+

अञ्जली र सबिनाले थिम्पु सिटी एफसीबाट भुटानी लिग खेल्ने

२०८२ असार  १८ गते १४:०५ २०८२ असार १८ गते १४:०५
अञ्जली र सबिनाले थिम्पु सिटी एफसीबाट भुटानी लिग खेल्ने

१८ असार, काठमाडौं । नेपाली महिला यु–२० राष्ट्रिय टोलीका दुई पूर्व खेलाडीहरू अञ्जली चन्द र सबिना चौधरी भुटानको चर्चित क्लब थिम्पु सिटी एफसीमा अनुबन्धित भएका छन्। उनीहरूले २०२५ को बीओबी भुटान महिला राष्ट्रिय लिगमा क्लबको प्रतिनिधित्व गर्नेछन्। दुबै खेलाडीको सम्झौता अक्टोबर २०२५ को अन्त्यसम्मका लागि हुनेछ।

थिम्पु सिटी एफसीले लिगका पहिलो दुई खेल जित्दै गोलअन्तरका आधारमा तालिकाको चौथो स्थानमा रहेको छ। क्लबले दुवै खेलाडीलाई आवागमन टिकट, आवास सुविधा र मासिक पारिश्रमिकको व्यवस्था गर्नेछ। काम गर्ने अनुमति, भिसालगायत सबै प्रक्रिया पूरा भइसकेको क्लबले जनाएको छ।

अञ्जली मिडफिल्डर तथा विङ्गररको भूमिकामा खेल्छिन् भने सबिना डिफेन्डरको रुपमा विशेषतः राइट-ब्याकमा खेल्ने गर्छिन्। थिम्पु सिटी एफसीका मालिक हिस्हे त्शेरिङको विशेष पहलमा नेपाली खेलाडीहरू अनुबन्ध गरिएका हुन्।

स्वतन्त्र फुटबल एजेन्ट नविन चित्रकारको समन्वयमा यो अवसर सम्भव भएको हो। चित्रकारले यो आफूले पहिलोपटक नेपाली महिला खेलाडी विदेश पठाउन पाएको अवसर भएको भन्दै दुवै खेलाडीको सफलताको कामना गरेका छन्।

अञ्जली चन्द सुदूरपश्चिम प्रदेशबाट सातौं राष्ट्रिय खेलकुद २०७३, प्रधानसेनापति कप २०१८, आठौं राष्ट्रिय खेलकुद २०७६, उप–प्रमुख कप महिला लिग २०७८, नवौं राष्ट्रिय खेलकुद २०७९ मा कप्तानी गर्दै तथा राष्ट्रिय महिला लिग २०२२ मा वालिङ नगरपालिकाबाट, २०२४ मा पहिलो अन्तरप्रदेशीय फुटबल प्रतियोगितामा सुदूरपश्चिमबाट फाइनलसम्म पुगिन् र सोही वर्षको महिला लिगमा बागमती युथ क्लबबाट खेलेकी थिइन्।

उनले अन्तर्राष्ट्रिय स्तरमा सन् २०१७ को साफ यु–१५ र सन् २०२३ को साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

सबिना चौधरीले यु–१४ र यु–२० राष्ट्रिय टिमबाट खेलिसकेकी छिन्। उनले सन् २०१६ मा एएफसी यु–१४ महिला च्याम्पियनसिप, सन् २०१७ मा साफ यु–१५ महिला च्याम्पियनसिप र सन् २०२३ मा साफ यु–२० महिला च्याम्पियनसिपमा भाग लिएकी थिइन्।

दुवै खेलाडीको यो यात्रा नेपाली महिला फुटबलको लागि उत्साहजनक मानिएको छ, जहाँ उनीहरूले भुटानी लिगमा आफ्नो क्षमता प्रदर्शन गर्दै नयाँ अनुभव बटुल्ने छन्।

अञ्जली चन्द सबिना चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय