
विषय प्रवेश
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सुधार देखिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार यस पटक ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशतले बढी हो।
बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४० – ४ हजार १२६ जना, जीपीए २.४० देखि २.८० – ४८ हजार ४७९ जना, जीपीए २.८० देखि ३.२०– ८९ हजार १२४ जना, जीपीए ३.२० देखि ३.६० – ८१ हजार ३८५ जना, जीपीए ३.६० देखि ४ – ४८ हजार १७७ जना, ननग्रेडेड – १ लाख ६७ हजार ५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २ लाख ७१ हजार २९९ जना रहेको छ। ७ चैतदेखि सञ्चालन गरिएको २०८१ को कक्षा १० एसईई परीक्षामा कुल ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी थिए। परीक्षा दिएका विद्यार्थीमध्ये २ लाख ७१ हजार २९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका हुन् ।
एसईईको नतिजापछि विद्यार्थी जीवनको निर्णायक मोडमा पुगेका छन्। अबको यात्राले उनीहरूको शैक्षिक धार, करिअरको दिशा र जीवनशैलीमा गहिरो प्रभाव पार्नेछ। यी निर्णायक घडीमा केवल विद्यार्थी मात्र होइन, अभिभावकहरू पनि जिज्ञासु छन्, अब कुन विषय रोज्ने ? कस्तो विद्यालय उपयुक्त होला ? कुन शैक्षिक धार भविष्यको लागि प्रभावकारी हुन्छ ? विद्यार्थी र अभिभावकलाई उपयुक्त विषय छनोट र विद्यालय चयनमा स्पष्ट, विवेकसम्मत र सन्दर्भअनुकूल मार्गदर्शन प्रदान गर्न यो लेख तयार पारिएको हो।
निर्णयको घडी
एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै हजारौं विद्यार्थी र अभिभावकका मनमा एउटै जिज्ञासा उठ्न थालेको छ, अब कुन विषय पढ्ने? कुन विद्यालय रोज्ने ? यो केवल अर्को कक्षामा उक्लने प्रक्रिया मात्र होइन, यो निर्णयले विद्यार्थीको भविष्यको दिशा निर्धारण गर्छ।
सामान्यतः विद्यार्थीले आफूले पढ्दै आएको विद्यालयमै कक्षा ११ अध्ययन जारी राख्ने परम्परा नेपालको शिक्षापद्धतिको आधार रहँदै आएको छ। तर, शिक्षा नियमावली २०५९ को नवौं संशोधन पश्चात्, कक्षा १० पछिको अवस्थामा विद्यार्थीले आफ्नो विषय, स्थान वा परिस्थिति अनुसार विद्यालय परिवर्तन गर्न सक्ने कानूनी व्यवस्था गरिएको छ, सामान्य स्थानान्तरण होस् वा विपद् वा महामारीको अवस्था। त्यसैले, यस महत्वपूर्ण मोडमा सोच–विचार, जानकारी र विवेक सहित निर्णय गर्नु आवश्यक छ। सही निर्णयले आजको पढाइ मात्र होइन, भोलिको पेशा र जीवनशैलीलाई पनि आकार दिन्छ।
१. सबैभन्दा पहिले आफूलाई चिन्ने प्रयास गरौं
एसईईपछि विषय छनोट गर्नु केवल अध्ययनको कुरा होइन, यो आफ्नो भविष्यको दिशा पहिल्याउने प्रक्रिया हो। त्यसैले, सबैभन्दा पहिले विद्यार्थीले आफ्नै रुचि, क्षमता र सपनालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। केही आवश्यक प्रश्नहरू आफैंलाई सोधौं:
- म कुन विषय पढ्दा रमाउँछु र बुझ्न सजिलो लाग्छ ?
- म कस्ता काममा उत्साहपूर्वक संलग्न हुन्छु, विज्ञान प्रयोग, लेख लेख्ने, समूहमा छलफल गर्ने, व्यापारिक योजना बनाउने, सामाजिक काम गर्ने वा सिर्जनात्मक गतिविधिमा ?
