
८ असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पोखराका मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै आइतबार नै उपमेयर मञ्जेदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन् ।
सोमबारबाट मेयरको चीन भ्रमण भएकाले हतार हतार ल्याइएको बजेटमा बेग्रल्ती त्रुटिहरूसहित नगर सभा सुरु भएको पहिलो दिन नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । सार्वजनिक बजेटमा चालु र पुँजीगत खर्च कति भन्ने नै उल्लेख छैन ।
सार्वजनिक बजेट खर्च ब्यहोर्नका लागि संघीय सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख अर्थात ३७.५ प्रतिशत, आन्तरिक आयबाट ५ अर्ब २२ करोड ३१ लाख अर्थात ६६. ५ प्रतिशत प्राप्त हुने अनुमान गरिएको छ ।
यी अंकसमेत उपमेयरले बजेट प्रस्तुत गर्दागर्दै कर्मचारीबाट सच्याइएको थियो ।
खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड अर्थात १८.१८ प्रतिशत, सामाजिक विकासतर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकासतर्फ१८ करोड अर्थात ३.४५ प्रतिशत अनुमान गरिएको छ ।
वडा कार्यालयतर्फ १ अर्ब अर्थात १५.१६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड अर्थात ४४.६४ प्रतिशत, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।
आन्तरिक राजश्व परिचालनतर्फ करक्षेत्रको अंश ३ अर्ब २३ करोड ७२ लाख २७ हजार अर्थात ६१.८६ प्रतिशत रहेको छ । स्थानीय राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड १५ लाख १४ हजार अर्थात १५.३३ प्रतिशत हुने अनुमान गरिएको छ ।
प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार अर्थात ०.८० प्रतिशत, संघीय राजस्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार अर्थात ६.३२ प्रतिशत, संघीय अनुदानबाट ५२ करोड ८७ लाख अर्थात १०.१० प्रतिशत, प्रदेश समानीकरण अनुदानबाट ८ करोड १५ लाख ४६ हजार अर्थात १.५५ प्रतिशत ब्यहोरिने सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4