
News Summary
Generated by OK AI. Editorially reviewed.- देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि ५५ जनाले आवेदन दिएका छन्।
- विभिन्न व्यक्तिहरूले योग्यता, अनुभव र विवादको आधारमा आवेदन दिएका छन् ।
- विशेषज्ञहरूले योग्य र अनुभवी व्यक्तिलाई मात्र नेतृत्वमा ल्याउन सुझाव दिएका छन्।
१३ असार, काठमाडौं । देशका प्रमुख चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि ५५ जनाले आवेदन दिएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाले आवेदन दर्ता गराएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार प्रतिष्ठानको नेतृत्वदायी पदमा आउन विभिन्न क्षेत्रका वरिष्ठ चिकित्सक, पूर्वस्वास्थ्य सचिवदेखि पूर्वउपकुलपतिसम्म दौडधुपमा छन् ।
चारैवटा प्रतिष्ठानमा गत चैतदेखि उपकुलपति पद रिक्त छ ।
उपकुलपतिविहीन भएको दुई महिनापछि गत १४ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा उपकुलपति सिफारिस समिति गठन भएको थियो ।
समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा छन् । समितिले ४ असारमा ७ दिनभित्र इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा धेरै १७ जनाले आवेदन दर्ता गराएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको आवेदन दर्ता भएको छ।
विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि चिकित्सा क्षेत्रका चर्चित तथा केही विवादित व्यक्तिहरूले समेत आवेदन दिएका छन् ।
यीमध्ये कतिपयले पहिले विभिन्न विवाद खडा गरेका थिए भने कतिपयको कार्यकालमा कर्मचारी आन्दोलनसमेत भएको थियो ।
आवेदन दिनेहरूमा चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, पूर्वसचिव डा. रोशन पोखरेल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष प्रा.डा. गेहनाथ बराल, स्वास्थ्य मन्त्रालयका, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंह र शहीद गंगालाल हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला, बीपी कोइराला प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्वतान उपकुलपति डा. भरतबहादुर खत्रीलगायत छन् ।
उपकुलपति छनोट समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा स्नातकोत्तर, सहप्राध्यापक वा मन्त्रालयमा दशौं तहको काम गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।
अन्य तीन प्रतिष्ठानका हकमा चिकित्साशास्त्र विषयमा स्नातकोत्तर, प्राध्यापक वा मन्त्रालयमा एघारौं तहमा काम गरेको हुनुपर्ने सर्त राखिएको छ ।
छनोट समितिका संयोजक स्वास्थ्यमन्त्री प्रदीप पौडेल हाल थाइल्यान्डमा रहेकाले उपकुलपति छनोट प्रक्रिया अघि बढ्न सकेको छैन ।
छनोट समितिका सदस्य डा. विकास देवकोटाका अनुसार मन्त्रीले बैठक बोलाएपछि मात्र थप प्रक्रिया अघि बढ्नेछ ।
सर्च कमिटीले तीन चरणको छनोट प्रक्रिया अपनाउने गरेको छ । पहिलो चरणमा मापदण्ड र नियमावली अनुसार उम्मेदवारहरूको प्राथमिक छनोट गरिनेछ । त्यसपछि तीन जनाको कमिटीले छनोट भएका उम्मेदवारहरूको सर्टलिस्टिङ गरिनेछ ।
‘मापदण्ड र ऐन-नियमअनुसार योग्यता नपुगेकालाई आउट गर्छौं । योग्यता पुगेकाको सूची बनाउँछौँ,’ डा. देवकोटाले अनलाइनखबरसँग भने ।
छनोट प्रक्रियामा उम्मेदवारहरूको योग्यता, कार्य अनुभव, अनुसन्धान क्षेत्रमा संलग्नता र कार्ययोजना लगायत विभिन्न पक्षहरूको मूल्यांकन गरिने उनले बताए ।
