
News Summary
Generated by OK AI. Editorially reviewed.- सापकोटाले दलतन्त्रको विशेषता र विकृतिका कारणहरू व्याख्या गरेका छन्।
- उहाँले दलीयकरण र दलाल प्रवृत्तिले लोकतन्त्र र समाजमा परेको प्रभाव उल्लेख गर्नुभयो।
- उहाँले राज्यको दलीयकरण र दलाल प्रभावलाई नियन्त्रण गर्न नैतिकता र मूल्यको पुनर्विचार आवश्यक बताउनुभयो।
दलतन्त्रको एक प्रमुख विशेषता यही हो कि यसले दलमा गुट–उपगुटको निर्माण गर्छ । उनीहरू बीचको प्रतिस्पर्धालाई नै आन्तरिक लोकतन्त्रको अभ्यास मान्नुपर्ने हुन्छ । गुटका मठाधीशहरूको चाहना अनुसार दल चल्न थाल्छन् ।
दलतन्त्र बहुदलीय व्यवस्थामा आएको विकृति हो । दलहरू नागरिककेन्द्रित हुनुपर्ने ठाउँमा आफ्नै लागि राज्यको प्रयोग गर्न उद्यत हुनु नै यसको प्रमुख विशेषता हो । वास्तवमा दल मार्फत शासन सञ्चालन गर्ने जुन प्रतिनिधिमूलक लोकतन्त्रको परिकल्पना हो, त्यसमा देखिएको विचलन दलतन्त्रका रूपमा देखिएको छ । यो संसारभर देखिएको समस्या हो । हाम्रो लोकतन्त्रमा पनि यो समस्या विकराल बन्दै गएको छ ।
दलतन्त्रमा दलभित्र आन्तरिक लोकतन्त्र हुँदैन । अथवा, आन्तरिक लोकतन्त्रलाई निमोठेर मात्रै दलतन्त्र लाद्न सकिन्छ । यो ‘तन्त्र’मा राज्यका निकायहरूमा दलका मान्छेहरूको कब्जा रहन्छ । नीति, नियम र बजेट बनाउँदा पनि दलीय स्वार्थका आधारमा बनाइन्छ ।
संविधानमा छेडछाड, निर्वाचन क्षेत्रको निर्धारणदेखि राजनीतिक भाष्यको निर्माणसम्म दलीय स्वार्थका लागि नै गरिन्छ । न्यायको सम्पादन समेत दलीय संलग्नताका आधारमा सही हुने/नहुने हुन्छ । यस्तो अवस्थामा लोकतन्त्र नाम मात्रैको रहन्छ भने व्यवहारमा दलतन्त्र हाबी हुन्छ ।
दलतन्त्र जन्मिनुको पछाडि धेरै कारण छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण कारण राजनीतिमा पैसाको अवाञ्छित प्रभाव हो । यसले गर्दा दलमा जो व्यक्ति धनी छ वा जसले अन्य व्यक्तिहरूका निहित स्वार्थलाई मिलाउन सक्छ त्यो नै नेता बन्न सक्ने अवस्था बन्छ ।
यो परिस्थितिमा दललाई हाँक्न सक्ने क्षमता भएको तथा जनताको राजनीति गर्ने व्यक्तिभन्दा धनी व्यक्तिले स्थान पाउने अवस्था आउँछ । जसकारण एक–दुई नेताका वरिपरि सम्पूर्ण कार्यकर्ता केन्द्रित हुने र उनीहरूकै आसपासमा गुटको निर्माण हुँदै जान्छ ।
दलतन्त्रको एक प्रमुख विशेषता यही हो कि यसले दलमा गुट–उपगुटको निर्माण गर्छ । उनीहरू बीचको प्रतिस्पर्धालाई नै आन्तरिक लोकतन्त्रको अभ्यास मान्नुपर्ने हुन्छ । गुटका मठाधीशहरूको चाहना अनुसार दल चल्न थाल्छन् । यसले विस्तारै दलका गुटहरूलाई पार्टीभन्दा बढी शक्तिशाली बनाइदिन्छ ।
वास्तवमा निहित स्वार्थ पूरा गर्न गुटहरू अस्वस्थ प्रतिस्पर्धामा लाग्दा अर्को गुटको व्यक्ति भावनात्मक रूपमा टाढा पुग्छ । अन्तरघात नियति बन्छ । खासमा दलको ‘कमरेड’ अर्को दलको सदस्यभन्दा टाढा पुग्छ । यसले दलभित्रको एकतामा असर गरेर टुटफुटतर्फ त लैजान्छ नै, त्योसँगै दलको चरित्रमा ठूलो परिवर्तन गरेर यिनलाई गिरोहमा बदलिदिन्छ ।
जब पैसाको भूमिका बढ्दै जान्छ तब दलको आन्तरिक लोकतन्त्र सीमित व्यक्तिको नियन्त्रणमा पुगेर थप विकृत बन्दै जान्छ । दलमा भ्रष्ट र तस्करहरूको बोलवाला बढ्दै जान्छ । नैतिकता र सदाचार हाँसोका विषय बन्न थाल्छन् । दलहरू अपराधीहरूका अखडा बन्न थाल्दछन् ।
