+
+
Shares

फेसन बन्दै घामपानी छेल्ने छाता, आयातमै बाहिरियो ६२ करोड

घाम र झरीबाट जोगिन काठमाडौं उपत्यकामा छाता बोक्नेको संख्या बढ्दो छ । छाता बोक्नेको संख्या बढेसँगै यसको व्यापार पनि बढेको छ । वर्षा लागेसँगै बजारमा नयाँ–नयाँ डिजाइनका छाता पनि भित्रिइसकेका छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ असार १४ गते ८:५४

१४ असार, काठमाडौं । फागुन महिना लागेपछि काठमाडौं नयाँ बानेश्वर बस्ने रियाशा गोलेको ब्यागमा छाता छुट्दैन । फागुन लागेसँगै टन्टालपुर घाम लाग्ने हुँदा त्यसबाट आफूलाई जोगाउन उनी छाता ओढेर हिँड्छिन् । बर्खा लागेपछि त छाता अनिवार्य नै भइगयो ।

‘जाडो महिना सकिएपछि मेरो ब्यागमा छाता कहिल्यै छुट्दैन, अझै भन्ने हो भने म त छाताको सौखिन नै हुँ,’ बिजुलीबजार आर्क ब्रिजमा कालो र सेतो बुट्टा भएको छाता ओढेर अफिस हिँडेकी रियाशाले अनलाइनखबरसँग भनिन्, ‘मैले वर्षैपिच्छे छाता किन्छु, मसँग एक महिनाअघि किनेको समेत गरेर ६ वटा स्टाइलिस छाता छन् । त्यो पनि लुगाको रङसँग मिल्ने !’

घाम र पानीबाट शरीर जोगाउन मात्र होइन, रियाशालाई फेसनका लागि पनि वर्षैपिच्छे नयाँ डिजाइनमा आउने रंगीबिरंगी छाता बोक्न खुबै रमाइलो लाग्छ । अझै उनलाई जापानका युवतीले बोक्ने गुलाबी रङमा सेता बुट्टा भएका छाता निकै मनमोहक लाग्छन् ।

‘मैले जापानमा बस्ने मामालाई त्यहाँको स्टाइलिस छाता पठाइदिन पनि भनेकी छु,’ उनले हाँस्दै सुनाइन्, ‘डिजाइन, रङ र बुट्टा पनि मेरै रोइजाइको हो ।’

रियासाका अनुसार उनीसँग न्युरोड, असन, बानेश्वर लगायत विभिन्न ठाउँबाट किनेर ल्याएका २ सय ५० देखि ७ सय ५० रुपैयाँसम्म पर्ने छाता छन् ।

चाहे त्यो पानीमा भिज्नबाट बच्नका लागि होस् वा चर्को घामबाट राहत पाउनका लागि, छाता सधैं काममा आउँछ ।

यतिबेलाको मौसममा घरबाट बाहिर निस्कँदै गर्दा छाता लिएरै हिँड्नुपर्छ । जुनसुकै बेला पनि छाता उपयोगमा आउन सक्छ । जस्तो, हिँड्दा हिँड्दै अचानक पानी पर्‍यो भने छाता खोलेर आफूलाई ओभानो राख्न सकिन्छ । चर्को घाम लाग्यो भने छाता ओढेर शितलता अनुभव गर्न सकिन्छ । त्यसैले बहुउपयोगी वस्तु हो, छाता ।

बलियो, फोल्ड गर्न मिल्ने र स्टाइलिस छाता अब केवल आवश्यकता मात्र रहेन । यो आजको समयमा फेसन र कार्यक्षमताको एक उत्तम संयोजन पनि बनेको छ ।

काठमाडौं कोटेश्वरको एक कन्सलटेन्सीमा काम गर्ने सविना शाही पनि छाता बोक्न छुटाउँदिनन् । वर्षा सुरु हुनअघि नै उनले ५ सय ८० रुपैयाँ तिरेर बौद्धबाट छाता किनेकी छिन् ।

