News Summary
Generated by OK AI. Editorially reviewed.- वायु प्रदूषणले गर्भावस्था र बच्चाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने अनुसन्धानले देखाएको छ।
- बेलायत र बेल्जियमका वैज्ञानिकहरूले ब्ल्याक कार्बन कणहरूले भ्रूणको रक्तसञ्चार प्रणालीमा प्रवेश गर्न सक्ने प्रमाण फेला पारे।
- गर्भवती महिलाहरू र बच्चाहरूलाई प्रदूषणले गर्भपतन, समयपूर्व जन्म र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने खतरा रहेको विशेषज्ञहरूले बताए।
वायु प्रदूषण, विशेष गरी सहरी क्षेत्रहरूमा, स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको छ । काठमाडौं जस्ता शहरमा प्रदूषणको मात्रा बढ्दै जाँदा, यसले गर्भवती महिलाहरू र उनीहरूको गर्भमा रहेका बच्चाको स्वास्थ्यमा पार्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ । विभिन्न अनुसन्धानहरूले वायु प्रदूषणले गर्भावस्था र बच्चाको विकासमा गम्भीर असर पार्ने देखाएका छन् ।
बेलायतको एबरडीन विश्वविद्यालय र बेल्जियमको ह्यासेल्ट विश्वविद्यालयका वैज्ञानिकहरूले गर्भावस्थाको समयमा वायु प्रदूषणमा पाइने ब्ल्याक कार्बन कणहरूले साललाई पार गरेर भ्रूणको रक्तसञ्चार प्रणालीमा प्रवेश गर्न सक्ने प्रमाण फेला पारेका छन् । यो जानकारी द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलमा प्रकाशित गरिएको छ ।
जर्नलमा उल्लेख गरिएको अनुसन्धानका अनुसार, गर्भावस्थाको पहिलो र दोस्रो त्रैमासिकमा जब ब्ल्याक कार्बन भ्रूणको रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छ, यसले भ्रूणको फोक्सो, मस्तिष्क, प्रजनन क्षमता आदिलाई पनि असर गर्न सक्छ ।
एबरडीन विश्वविद्यालयका प्रोफेसर पॉल फाउलरका अनुसार, यसभन्दा पनि चिन्ताजनक कुरा भने यी ब्ल्याक कार्बन कणहरू विकासशील मानव मस्तिष्कमा पनि प्रवेश गर्छन्, जुन खतरनाक हुन्छ ।
वायु प्रदूषणमा विभिन्न रासायनिक पदार्थहरू, ग्यासहरू र कणहरू जस्तै पिएम २.५ समावेश हुन्छन् । यी प्रदूषकहरू फोक्सो हुँदै रगतमा प्रवेश गर्छन् र प्रजनन प्रणालीमा असर पुर्याउँछन् ।
अनुसन्धानहरूले देखाएका छन् कि, यी प्रदूषकहरूले हर्मोनल सन्तुलनमा गडबडी ल्याउँछ, जसले गर्भावस्थामा विभिन्न जटिलताहरू निम्त्याउने छाती रोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी बताउँछन्।
प्रदूषणका स्रोत र जोखिमहरू
वायु प्रदूषणमा विभिन्न रासायनिक पदार्थहरू, ग्यासहरू र कणहरू जस्तै पिएम २.५ समावेश हुने पंगेनीले बताए । ‘यी प्रदूषकहरू बाहिरी वातावरणमा मात्र नभएर घरभित्र पनि हुन्छन्’ पंगेनी भन्छन्, ‘सवारी साधनको धूवाँ, औद्योगिक उत्सर्जन र धूलोका कणहरू बाहिरी प्रदूषणको स्रोत हो भने दाउराको चुलो, धूम्रपान र रासायनिक पदार्थहरूको प्रयोग घरभित्रको प्रदूषण हो ।’
गर्भावस्थामा प्रदूषणको प्रभाव
प्रदूषणका कारकले प्रजनन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने हर्मोनहरूको सन्तुलन बिगार्छन् । यसले ओभुलेसन (डिम्ब) निष्कासनमा समस्या, महिनावारीमा गडबडी र गर्भपातको जोखिम बढाउने डा. पंगेनीले बताए ।
डा. पंगेनीका अनुसार पिएम २.५ (सुक्ष्म कणकाे व्यास अढाई माईक्रो मिटर वा कम) भएका सुक्ष्म कणहरू र अन्य रासायनिक प्रदूषकहरूले गर्भमा रहेको बच्चाको विकासमा बाधा पुर्याउँछ, जसले गर्भपातको सम्भावना बढाउँछ । प्रदूषणले समयअगावै बच्चा जन्मने जोखिम बढाउँछ, जसले बच्चाको स्वास्थ्यमा दीर्घकालीन असर पनि पार्न सक्छ ।
प्रदूषणको सम्पर्कमा आएका गर्भवती महिलाहरूबाट जन्मिने बच्चाहरूको तौल कम हुने र विकास सुस्त हुने सम्भावना पनि बढ्ने पंगेनीले बताए ।
