहाँ बसेर कहिले कहाँ बसेर काम गरिरहेका छौँ,’ एक कर्मचारीले भने, ‘दैनिक प्रशासनिक काम ठप्प छ । चिठ्ठी पत्र बुझ्न र पत्रचार पनि गर्न पाएको छैन ।’ कतिपय कर्मचारीले चौरमा बसेर काम गर्ने गरिरहेका छन् । कर्मचारी प्रशासन महाशाखाका अनुसार २ सय ५२ जना कर्मचारी छन् ।

‘सबै बाहिरै छौँ । भित्र बसेर काम गर्न पाएका छैनौं,’ कर्मचारी प्रशासन महाशाखाका निमित्त प्रमुख दिनेश घिमिरेले भने । उनी महाशाखाको निमित्त प्रमुख १ असारमा भएका हुन् । तर कार्यकक्षमा गएर पदभार समेत गर्न पाएका छैनन् ।

यसरी अनिश्चितकालीन तालाबन्दीले त्रिविले वार्षिकोत्सवको समेत तयारी गर्न पाएको छैन । ‘वार्षिकोत्सव २० गते छ । १८ गते पदक र पुरस्कार वितरण कार्यक्रम छ । तयारी गर्न गाह्रो भयो,’ घिमिरेले भने । त्रिविले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न आगामी २२ असारमा सभा बोलाएको छ । तर तालाबन्दीले काम प्रभावित भएको छ । आंशिक प्राध्यापक संघले ६ सूत्रीय माग राखेर तालाबन्दी गरेको हो । मुख्यतः त्रिविले अनुसन्धानत्मक विशिष्टको आधारमा (फास्ट ट्र्याक) १०० जना शिक्षकको विज्ञापन खुलाएको विरोधमा आंशिक प्राध्यापक संघले ताला लगाएको जनाएको छ ।

‘फास्ट ट्र्याकको नाममा लिखित परीक्षा विना नै अन्तर्वार्ताको आधारमा उपप्राध्यापक बनाउने नियतका साथ हुन गइरहेको विज्ञापन तत्काल खारेज गरि सबैलाई प्रतिस्पर्धा गर्न पाउने संवैधानिक हक सुनिश्चित गर्न भनेका हौँ,’ आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बुले भने ।

त्रिभुवन विश्वविद्यालयले सीमित सिट संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकेर नियम अनुसार रिक्त रहेको सम्पूर्ण दरबन्दी आउने ६ महिनाभित्र सेवा निवृत्त हुने शिक्षकहरूको समेत गरी ५ हजार २ सय ३ को पटकमा तत्काल विज्ञापन गर्नुपर्ने माग आंशिक प्राध्यापकको छ । आंशिक प्राध्यापकको माग पूरा गर्न कठिन हुने त्रिविको बुझाइ छ ।

आंशिक प्राध्यापक सँगै माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि ताला लगाएको छ । उसले पनि फास्ट ट्र्याकमा प्राध्यापक नियुक्त गर्न लागेको विरोधमा ताला लगाएको हो । आंशिक प्राध्यापकले त्रिवि सेवा आयोगमा पनि ताला लगाएका छन् । ‘कार्यालय जान सेकेको छैन । अनलाइनबाट काम भइरहेको छ । आयोगको दैनिक प्रशासनिक काम गर्न सकेको छैन,’ सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराईले भने ।

प्राज्ञिक संस्था ठप्प भएपछि त्रिविले वार्ताको तयारी थालेको छ । ‘वार्ताको तयारी भइरहेको छ । समिति बनाएर वार्ताको प्रक्रिया अगाडि बढ्छ,’ एक पदाधिकारीले भने । आंशिक प्राध्यकप संघले भने आफूहरूलाई वार्तामा त्रिविले नबोलाएको बताएको छ । वार्ताको खबर आएको छैन,’ अध्यक्ष लिम्बुले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?