+

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

२०८२ असार  १७ गते ११:५४ २०८२ असार १७ गते ११:५४

धमनीमा कोलेस्टेरोल, सुगर वा धूम्रपानले प्लाक बनेर रगत बग्न अवरोध हुन्छ । यसले खुट्टाको अट्याक, हातको अट्याक वा ब्रेन अट्याक निम्त्याउन सक्छ ।

Shares
रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रक्तनली हाम्रो शरीरको रक्तसञ्चार प्रणालीको हिस्सा हो, जसलाई भास्कुलर सिस्टम भनिन्छ।
  • भास्कुलर रोगहरूमा भेरिकोज भेन, धमनीको रोकावट र डिप भेन थ्रोम्बोसिस समावेश छन्।
  • इन्डोभास्कुलर प्रविधिले बिना चिरफार उपचार सम्भव बनाएको छ।

रक्तनली हाम्रो शरीरको रक्तसञ्चार प्रणालीको हिस्सा हो, जसलाई बोलीचालीको भाषामा नसा पनि भनिन्छ । तर, भास्कुलर नसालाई रक्तनली वा रगत सप्लाई गर्ने पाइपको रूपमा बुझ्नुपर्छ । यो मुटुबाट रगतलाई शरीरभरि पुर्‍याउने र फोहोर रगत फोक्सोमा सफा गर्न लैजाने प्रणाली हो ।

कुनै व्यक्तिमा भास्कुलर सिस्टम अर्थात् रक्तप्रवाहमा महत्वपूर्ण भूमिका भएका धमनी र नसा सम्बन्धी समस्या छ भने त्यसलाई भास्कुलर रोग भनिन्छ । भेरिकोज भेन, डायबेटिक फुट, वा धमनीको रोकावट जस्ता समस्याहरूलाई भास्कुलर समस्या भनिन्छ ।

रक्तनलीलाई मुख्य तीन प्रकारमा विभाजन गर्न सकिन्छ

धमनी (आर्टरी) : मुटुबाट अक्सिजनयुक्त रगत शरीरभरि लैजाने नली । यी बलिया र लचिलो हुन्छन् ।

सिरा (भेन) : शरीरबाट फोहोर रगत मुटु र फोक्सोतर्फ फर्काउने नली । यसमा भल्भ हुन्छन्, जसले रगतलाई एकतर्फी बग्न मद्दत गर्छ ।

लसिका नली (लिम्फ्याटिक भेसल) : शरीरमा प्रोटिन र तरल पदार्थ सन्तुलन राख्ने नली । यी नली रोग प्रतिरोधात्मक प्रणालीसँग जोडिएका हुन्छन् ।

रक्तनलीमा देखिने मुख्य समस्याहरू

भेरिकोज भेन

भेरिकोज भेन भन्नाले कुनै पनि स्थानमा भएका रगतका नलीहरूको (भेन) वाल र भल्भहरूमा खराबी भएर उक्त रगतको नसाहरू सुन्निने, दुख्ने र गुजुल्टो पर्ने रोग हो । कमजोर र खराब भएका रक्तनलीका भल्भमार्फत उक्त स्थानमा रगतको प्रवाह सही तवरबाट हुन सक्दैन र परिणाम स्वरुप त्यस स्थानको रगतका नलीहरू बिस्तारै फुल्दै सुन्निदै जान्छन्।

रगत प्रवाह सही तवरले नहुँदा कतिपय अवस्थामा साना तथा मझौला रगतका थेग्राहरू पनि उक्त रगतको नलीभित्र जम्मा हुँदै जान्छ । यो विशेषगरी खुट्टामा देखिन्छ ।

धेरै उभिने, गर्भवती महिला, मोटोपन भएका, खानदानी कारणले वा कम हिँडडुल गर्ने व्यक्तिमा यो समस्या बढी हुन्छ ।

खुट्टा सुन्निने, दुख्ने, चिलाउने, छाला कालो हुने, घाउ हुने र इन्फेक्सन । लामो समय उपचार नगरे रगत जम्ने (डिप भेन थ्रोम्बोसिस), घाउ हुने र मुटुमा अतिरिक्त भार पर्न सक्छ ।

यो समस्याको उपचार लेजर, रेडियो फ्रिक्वेन्सी, स्क्लेरोथेरापी वा इन्डोभास्कुलर प्रविधिबाट बिनाचिरफार उपचार गरिन्छ । नेपालमा यो उपचार सस्तो र प्रभावकारी छ ।

डिप भेन थ्रोम्बोसिस

भित्री रगत शिरामा रगत जमेर थक्का बन्ने अवस्था । यो खतरनाक हुन सक्छ किनभने थक्का फोक्सो, मुटु वा दिमागमा पुग्न सक्छ । लामो समय नहिँड्ने, सुत्केरी, मोटोपन वा वंशाणुगत कारण यो समस्या देखापर्छ ।

रगत पातलो पार्ने औषधि, स्टेन्टिङ वा इन्डोभास्कुलर प्रविधि मार्फत यो समस्याको उपचार गरिन्छ ।