‘अहिलेको मौसममा कतिबेला घाम चर्किने र कतिबेला पानी दर्किने हो थाहै हुन्न,’ उनी भन्छिन्, ‘छाता बोकेर हिँडेपछि यी दुवै झन्झटबाट मुक्त भइन्छ ।’

बढ्दै छाता व्यापार

घाम र झरीबाट जोगिन काठमाडौं उपत्यकामा छाता बोक्नेको संख्या बढ्दो छ । छाता बोक्नेको संख्या बढेसँगै यसको व्यापार पनि बढेको छ । वर्षा लागेसँगै बजारमा नयाँ–नयाँ डिजाइनका छाता पनि भित्रिइसकेका छन् ।

बानेश्वरमा छाता बेच्दै आएकी सुशीला महर्जन यसपालि फागुन लागेदेखि नै बिक्री सुरु भएको बताउँछिन् ।

‘यसपालि फागुनबाटै गर्मी बढेको हुनाले त्यतिबेला पनि छाता किन्ने ग्राहक थिए,’ उनी भन्छिन्, ‘अब त झन् बर्खा सुरु नै भइसक्यो । व्यापार राम्रै छ ।’

उनले अहिलेसम्म ७ सय थान छाता बेचिसकेको सुनाइन् । उनको पसलमा २ सय ५० रुपैयाँदेखि १ हजार रुपैयाँ पर्ने छाता छन् । उनले दैनिक औसतमा दैनिक २० वटासम्म छाता बेच्ने गरेको बताइन् ।

उनको अनुभवमा छातालाई युवतीहरूले फेसनका रूपमा रोजेका छन् । उनीहरू बलियो र टिकाउभन्दा पनि हेर्दा चिटिक्क र राम्रो देखिने मात्रै हेर्छन् । उनीहरू फोल्ड गर्न मिल्ने, बुट्टा भएका, छेउमा जाली भएका र प्रिन्टेड छाता बढी मन पराउने महर्जन बताउँछिन् ।

उनका अनुसार अहिले भारत, चीन, हङकङ लगायत देशबाट भित्रिएका छाता बिक्री भइरहेका छन् ।

‘मैले साना केटाकेटीदेखि बुढाबुढीसम्मले ओढ्ने छाता बेचेँ,’ उनले सुनाइन्, ‘युवतीहरू अलि स्टाइलिस छाता खोज्छन्, केटाकेटीका लागि साना छाता भइहाले । बुढाबुढीले लौरो जस्तै टेक्न मिल्ने लैजान्छन् ।’ उनको अनुभवमा चीनमा बनेका भन्दा भारतमा बनेका छाता अलि बलिया हुन्छन् ।

छाताको व्यापार न्युरोड, असन, महाबौद्ध लगायतका होलसेल (थोक) पसलहरूमा अझै धेरै हुने व्यापारीहरू बताउँछन् ।

अहिले धेरै चल्तीमा आएको छाता फोल्डिङ छाता हो । यो सबैभन्दा लोकप्रिय डिजाइन पनि हो । यो छाता सानो झोलामा पनि अटाउने हुँदा यसको प्रयोग धेरैले गर्छन् ।

छाताको डिजाइन समयसँगै निकै परिवर्तन हुँदै आएको छ । अहिले भने छाताको डिजाइन आवश्यकता र फेसनमा आधारित छ ।

संस्कृति र छाताको सम्बन्ध

छाताले मौसमसँग मात्रै सम्बन्ध राख्दैन । यो नेपालीको संस्कृति र परम्परासँग पनि जोडिएको वस्तु हो । नेपाली समाजमा विवाह, व्रतबन्ध, जात्रा, स्वागत, सम्मानजस्ता शुभकार्यमा होस् वा मृत्यु संस्कारमा वा अन्य संकट हरणका लागि गरिने दान, धर्ममा छातालाई अनिवार्य मानिन्छ ।