राजनीतिको आवरणमा अपराधलाई लुकाउने र अपराधको राजनीतीकरण गर्ने प्रवृत्ति बलियो बन्दै जान्छ । परिस्थिति यस्तो बन्छ कि दलमा लाग्नु भनेको निजी स्वार्थका लागि नै हो भन्ने हुन पुग्छ । अर्थात्, अपराध गर्न वा यसको साक्षी बस्नका लागि दलमा लाग्ने अहिलेको जस्तो अवस्था बन्छ ।
जब दलमा लोकतन्त्र हुँदैन, दलमा लागेका मान्छे भ्रष्ट र तस्करहरू हुन्छन्, कालो पैसाको महत्व अधिक हुन्छ र यसैको भरमा अधिवेशन र चुनावको परिणाम निर्धारण हुन थाल्छ तब अहिले जस्तो दलहरू राजनीतिक दल नरहेर अराजनीतिक गिरोह बन्छन् ।
यिनको शासन जति लम्बिन्छ त्यति जनताको शोषण र दलाल तथा माफियाको पोषण बाहेक अरू हुन सक्दैन । संसद्मा होस् वा सरकारमा, विश्वविद्यालयमा होस् वा न्यायालयमा, मिडियामा होस् वा नागरिक समाजमा, कर्मचारीतन्त्रमा होस् वा विदेशमा रहेका नियोगमा जताततै उक्त दलीय गिरोह हावी हुन थाल्छ ।
यसले लोकतन्त्रलाई बदनाम गर्दै राज्य दोहनलाई तीव्र बनाउने बाहेक अरू गर्न सक्दैन । यो अवस्थामा राजनीति, अर्थनीति तथा सम्पूर्ण राज्य दलालहरूको हातमा पुग्छ र दलालतन्त्र वास्तविकता बन्छ ।
दलीयकरण : दलतन्त्रबाट दलालतन्त्रको संक्रमण
राज्यको दलीयकरण दलतन्त्रलाई दलालतन्त्रमा बदल्ने प्रक्रिया हो । जब दल सीमित नेताको कब्जामा परे र त्यहाँ नेतातन्त्र चल्यो तब त्यसले दलतन्त्र जन्मायो । जुनसुकै नेता दलको प्रमुख वा पदाधिकारी भए पनि गुटको निर्माण नगरी अगाडि बढ्न सक्ने अवस्था भएन । दलमा लागेका मान्छेहरू पनि निश्चित स्वार्थ र खासगरी पैसासँग सम्बन्धित स्वार्थले जोडिने अवस्था भएकाले कार्यकर्ता पाल्नुपर्ने बोझ पनि दलका नेतालाई आइपर्यो ।
दल गिरोहमा बदलिएपछि यिनको काम राज्यको दोहन गर्ने हुन पुगेको छ । दोहन नगरेर दल चलाउन गाह्रो हुने अवस्थाले गर्दा दलका नेता कसरी हुन्छ धन नै जम्मा गर्ने ध्याउन्नमा लागेका छन् । दलीय सिन्डिकेटमा नलागेका मान्छेलाई एक्ल्याउने र लाग्न बाध्य बनाउने उनीहरूको अघोषित रणनीति जस्तो देखिन्छ ।
कुनै पनि दलमा नलागी स्वतन्त्र बस्न चाहने व्यक्तिको जीवनमा समस्या सिर्जना गरेर दलीय गिरोहलाई टिकाउने गरिएको छ । भन्नुको मतलब राज्यका सेवा सुविधादेखि नागरिकका आधारभूत अधिकार पनि दलका आधारमा पाउने नपाउने हुँदा मान्छे दलमा लाग्न बाध्य भएका छन् ।
दलीयकरण कुशासनको मुहान भएको छ । उदाहरणका लागि विश्वविद्यालयहरूलाई नै हेर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयमा देखिएको लथालिंग अवस्थाको जिम्मेवार अरू कोही नभएर दलीय गिरोहहरू छन् । उनीहरूले आ–आफ्नो स्वार्थमा विश्वविद्यालयको दलीयकरण गर्ने प्रतिस्पर्धा चलाएका छन् । जसका कारण यो थलिएको छ । अस्पतालदेखि स्कूलसम्म सबैजसो सार्वजनिक संस्थाहरूको हालत यस्तै छ । र, यो प्रक्रिया निहित स्वार्थ परिपूर्ति गर्नका लागि भएको छ ।
दलीयकरणको सबैभन्दा ठूलो प्रभाव आम मानसिकतामा परेको देखिन्छ । आम नागरिकको चेतनालाई यसले पुर्याएको असरले नेपाली लोकतन्त्रलाई कमजोर बनाएको छ । यसका कारण नागरिक चेतना कमजोर भएको छ भने त्यसैकारण जागरूक र सजग भएर आवाज उठाउने, सही दल र नेतृत्वलाई चुन्ने जिम्मेवारी पूरा गर्न सकेको देखिंदैन ।
