+
+
Shares

दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व बैंकले जोहान्स जुटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्ष नियुक्त गरेको छ।
  • उनले १ जुलाई २०२५ देखि कार्यभार सम्हाल्ने र क्षेत्रको ३९ अर्ब अमेरिकी डलरको परियोजना व्यवस्थापन गर्नेछन्।
  • उनले नेपाल, बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकासँग सम्बन्ध व्यवस्थापन गर्नुहुनेछ।

१६ असार, काठमाडौं । सन् २०१३ देखि २०१५ सम्म नेपाल, बंगलादेश तथा भुटानका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक भएर काम गरेका जोहान्स जुटलाई बैंकले दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्षको रूपमा नियुक्त गरेको छ । उनले यसअघिका उपाध्यक्ष मार्टिन राइजरको स्थान लिनेछन् । उनको नियुक्ति १ जुलाई २०२५ देखि लागु हुने विश्वबैंकले जनाएको छ ।

दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षको रूपमा जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँग विश्व बैंकका सम्बन्ध व्यवस्थापन गर्नेछन् ।

साथै, उनले यस क्षेत्रको कुल ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहायता र वित्तीय स्रोतहरूको पोर्टफोलियोको व्यवस्थापन गर्ने विश्वबैंकले जनाएको छ ।

जुटको नेतृत्वमा दक्षिण एसिया क्षेत्रलाई रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोध, मानव पूँजी विकास र निजी पूँजी परिचालनका क्षेत्रमा सहयोग जारी राख्ने विश्व बैंकले जनाएको छ ।

नेदरल्यान्डका नागरिक जुट सन् १९९९ मा विश्व बैंकमा प्रवेश गरेका थिए । उनले मे २०१३ देखि नेपाल तथा बंगलादेशको राष्ट्रिय निर्देशकका रूपमा काम गरेका थिए । सन् २०१४ मा उनलाई भुटानको पनि जिम्मेवारी थपिएको थियो ।

नेपालमा २०७२ को भूकम्प जाँदा जुट नेपालको राष्ट्रिय निर्देशक थिए । नेपालले २५ जुन २०१५ मा भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गरेको थियो । त्यो सम्मेलनबाट नेपालले करिब साढे ४ अर्ब सहयोगको प्रतिबद्धता प्राप्त गरेको थियो । भूकम्पपछिको पुनर्निर्माणमा विश्व बैंकले नेपाललाई सबैभन्दा ठूलो सहयोग प्रदान गरेको थियो ।

दक्षिण एसियाको उपाध्यक्ष हुनुअघि जुटले ब्राजिलका लागि विश्व बैंकका राष्ट्रिय निर्देशकका रूपमा काम गरेका थिए ।

त्ययसअघि, उनले अपरेसनल पोलिसी तथा कन्ट्री सर्भिसेस (ओपीसीएस) उपाध्यक्ष कार्यालयमा निर्देशकको रूपमा काम गरेका थिए । उनले टर्की कोमोरोस, इरिट्रिया, केन्या, रवाण्डा, सेसेल्स र सोमालियाका लागि पनि राष्ट्रिय निर्देशकको रूपमा काम गरेका थिए ।

‘मैले १० वर्षअघि दक्षिण एसिया क्षेत्रमा काम गरेको थिएँ, त्यसयता यहाँको विकास प्रगतिलाई देखेर म अत्यन्तै खुशी छु,’ नेपालको राष्ट्रिय निर्देशकका रुपमा काम गरेको अवधिलाई सम्झँदै जुटले भने, ‘यस क्षेत्रका जनताको आत्मियता र सांस्कृतिक विविधताको न्यानोपन पुन: एकपटक महसुस गर्दै यहाँ योगदान गर्ने नयाँ अवसरका लागि उत्साहित छु ।’

जुटले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन् भने हार्वर्ड विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरेका छन् । त्यस्तै टोरन्टो विश्वविद्यालयबाट दर्शनशास्त्रमै बीए र एमए गरेका छन् । उनी भारतको नयाँ दिल्ली कार्यालयमा बसेर काम गर्ने विश्व बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?