योग्यता, कार्य अनुभव, रिसर्च र कार्ययोजना सबै हेरेर सिफारिस गरिने डा. देवकोटा बताउँछन् ।
उनका अनुसार अन्तिम चरणमा छनोट भएका उम्मेदवारले आफ्नो कार्ययोजना र दृष्टिकोणबारे प्रस्तुतीकरण गर्नुपर्नेछ ।
सर्च कमिटीको पारदर्शी र योग्यतामा आधारित छनोट प्रक्रिया गरी तीन जनाको नाम कुलपति समक्ष पेस गर्ने उनले बताए ।
विवादित र सेवानिवृत्त व्यक्तिको उपकुलपतिमा दाबी
चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन दिएका छन् । हाडजोर्नी विशेषज्ञ डा. गिरी आयोगको उपाध्यक्ष रहँदा चिकित्सा शिक्षा सुधारका लागि ठोस निर्णय लिन सफल भएका थिए ।
चिकित्सा शिक्षा आयोग बसेर काम गर्दा आफूले कर्णाली प्रतिष्ठान गहिरो गरी बुझेको डा. गिरीको दाबी छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापना ऐन तयार गर्ने अवधिदेखि नै यसको विकासमा निरन्तर योगदान पुर्याउँदै आएको उनले बताए ।
‘स्थापनाको कन्सेप्टदेखि लिएर फ्याकल्टी डेभलपमेन्ट, करिकुलम डेभलपमेन्ट र विभिन्न कार्यक्रम सुरु गर्ने काममा संलग्न छु,’ डा. गिरी दाबी गर्छन्, ‘आयोगमा काम गरेको अनुभव र योग्यताले गर्दा कर्णालीलाई मोडल संस्थान बनाउने विश्वास राखेको छु ।
स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष प्रा.डा. गेहेन्द्र बरालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन दिएका छन् ।
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट हालै अवकाश पाएका डा. दीपेन्द्ररमण सिंहले पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै आवेदन दिएका छन् ।
अवकाश लिनेबित्तिकै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. सिंहलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्ष नियुक्त गरेका थिए ।
पूर्वस्वास्थ्य सचिव डा. रोशन पोखरेलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन दिएका छन् ।
मानसिक रोग विशेषज्ञ डा. पोखरेलको स्वास्थ्य प्रशासनमा लामो अनुभव छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्थापकीय पक्षमा सुधारको आवश्यकता भएकोले आफूले आवेदन दिएको डा. पोखरेल बताए । राम्रो प्रशासक नभएका कारण बीपीमा समस्या रहेको डा. पोखरेलको भनाइ छ ।
‘बीपीमा दक्ष प्रशासकको खाँचो छ । स्वास्थ्य क्षेत्र जिरोदेखि बुझेको र प्रशासकीय काम गरेको मान्छे जाँदा संस्था माथि लैजान सकिन्छ,’ डा. पोखरेलको दाबी छ, ‘५ वर्ष कोशी अस्पतालको व्यवस्थापन हेरेको र सरकारी सेवामा सहसचिव, सचिवका रूपमा काम गरेकाले बीपीलाई सुधार हिसाबले आवेदन दिएको हुँ ।’
मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले बीपी कोइराला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैमा आवेदन दिएका छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत डा. कोइराला अनुभवी चिकित्सकका रूपमा परिचित छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता भण्डारीले बीपी कोइराला र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान दुवैमा आवेदन दिएकी छिन् ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकाल भने विवादमा बितेको थियो । घरमा पालेको कुकुरको उपचार खर्चको बिल प्रतिष्ठानबाट तिराएको आरोप लागेपछि उनी चर्चामा आएकी थिइन् । उनको कार्यकालमा कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन गरेका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले पुनः सोही पदका लागि आवेदन दिएका छन् ।
