
१८ असार, काठमाडौं । यसवर्ष डेंगु संक्रमणका कारण देशभरि ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) प्रक्षेपण गरेको छ ।
ईडीसीडीले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी गरेको दाबी गरेको छ । किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु संक्रमण उच्च हुने मौसम अझै बाँकी छ ।
‘डेंगुको संक्रमण साउनदेखि केस बढ्दै जाने, भदौ र असोजमा पिक पुग्ने र त्यसपछि कत्तिकदेखि घट्ने क्रम रहन्छ,’ डा. दाहालले भने, ‘डेंगु केस बढ्नेसक्ने कुरालाई नकार्न सक्दैनौं, अबको चार महिना उच्च जोखिममा रहनेछौं ।’
चार–पाँच वर्षदेखि लगातार रूपमा डेंगु केसहरू बढेको स्थितिमा डेंगु संक्रमणलाई शून्यमा पुर्याउन दीर्घकालीन तयारी आवश्यक भएको विज्ञ बताउँछन् । ‘अब एक–दुई वर्ष मात्रै होइन, अझ दशकौंसम्म डेंगुसँग लड्नुपर्छ । यसका लागि हामीले तयारी गरेनौं भने डेंगुलाई शून्य बनाउन सक्ने अवस्थामा पुग्दैनौं,’ डा. दाहाल भन्छन् ।
विश्व परिवेश र शहरीकरण कारण डेंगुलाई पूर्णत: घटाउन गाह्रो हुने उनी बताउँछन् । शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन हो ।
विज्ञका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन् स्थल हुन् ।
विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको डेंगु अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ ।
वास्तविक संख्याको दश गुणा बढी
गत पुसदेखि हालसम्म करिब एक हजार ६ सय डेंगु संक्रमित भएको ईडीसीडीले जनाएको छ ।
राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको हो ।
चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् ।
बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ ।
सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ ।
एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।
‘डेंगुका बिरामी लक्षण नदिखिने, स्वास्थ्य संस्थामा नजाने, परीक्षणमा नहुने वा रिपोर्ट पनि हुँदैन,’ डा. दाहालले स्पष्ट पार्दै भने, ‘सरकारी तथ्यांकभन्दा दशौं गुणा डेंगुका बिरामी समुदायमा छन् भन्ने बुझिन्छ ।’

धेरै बिरामीले लक्षण विहिन अवस्थामा समुदायमा अन्य व्यक्तिलाई संक्रमण सारिरहेको अवस्था रहेको डा. दाहालले बताए ।
उनका अनुसार डेंगु रोकथाम र नियन्त्रणका लागि अघिल्ला वर्षको सिकाइका आधारमा दुईवटा मुख्य रणनीतिमा काम भइरहेको छ ।
पहिलो : डेंगु संक्रमणलाई न्यून गर्ने प्रयास
दोस्रो : डेंगु हुने मृत्युलाई अधिकतम कम गर्ने प्रयास
विगतका वर्षझैं यो वर्ष पनि डेंगु महामारीको जोखिम नै रहेको महाशाखाका अधिकारी स्वीकार गर्छन् । ‘डेंगु प्रकोपका अनुभवले पनि दुई–दुई वर्षमा आउटब्रेक हुँदै आएका । तर, यसो भन्दै गर्दा यो वर्ष जोखिम नै छैन भनेर यकिन गर्न सकिँदैन’, डा. दाहाल भन्छन् ।
अहिलेको संख्या थोरै भएको भन्दैमा तयारी र निगरानी कम गर्न नहुने डा. दाहालको भनाइ छ ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।