धमनीको रोकावट

धमनीमा कोलेस्टेरोल, सुगर वा धूम्रपानले प्लाक बनेर रगत बग्न अवरोध हुन्छ । यसले खुट्टाको अट्याक, हातको अट्याक वा ब्रेन अट्याक निम्त्याउन सक्छ । यो समस्यामा हात–खुट्टा चिसो हुने, दुख्ने, र मासु मर्ने जस्ता लक्षण देखापर्छ ।

एन्जियोप्लास्टी, स्टेन्टिङ, बाइपास सर्जरी, वा इन्डोभास्कुलर प्रविधिमार्फत यसको उपचार गरिन्छ ।

लसिका नलीको समस्या

लसिका नली अवरुद्ध हुँदा हात–खुट्टा सुन्निने वा इन्फेक्सन हुने हुन्छ । औषधि, मेसिनद्वारा वा सर्जरी मार्फत यसको उपचार गरिन्छ ।

डायबेटिक फुट

मधुमेहले रक्तनली साँघुरो हुँदा खुट्टामा रगत नपुगेर घाउ, इन्फेक्सन हुन्छ । लामो समयदेखि मधुमेह भएका र सुगर नियन्त्रण नभएका व्यक्तिमा यो समस्या देखिन्छ । रगत पातलो पार्ने औषधि, इन्डोभास्कुलर प्रविधि, सरसफाइ वा आवश्यक परे मरेको भाग काटेर यसको उपचार हुन्छ ।

रक्तनली सम्बन्धी समस्यामा इन्डोभास्कुलर उपचारले कसरी काम गर्छ ?

इन्डोभास्कुलर उपचारमा सानो छिद्रबाट तार र क्याथेटर रक्तनलीभित्र पठाइन्छ । बेलुनले साँघुरो नली खोलिन्छ, स्टेन्ट राखिन्छ वा लेजरले बिग्रिएको शिरा सुकाइन्छ ।

इम्बोलाइजेशनबाट ट्युमर वा फुलेको नलीको रक्त सप्लाई रोकेर उपचार गरिन्छ । यो प्रक्रिया ९०–९५ प्रतिशत सुरक्षित छ, तर १ प्रतिशत केसमा रगत जम्ने वा इन्फेक्सन हुन सक्छ।

अन्य रक्तनली सम्बन्धी समस्याहरूमा पनि इन्डोभास्कुलर प्रभावकारी

पेल्भिक कन्जेसन सिन्ड्रोम : महिलामा ओभेरियन शिरामा रगत बढ्ता थेग्रिएर तल्लो पेट दुख्ने समस्यामा ।

भेरिकोसेल : पुरुषमा टेस्टिकुलर शिरामा रगत चुहिएर बाँझोपनको समस्या देखा परेमा ।

एन्युरिज्म : रक्तनली फुलेर फुट्ने जोखिम भएको अवस्थामा ।

इन्डोभास्कुलर उपचार : बिना चिरफारको समाधान

इन्डोभास्कुलर सर्जरी रक्तनलीको उपचारमा फड्कोमय प्रविधि हो । यो बिनाचिरफार सानो सुई र तारको सहायताले गरिन्छ ।

इन्डोभास्कुलर सर्जरीको फाइदा

चिरफार नचाहिने, दुखाइ कम, अस्पताल बसाइ छोटो । छिटो रिकभरी, सामान्य जीवनमा फर्कन सजिलो । नेपालमा यो उपचार विदेशको तुलनामा सस्तो छ । जस्तो दुबईमा ८ लाख पर्ने उपचार नेपालमा ८० हजारमा हुन्छ ।

यो सर्जरीको धेरै फाइदा हुँदा हुँदै पनि लामो समयमा नली फेरि बन्द हुन सक्छ । साथै जटिल केसमा चिरफार नै गर्नुपर्ने हुन सक्छ ।

रक्तनलीको स्वास्थ्य कायम राख्ने उपाय

स्वस्थ जीवनशैली : नियमित व्यायाम हिँड्ने, साइक्लिङ, नाच्ने, पौडी खेल्ने ।

खानपान : चिल्लो, गुलियो कम खाने, पानी धेरै पिउने ।

धूम्रपान नगर्ने : चुरोटले रक्तनली साँघुरो बनाउँछ ।

वजन नियन्त्रण : मोटोपनाले भेरिकोज भेन र अन्य समस्या निम्त्याउँछ ।

नियमित चेकअप : डप्लर अल्ट्रासाउन्डले शरीरका विभिन्न रक्तनलीको अवस्था पत्ता लगाउँछ ।

तस्वीर/भिडियो : शंकर गिरी 

 

कोलेस्टेरोल धमनी रक्तनली
डा. सन्दीप राज पाण्डे
लेखक
डा. सन्दीप राज पाण्डे
भास्कुलर तथा इन्डोभास्कुलर सर्जन

डा. पाण्डे काठमाडौँस्थित अन्नपूर्ण  न्यूरो अस्पतालमा कार्यरत छन् ।  इन्डोभास्कुलर सर्जरीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११९४७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?