उनी पनि विवादरहित व्यक्ति होइनन् । उनी बीपीको उपकुलपति नियुक्ति भएलगत्तै विवाद सुरु भएको थियो । बीपीका चिकित्सक, विद्यार्थी र कर्मचारीले उनीविरुद्ध लामो आन्दोलन गरेका थिए ।
त्यसबेला उनले प्रयोग गर्दै आएको ‘प्राध्यापक’ उपाधि नक्कली भएको विषय उठेको थियो । पछि कुनै पनि विश्वविद्यालयले उनलाई प्राध्यापकको उपाधि नदिएको पुष्टि भएको थियो ।
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट पेचिलो बन्न सक्ने स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।
‘बीपी प्रतिष्ठान व्यवस्थापकीय हिसाबले नै लथालिंग छ । विवादित अनुहारले पुनः दोहोर्याउने आंकाक्षा राखेका छन्,’ मन्त्रालयका उच्च अधिकारी भन्छन्, ‘उनीहरूले राजनीतिक पहुँचको दुरुपयोग गर्ने हुनाले पेचिलो बन्ने देखिन्छ ।’
‘राइट म्यान राइट प्लेस’
चिकित्सा शिक्षाको गुणस्तरको प्रश्नमा बहस चलिरहेको बेला त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीन डा. जगदीश अग्रवाल प्रतिष्ठानमा योग्य र अनुभवी व्यक्तिको नेतृत्वको आवश्यकता रहेको बताउँछन् ।
उपकुलपति छनोटमा राजनीतिकरण नगर्न सुझाव दिँदै डा. अग्रवाल भन्छन्, ‘उपकुलपतिको पद निकै जिम्मेवार भएकोले समग्र स्वास्थ्य क्षेत्र सुधारमा यसको महत्वपूर्ण भूमिका रहन्छ ।’
उनका अनुसार उपकुलपति पदमा राजनीतिकरण नगरी क्षमता भएका व्यक्तिलाई छनोट गर्नुपर्छ । पहिले नै कुनै जिम्मेवार पदमा बसेर आफ्नो क्षमता प्रदर्शन गरिसकेको व्यक्तिलाई उपकुलपतिको जिम्मेवारी दिनुपर्ने उनको तर्क छ ।
‘लायक र सही व्यक्ति आउँदा एकेडेमिक र मेडिकल शिक्षाविद्को रूपमा काम गर्न सक्छन्,’ डा. अग्रवाल भन्छन् ।
विगतका भर्ती केन्द्रहरूमा देखिएका समस्याप्रति संकेत गर्दै उनले भविष्यमा यस्ता समस्या समाधान गर्नुपर्ने बताए ।
‘राजनीतिकरण सुरु भयो भने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले कहिल्यै राम्रो उपकुलपति पाउन सक्दैनन्,’ उनी भन्छन् ।
यस्तै, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. केशरजंग बराल नेपालका स्वास्थ्य प्रतिष्ठानको वर्तमान संरचना स्वस्थ नरहेको भन्दै यसमा आमूल परिवर्तन गर्नुपर्ने बताउँछन् ।
‘स्वास्थ्य प्रतिष्ठानहरूको स्ट्रक्चर चाहिँ हेल्दी छैन । यो स्ट्रक्चर नै चेन्ज गर्नुपर्छ,’ डा. बरालले अनलाइखबरसँग भने ।
उनले विदेशी स्वास्थ्य प्रतिष्ठानहरूको उदाहरण दिँदै भारतको इन्डियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, पीजीआई, आईआईटी र इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा कुलपति र डीनको सट्टा कार्यकारी निर्देशकले नेतृत्व गर्ने गरेको उल्लेख गरे ।
पूर्वउपकुलपति बरालले शैक्षिक संस्थाहरूमा राजनीतिक भागबन्डाको कडा आलोचना गर्दै भने, ‘राजनीतिक भागबन्डा हामीले देखिराखेकै छौं । अहिले शैक्षिक संस्थाहरू बिग्रिएकै राजनीतिक कारणले हो ।’
प्रतिस्पर्धा र अन्तर्वार्ता प्रक्रियाबाट मात्र नभई वास्तविक खोजी गरेर योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने डा. बरालले बताए ।
कहाँ कसको आवेदन ?
प्रतिक्रिया 4