‘प्रदूषणले बच्चाको अङ्गहरूको विकासमा असर पार्न सक्छ’ डा.पंगेनी भन्छन्, ‘जसले जन्मजात दोषहरू र दीर्घकालीन स्वास्थ्य समस्याहरू जस्तै मधुमेह र अन्य रोगहरू निम्त्याउन सक्छ ।’ वायु प्रदूषणले गर्भवती महिला र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा गम्भीर असर गर्ने बाल श्वासप्रश्वास तथा सघन रोग विशेषज्ञ डा. जगत जीवन घिमिरे बताउँछन् ।
उनका अनुसार प्रदूषण दुई प्रकारको हुन्छ, बाहिरी वायु प्रदूषण र घरभित्रको प्रदूषण । यी दुवै प्रकारको प्रदूषणमा कुन–कुन तत्त्व जस्तै, पिएम २.५, पिएम १०, नाइट्रोजन डाइअक्साइड आदिमा कति एक्सपोजर हुन्छ भन्ने कुराले स्वास्थ्यमा पार्ने प्रभाव निर्धारण गर्छ ।
समग्रमा, प्रदूषणले गर्भमा रहेको बच्चाको विकासमा बाधा पुर्याउँछ । यसले गर्भपतन, समयपूर्व जन्म ‘प्रिम्याच्योर डेलिभरी’ र जन्मजात स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने डा.घिमिरेको भनाइ छ ।
‘प्रदूषणको असर विशेष गरी बच्चाको फोक्सो र मस्तिष्कको विकासमा देखिन्छ । गर्भमा रहँदा प्रदूषणको सम्पर्कमा आएमा फोक्सोको विकासमा ढिलाइ हुने, फोक्सोको कार्यक्षमता कमजोर हुने र पछि गएर दम वा श्वासप्रश्वाससम्बन्धी रोगहरू देखिने जोखिम बढ्छ’ डा.घिमेरेले भने ।
यदि गर्भावस्थामा आमा वायु प्रदूषणको सम्पर्क आएमा मस्तिष्कको विकासमा पनि असर पर्ने उनको भनाइ छ । जसले टाउको सानो हुने, अटिज्मजस्ता न्यूरो सम्बन्धी समस्याहरू हुने र अन्य संज्ञानात्मक समस्याहरू निम्त्याउन सक्ने घिमिरेले बताए ।
उनी भन्छन् ‘यसबाहेक, प्रदूषणले समय पूर्व जन्म र गर्भमै बच्चाको मृत्यु को जोखिम पनि बढाउँछ । जन्मेपछि पनि यस्ता बच्चाहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या, एलर्जी र कमजोर स्वास्थ्य अवस्था देखिन सक्छ।’
घिमिरेका अनुसार विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरूले गरेको अनुसन्धानले पनि गर्भावस्थामा प्रदूषणको एक्सपोजरले बच्चाको फोक्सो र मस्तिष्कमा दीर्घकालीन असर गर्ने पुष्टि गरेको छ । यी असरहरू विशेष गरी फोक्सोको कार्यक्षमता र न्यूरोडेभलपमेन्टमा देखिएका छन् । यस्ता जोखिमहरू समयअगावै जन्म र गर्भपतनसँग पनि जोडिएका छन् ।
अन्य अनुसन्धानले के भन्छ ?
आगराको जातनगरीमा २१ महिलाहरूको नाभीको नमुना लिएर गरिएको एक अध्ययन अनुसार २१ मध्ये १० गर्भवती महिलाहरूको प्रसव समयभन्दा पहिले ‘प्री–टर्म डेलिभरी’ भएको थियो ।
यो अध्ययन डा.भीमराव अम्बेडकर विश्वविद्यालयको रसायन विज्ञान विभागका प्रमुख प्रोफेसर अजय तनेजाको निर्देशनमा डा. मधु आनंद र डा. अतर सिंहले गरेका थिए । अध्ययनले समयभन्दा पहिले जन्मिएका शिशुहरूको विकासमा नकारात्मक असर पर्ने देखाएको छ।
अध्ययनमा संलग्न चिकित्सकहरूका अनुसार प्रदूषणले गर्भवती महिलाहरू र उनीहरूका शिशुहरूलाई असर गरेको छ । २१ मध्ये १० लगभग ४७.६ प्रतिशत महिलाहरूको प्रसव ३७ हप्ता नपुग्दै भएको थियो । जसलाई प्री–टर्म शिशुको श्रेणीमा राखिन्छ ।
समयभन्दा पहिले प्रसव भएका महिलाहरूको नाभीमा ‘क्याडमियम’ र ‘लेड’को मात्रा उच्च पाइएको थियो । गर्भावस्थाको अन्तिम त्रैमासिक जुन शिशुको विकासका लागि महत्त्वपूर्ण समय हो, यो बेला वातावरणीय प्रदूषणका कारण शिशुको तौल कम भएको पाइयो ।
अध्ययन अनुसार आगराको वायु प्रदूषणले गर्भवती महिलाहरू र उनीहरूका शिशुहरूलाई गम्भीर असर पारिरहेको पुष्टि गरेको छ । क्याडमियम, लेड र पिएम २.५ जस्ता प्रदूषकहरूले समयभन्दा पहिले प्रशव र शिशुको तौल कम हुने जोखिम बढाइरहेका छन्, जसले शिशुको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव पार्छ ।
प्रतिक्रिया 4