- मेरो दीर्घकालीन सपना के हो ? म डाक्टर, इन्जिनियर, उद्यमी, शिक्षक, कलाकार, समाजसेवी वा अरू केही बन्न चाहन्छु ?
विषय छान्दा केवल एसईई नम्बरको आधारमा होइन; रुचि, दीर्घकालीन सम्भावना, र व्यक्तिगत लक्ष्य हेरेर निर्णय गर्नुपर्छ।
२. मुख्य शैक्षिक धारहरू: कुन–कुन छन् ?
नेपालमा एसईई परीक्षापश्चात् कक्षा ११ र १२ मा अध्ययनका लागि विभिन्न शैक्षिक धारहरू उपलब्ध छन्। प्रत्येक धारले फरक प्रकृति, उद्देश्य र भविष्यका सम्भावनाहरू बोकेको हुन्छ। विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्य अनुसार उपयुक्त धारको छनोट गर्न सक्दछन्।
विज्ञान संकाय: यो धार मुख्यतः डाक्टर, इन्जिनियर, वैज्ञानिक, पाइलट, सूचनाप्रविधि विशेषज्ञ जस्ता पेशागत लक्ष्य राख्ने विद्यार्थीका लागि उपयुक्त मानिन्छ। यस धारमा सफल हुन विद्यार्थीमा गणित तथा विज्ञान विषयप्रति गहिरो रुचि, नियमित अध्ययन गर्ने बानी र गम्भीरताका साथ मिहिनेत गर्ने स्वभाव आवश्यक हुन्छ।
व्यवस्थापन संकाय: व्यवस्थापन संकाय उद्यमशीलता, व्यवस्थापन, बैंकिङ तथा वित्त क्षेत्र, होटल व्यवस्थापन, मार्केटिङ र लेखाशास्त्र जस्ता क्षेत्रमा भविष्य खोज्ने विद्यार्थीका लागि उपयुक्त हुन्छ। यस धारमा सफलता हासिल गर्न व्यावहारिक ज्ञान, नेतृत्व क्षमता, समस्या समाधान गर्ने कौशल तथा समूहमा काम गर्न सक्ने क्षमता अपरिहार्य हुन्छ।
मानविकी संकाय: मानविकी धार पत्रकारिता, समाजशास्त्र, शिक्षण, राजनीति, मनोविज्ञान तथा साहित्य लेखन जस्ता क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि उपयुक्त हुन्छ। यसमा विश्लेषणात्मक सोच, भाषिक दक्षता, सामाजिक चेतना र सिर्जनशीलता महत्वपूर्ण गुणहरू हुन्।
शिक्षा संकाय: शिक्षा धार विद्यालयस्तरमा शिक्षण पेशा अँगाल्ने सोच भएका विद्यार्थीका लागि लक्षित गरिएको हुन्छ। यसमा अध्ययन गर्ने विद्यार्थीमा शिक्षणमा रुचि, संयमशीलता तथा समाजप्रति योगदान दिने भावना हुनु आवश्यक हुन्छ।
प्राविधिक तथा व्यावसायिक शिक्षा (जस्तै सीटीईभीटी कार्यक्रमहरू): यस धारमा सीएमए, अनमि, डिप्लोमा इन इन्जिनियरिङ, भेटनेरी, होटल म्यानेजमेन्ट आदि विभिन्न प्राविधिक तथा व्यावसायिक कार्यक्रमहरू समावेश छन्। यी कार्यक्रमहरूले छोटो समयमै रोजगारीमूलक सीप प्रदान गर्ने भएकाले विद्यार्थी सीधै रोजगार वा स्वरोजगारतर्फ अग्रसर हुन सक्छन्।
अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमहरू: एसईईपछि नेपाली विद्यार्थीले अध्ययन गर्न सक्ने विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम पनि विकल्पका रूपमा छन्। प्रमुख कार्यक्रमहरू आईबी, ए लेवल वा एपीमध्ये पनि एक रोज्न सकिन्छ। यी कार्यक्रमले विद्यार्थीलाई विश्वविद्यालय प्रवेशमा प्रतिस्पर्धात्मक, सोचमूलक र अन्तर्राष्ट्रिय दृष्टिकोणयुक्त बनाउँछन्।