देशमा भएका भ्रष्टाचार, अनियमितता, तस्करी तथा दलभित्र भएका अलोकतान्त्रिक क्रियाकलापका विरुद्धको आवाज पनि कमजोर भएको छ । दलीय गिरोहहरूको संलग्नताका आधारमा सही र गलत छुट्याउन खोज्ने प्रवृत्ति एक रोग बनेको छ । अर्थात्, दलीयकरणको परिणामस्वरूप कार्यकर्तामा ‘झोले प्रवृत्ति’को जन्म भएको छ ।
झोले प्रवृत्तिले आन्तरिक लोकतन्त्रको दुरुह अवस्थालाई देखाउँछ । दलीय सिन्डिकेटमा लाग्नै पर्ने र लागेपछि खुरुखुरु नेताको आदेशको पालना गर्नुपर्ने जुन अवस्था दलहरूमा बनेको छ त्यसले ल्याएको समस्या हो यो । ठूलो सपना बोकेर दलमा लागेका, योगदान गरेका र जीवनको महत्वपूर्ण समय व्यतीत गरेका कार्यकर्ताको व्यक्तित्व विकास गर्नुपर्ने ठाउँमा दलले उनीहरूको चेतनालाई बन्धक बनाउने काम गरेका छन् ।
उनीहरूको श्रम, भावना र समयको शोषण गरेर नेतृत्व मोटाउने तर उनीहरू दिनप्रतिदिन चारित्रिक हिसाबले पनि कमजोर बन्दै जाने अवस्था बनेको छ । वास्तवमा दलका कार्यकर्ताहरूले नेताबाट सहीभन्दा गलत बढी सिक्ने अवस्था छ । सही कुरालाई प्रोत्साहन गर्ने होइन बरू गलत कुराको सिको गर्ने प्रवृत्ति हावी देखिन्छ ।
माथि नै भनिए झैं कालो पैसाको प्रभाव राजनीतिमा अत्यधिक भए पछि वास्तवमा दलका नेता र कार्यकर्ता सबै एकै काममा छन् । त्यो काम अरू केही नभएर आफ्नो राजनीति बचाउन कालो पैसा जम्मा गर्ने हो । सकिन्छ भने राजनीतिको आवरणमा दलाली जम्मा गर्ने र पदोन्नति गर्ने ।
यदि त्यो सकिंदैन भने कम्तीमा जीवन चलाउन राजनीतिबाट नै केही न केही जोहो गर्ने प्रवृत्ति छ । यसैकारण सबै दलका सबै नेता तथा कार्यकर्ताको स्वभाव एकैतिर बदलिएको छ । जुनसुकै विचारधारा मान्ने भनिएका दलहरू भएतापनि (धेरैले समाजवाद भन्छन्) उनीहरूको ‘व्यवहारधारा’ दलालवाद हुन पुगेको छ । सबै जना भ्रष्टाचार, कमिशनखोरी र तस्करीमा लिप्त हुने दलाल प्रवृत्ति हावी भएको छ ।
वास्तवमा दलाली नेपाली सामाजिक व्यवस्थाको प्रधान चरित्र बनिसकेको छ । त्यसकारण यो समस्या राजनीतिक दलसँग मात्रै जोडिएको समस्या चाहिं होइन । विश्व व्यवस्थासँगै जोडिएको विषय हो । लामो अभ्यासपछि यो सांस्कृतिक समस्या बनिसकेको छ ।
सामाजिक चिन्तन चेतना र नैतिकताको विकासतर्फ अनि आशावादी र उत्पादनमुखी नभएर स्खलित, परनिर्भर र रोगी बनेको छ । समाजमा चोरी, ठगी, तस्करी, व्यभिचार जस्ता कुरा नियमित बनेका छन् । जताततै विश्वासको संकट छ । जसका कारण नयाँ कुराको थालनी गर्न पनि हम्मे पर्ने अवस्था छ ।
समाजका अधिकांश संस्था दलालहरूकै सिन्डिकेटको नियन्त्रणमा चलेका छन् । सबैजसो सार्वजनिक संस्था, व्यापार–व्यवसायदेखि सांस्कृतिक संस्थाहरूमा पनि यही सिन्डिकेटको प्रभाव छ । सामाजिक उद्देश्य धनी बन्ने भएपछि धनको आर्जन नै नागरिकको सपना बनेको छ ।
यसैबीच शासनमा दलतन्त्रको प्रभाव कम र दलालको प्रभाव बढ्दै गएको छ । यसले दलतन्त्रबाट राज्य दलालतन्त्रमा प्रवेश गरेको संकेत गर्दछ । यसको समाधानका लागि पूँजीवादले थोपरेका नैतिकता, मूल्य र आदर्शमाथि नै पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।
(सापकोटा नागरिक अभियन्ता हुन् ।)
प्रतिक्रिया 4