अनिवार्य प्रयोगमा आउने र जीवनशैलीसँग निकट रहेको छातामा भने नेपाल विदेशमै निर्भर रहँदै आएको छ । नेपालमा अहिलेसम्म छाता उत्पादन गर्ने एउटा पनि उद्योग सञ्चालनमा आएको तथ्यांकमा देखिँदैन ।

११ महिनामै ६२ करोडको छाता आयात

भन्सार विभागको तथ्यांक केलाउने हो भने नेपालमा वर्षेनि करौडौं मूल्यका छाता भित्रिने गरेको देखिन्छ । बर्सेनि करौडौं मूल्यको छाताको माग हुँदा मुलुकभित्र यसको उत्पादन भने अझै भएको पाइँदैन । बिग्रिएका छाता मर्मत सम्भार हुने भए पनि उत्पादन गर्न कसैले रुचि देखाएका छैनन् ।

पछिल्लो ३ वर्षको छाता आयात तथ्यांक हेर्दा यसको मागमा वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) सम्म ६२ करोड १ लाख ५५ हजार रुपैयाँको ४६ लाख ५६ हजार थान छाता आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

यस्तै गत आव २०८०/८१ को ११ महिनामा भने ६० करोड ३७ लाख १ हजार रुपैयाँको छाता आयात भएको थियो । गत आव ११ महिनाको तुलनामा यस वर्ष उक्त अवधिमा २ करोड रुपैयाँ बढीको छाता आयात भएको छ । यो तथ्यांकले पनि छाता आयातमा वृद्धि भएको पुष्टि हुन्छ ।

गत आव नेपालले ६५ करोड १० लाख रुपैयाँको ५२ लाख ३१ हजार थान छाता आयात गरेको थियो । त्यसअघि आव २०७९/८० मा ६० करोड ३१ लाख रुपैयाँको ४९ लाख २७ हजार थान आयात भएको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार आव २०७८/७९ मा ३६ करोड ३० लाख रुपैयाँको ३३ लाख ६३ हजार थान छाता आयात भएको थियो ।

कुन देशबाट नेपाल आउँछ छाता ?

नेपालमा सबैभन्दा धेरै छाता छिमेकी चीनबाट आयात हुने गरेको विभागको तथ्यांकले देखाउँछ । चीनपछि नेपाललाई छाता निर्यात गर्ने देशमा हङकङ, भारत, थाइल्यान्ड, मलेसिया पर्छन् ।

यसबाहेक अस्ट्रेलिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), बेलायत, कम्बोडिया, इजरायल, कतार, अमेरिकाबाट पनि छाता आयात भएको देखिन्छ  ।

विगतमा काठमाडौं न्युरोड, असन लगायत क्षेत्रमा छाता एसेम्बल गर्ने र मर्मत गर्ने पसलहरू सञ्चालनमा रहे पनि अहिले त्यस्ता पसल अस्तित्वमा रहेको पाइँदैन ।

नेपालमै छाता उत्पादन गर्नुभन्दा आयात गर्दा सस्तो पर्न जाने हुँदा उद्योग स्थापनामा कसैको ध्यान नगएको उद्योगीहरू बताउँछन् ।

कत्रो छ विश्व छाता बजार ?

विश्वको छाता बजारको आकार अर्बौं डलर बराबर रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय रिपोर्ट अनुसार सन् २०२४ मा विश्व छाता बजारको आकार ५ अर्ब ६० करोड अमेरिकी डलर अर्थात् ७ खर्ब ६७ अर्ब २० करोड रुपैयाँ बराबर थियो ।

छाताको बजार वार्षिक २ प्रतिशतका दरले बढेर सन् २०३७ सम्ममा ७ अर्ब ४३ करोड डलर अर्थात् १० खर्ब १७ अर्ब १९ करोड रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको छ ।

विश्वका सबैभन्दा ठूला तीन छाता उद्योगमा चीनको सन्नी ग्रुप, अमेरिकाको टोटस आइसोटोनर र बेलायतको फुल्टन अम्ब्रेलाज हुन् ।

 

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?