३. विद्यालय वा कलेज छनोट गर्दा ध्यान दिनुपर्ने कुरा
कक्षा ११ अध्ययनका लागि विद्यालय चयन गर्नु जीवनको एक निर्णायक मोड हो। यस निर्णयमा निम्न पक्षहरूमा गहिरो ध्यान दिनु आवश्यक हुन्छ:
विषय र संकायको उपलब्धताः आफ्नो रुचि र भविष्यको लक्ष्य अनुसार कुन संकाय विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून आदि उपलब्ध छन् भनेर हेरौं। रोजेको संकायभित्र विषय छनोटका विकल्प कति छन्, तिनीहरू कति गहिरा र व्यावहारिक छन् भन्ने कुराको मूल्यांकन गर्नु अत्यावश्यक हुन्छ।
शैक्षिक गुणस्तर र परीक्षाफलः कलेजको विगतको एसईई वा एनईबी बोर्ड परीक्षाको नतिजा कस्तो छ? नियमित रूपमा उत्कृष्ट नतिजा दिइरहेको छ कि छैन? त्यहाँ कार्यरत शिक्षकहरूको योग्यता, अनुभव र समर्पण पनि हेर्नुपर्ने विषय हो।
पठनपाठन शैली र प्रविधिको प्रयोगः शिक्षण विधि आधुनिक, विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री छ कि छैन? स्मार्ट कक्षाकोठा, ई-लर्निङ प्लेटफर्म, प्रयोगात्मक प्रयोगशाला आदि प्रयोग हुन्छन् कि हुँदैनन्? यी कुराले सिकाइलाई अझ प्रभावकारी बनाउँछन्।
शैक्षिक वातावरण र अनुशासनः विद्यालय/कलेजमा शैक्षिक अनुशासन कस्तो छ? कक्षा सञ्चालन नियमित छ कि छैन? विद्यार्थी र शिक्षक बीचको सम्बन्ध, परामर्शको पहुँच र भावनात्मक समर्थनको वातावरण पनि महत्वपूर्ण हुन्छ। साथै; सांस्कृतिक, साहित्यिक, खेलकुद तथा सामाजिक गतिविधिमा कति सक्रियता छ भन्ने पनि विचार गर्नुपर्ने पक्ष हो।
भौतिक पूर्वाधारः पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, सफा स्यानिटेशन, सुरक्षित क्यान्टिन र बस सुविधा जस्ता आधारभूत पूर्वाधार कत्तिको सुदृढ छन् भन्ने बुझ्न जरूरी छ। वातावरण स्वच्छ, सुरक्षित र सिकाइमैत्री हुनु पनि महत्वपूर्ण हो।
शुल्क संरचना र छात्रवृत्तिको व्यवस्थाः कलेजको शुल्क पारदर्शी छ कि छैन? अतिरिक्त शुल्कको भार त छैन? आर्थिक रूपमा कमजोर तथा मेधावी विद्यार्थीलाई छात्रवृत्ति वा शुल्क छुटको व्यवस्था छ कि छैन भन्ने कुरा पनि छानबिन गर्नु जरूरी हुन्छ।
परामर्श तथा काउन्सिलिङ सेवाः विद्यार्थीलाई शैक्षिक, मानसिक तथा करिअर सम्बन्धी परामर्श दिने सेवा कत्तिको प्रभावकारी छ? कलेजले विद्यार्थीलाई भविष्यको योजना बनाउन सहयोग पुर्याउने वातावरण तयार गरेको छ कि छैन?
सह-पाठ्यक्रम गतिविधि र व्यक्तित्व विकासः प्रस्तुतीकरण, नेतृत्व विकास, अनुसन्धान, बहस, प्रतियोगिता आदि कार्यक्रममा सहभागिताको लागि कत्तिको प्रोत्साहन हुन्छ? केवल किताबी ज्ञान होइन, समग्र व्यक्तित्व विकासमा विद्यालय/कलेजको ध्यान कत्तिको केन्द्रित छ?
स्थान र पहुँचः कलेजको स्थान विद्यार्थीको घरबाट सजिलै पुग्न मिल्ने छ कि छैन? सार्वजनिक वा निजी यातायात सुविधा सहज छ कि छैन? दैनिक आवागमनको झन्झटले पढाइमा असर नपरोस्।
विश्वसनीयता र सामाजिक प्रतिष्ठाः विद्यालय वा कलेज कहिले स्थापना भयो? नेतृत्वमा संलग्न व्यक्तिहरूको शैक्षिक र व्यवस्थापकीय अनुभव कस्तो छ? स्थानीय समुदाय र पुराना विद्यार्थी बीचको प्रतिष्ठा के कस्तो छ? यी सबैले संस्थाको विश्वसनीयता मापन गर्न मद्दत गर्छ।
४. भ्रममा नपरौं
नाम चलेका विद्यालय नै राम्रो हुन्छ भन्ने सोच सधैं सही हुँदैन। विद्यालय वा कलेजको नामभन्दा पनि त्यहाँको शैक्षिक गुणस्तर, सिकाइको वातावरण र विद्यार्थीको समग्र विकासमा केन्द्रित कार्यक्रमहरू महत्वपूर्ण हुन्छन्। नाम चलेको संस्थामा मात्र भविष्य सुरक्षित हुन्छ भन्ने सोचबाट हामी बाहिरिन आवश्यक छ। सस्तो कलेज भनेको कमस्तरको हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ। शिक्षाको गुणस्तर कलेजको शुल्कभन्दा बढी सिकाइ पद्धति, शिक्षकको दक्षता र सिक्ने वातावरणमा निर्भर गर्छ। त्यसैले सस्तो शुल्क भएको संस्थालाई हेय दृष्टिले नहेरी, वस्तुनिष्ठ मूल्यांकन गर्नु बुद्धिमानी हुन्छ।
सबै विद्यार्थीले विज्ञान पढ्नैपर्छ भन्ने सोच पूर्णतः गलत हो। सबैको रुचि, क्षमता र भविष्यको लक्ष्य फरक हुन्छ। विज्ञान पढ्नु सफलताको एउटै बाटो होइन। मानविकी, व्यवस्थापन, शिक्षा वा प्राविधिक धारहरूमा पनि उज्यालो भविष्य निर्माण गर्न सकिन्छ। विदेश जान पाइन्छ भन्ने लोभमा विषय वा कलेज नछानौं। भविष्यमा विदेश जाने सम्भावनाको आशामा रुचि र क्षमता विपरीत विषय वा कलेज छान्नु दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ। निर्णय सुदृढ, यथार्थपरक र दीर्घ दृष्टियुक्त हुनुपर्छ।
५. अभिभावकको भूमिका
एसईईपछिको विषय र विद्यालय छनोटमा अभिभावकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। यस चरणमा उनीहरूले आफ्नो सन्तानको भावी यात्रामा मार्गदर्शक, सल्लाहकार र आत्मीय साथी बन्न आवश्यक छ। आफ्ना सन्तानको रुचि र क्षमता बुझ्ने प्रयास गर्नुपर्छ। बालबालिकाका इच्छा, सपना र स्वाभाविक क्षमताहरूलाई ध्यानपूर्वक बुझेर मात्र निर्णयमा साथ दिनु जरूरी हुन्छ। अभिभावकले आफ्नो अनुभवका आधारमा सुझाव दिन सक्ने भए तापनि अन्तिम निर्णय सन्तानको रुचिको आधारमा हुनुपर्छ।
तिमीले यो पढ्नैपर्छ भन्ने आग्रहभन्दा हामीसँगै बसेर के पढ्दा तिमी खुसी र सफल हुन्छौ भनेर छलफल गरौं भन्ने शैलीले सम्बन्ध पनि बलियो बनाउँछ र निर्णय पनि सही हुन्छ। मेरो सपना उसले पूरा गरिदेओस् भन्ने अपेक्षा गर्नुको सट्टा, उसले आफ्नो जीवनमा सन्तुलित सफलता पाओस् भन्ने सोच राख्नुपर्छ। सन्तानलाई आफ्नो व्यक्तित्व अनुसार बढ्न दिने अभिभावकले दीर्घकालीन रूपमा सफल, सन्तुलित र खुसी नागरिक निर्माणमा योगदान दिन्छन्।
याद गरौं, एसईईपछि कस्तो बाटो लिने भन्ने निर्णय छोटो होइन, दीर्घकालीन प्रभाव पार्ने विषय हो। त्यसैले हल्ला, भ्रम, सामाजिक प्रतिस्पर्धा वा फेसनको आधारमा होइन, सोच–विचार, संवाद र सल्लाहको आधारमा निर्णय गर्नुपर्छ। सही विषय र सही स्थानको चयनले विद्यार्थीको भविष्य निर्माणमा गम्भीर भूमिका खेल्दछ।
निष्कर्ष
एसईईपछि विषय र विद्यालय चयन गर्ने निर्णय विद्यार्थीको जीवनमा आउने अत्यन्त संवेदनशील मोड हो। यो केवल प्लस टु तहको पढाइको सुरुआत मात्र होइन, दीर्घकालीन जीवनयात्राको दिशा निर्धारण गर्ने आधार पनि हो। त्यसैले; हतार, भ्रम, सामाजिक दबाब वा फेसनको प्रवृत्तिले होइन, गहिरो सोच–विचार, आत्मचिन्तन र पारिवारिक संवादको आधारमा यो निर्णय लिनु अत्यावश्यक हुन्छ।
विद्यार्थीले सबैभन्दा पहिला आफ्ना रुचि, क्षमता र दीर्घकालीन लक्ष्यहरू स्पष्ट रूपमा पहिचान गर्नुपर्ने आवश्यकता छ। विषय छनोट गर्दा बजारको हल्ला वा साथीसङ्गीको निर्णयको सिको गरेर होइन, उपलब्ध धारहरूको यथार्थ मूल्यांकन गरेर अघि बढ्नुपर्छ। विद्यालय वा कलेज चयन गर्दा शैक्षिक गुणस्तर, सकारात्मक शैक्षिक वातावरण, प्रेरक शिक्षक समूह तथा सह–शैक्षिक गतिविधिको समावेशिता जस्ता पक्षहरूलाई प्राथमिकतामा राखेर निर्णय लिनुपर्छ।
साथै, केही आम भ्रान्तिहरूबाट पनि सचेत रहन जरूरी छ, जस्तै सस्तो कलेज कमस्तरको हुन्छ, सबै जनाले विज्ञान पढ्नुपर्छ वा विदेश जाने सपना बोकेकै आधारमा धार छान्नुपर्छ भन्ने सोच गलत दिशातर्फ डोर्याउन सक्छ। यस्तो मोडमा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। सन्तानमाथि अनावश्यक दबाब नदिई, उनीहरूको रुचि, स्वभाव र भविष्यप्रतिको दृष्टिकोणलाई सम्मान गर्दै सहकार्यको भावना राखेर निर्णय गर्नु उपयुक्त हुन्छ।
अन्ततः, सही समयमा लिइएको विवेकपूर्ण निर्णयले विद्यार्थीको आत्मविश्वास बढाउँछ, सफलताको मार्गप्रशस्त गर्छ, सन्तुलित जीवनका ढोका खोल्न सक्ने सम्भावना राख्दछ। त्यसैले, यो निर्णयलाई गम्भीरता, स्पष्ट जानकारी र दूरदर्शी सोचका साथ लिनु आजको आवश्यकता हो।
(बराल गण्डकी बोर्डिङ स्कूल र गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स लामाचौर पोखराका पूर्व प्राचार्य हुन्।)
प्रतिक्रिया 4