२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।
२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झन्डै ३५ हजारभन्दा बढी संक्रमित भएका थिए ।
सरकारी निकाय बीच समवन्यको कमी, दक्ष जनशक्तिको अभाव, ‘खोज तथा नष्ट’ अभियान प्रभावकारी नहुनु र मुख्य रूपमा मन्त्रालयमा कमजोर नेतृत्व हुनुका कारण डेंगु आउटब्रेक भई हजारौं संक्रमित र सयौंको मृत्यु हुने गरेको छ ।
सरकारले डेंगु नियन्त्रणका लागि रणनीति र योजना बनाउन नसक्नुले डेंगुले प्रकोपको रूप लिँदै आएको विज्ञ बताउँछन् ।
डेंगुको ‘चेनब्रेक’ रोक्न लामखुट्टेको लार्भा भएका ठाउँहरू खोजेर नष्ट गर्नुबाहेक अरू उपाय छैन ।
जनस्वास्थ्यविद्का अनुसार डेंगु फैलिन नदिनका लागि राज्यका सबै स्रोत साधन परिचालन गरेर जनचेतना अभियान चलाउनु अनिवार्य नै हुन्छ ।
डेंगु फैलिसकेपछि मात्र ब्युँझिन्छ सरकार
सरकारले डेंगु रोकथाम र नियन्त्रणका लागि वार्षिक १० करोड विनियोजन गर्दै आएको छ । तर प्रत्येक वर्ष सही सदुपयोग भने हुन सकेको छैन ।
डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज तथा नष्ट अभियानका’ लागि कार्यविधि तयार गरेर स्थानीय पालिकासम्म पुर्याइएको ईडीसीडीका अधिकारी बताउँछन् । तर उक्त कार्यविधि पूर्ण कार्यावन्यन हुँदैन ।
प्रत्येक वर्ष ईडीसीडीका अधिकारीहरू एकै किसिमको बनिबनाउ जवाफ दिने गर्छन्, ‘डेंगु नियन्त्रणका लागि रणनीति बनाएर स्थानीय पालिकासम्म पुर्याइएको छ । केही स्वास्थ्यकर्मीलाई तालिम दिएका छौं ।’
डा. दाहालले यसवर्ष पनि डेंगु नियन्त्रण तथा रोकथामका लागि झन्डै १० करोड रुपैयाँ बजेट विनियोजन र १ हजार ७०० सयभन्दा स्वास्थ्यकर्मीलाई डेंगुको उपचारबारे अभिमुखीकरण गरेको बताए । डा. दाहालका अनुसार रणनीतिमा डेंगु कहाँ खोज्ने, कसरी खोज्ने, कसले खोज्ने, कुन–कुन ठाउँ खोज्ने लगायतका क्रियाकलापलाई समेटेर स्वास्थ्य मन्त्रालयबाट कार्यविधि निर्माण गरिएको छ ।
‘त्यो कार्यविधि सामान्य नागरिकले बुझ्न सक्ने गरेर पनि बनाएको छौं । सबै ठाउँमा पत्राचार गरेका छौं, डेंगुबाट बच्न जनचेतना फैलाइरहेका छौं,’ डा. दाहालले दाबी गर्दै भने ।
डेंगु समान्य झैं लाग्ने, तर कुनै पनि बेला प्रकोप रूप लिन सक्ने रोग हो । डेंगु लागेपछि सही उपचार गर्नु र प्रकोप रोक्न लामखुट्टेको लार्भा भएका ठाउँहरू खोजेर नष्ट गर्नु बाहेक अरू उपाय छैन । स्थानीय तहले पनि डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा यो अवस्था आएको हो ।
विज्ञका अनुसार डेंगु नियन्त्रणका लागि मनसुन सुरु हुनुभन्दा अगाडि नै लार्भा खोज तथा नष्ट अभियान’ तीव्र रुपमा सञ्चालन गर्नुपर्छ ।
तर, अहिलेसम्मको अनुभवले डेंगु फैलिसकेपछि मात्रै ‘लार्भा खोज तथा नष्ट अभियान’ सुरू हुन्छ । त्यही पनि प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन । स्वास्थ्य मन्त्रालयले नै ‘कमान्डिङ’ भूमिका निर्वाह नगर्दा डेंगुले प्रत्येक वर्ष फैलिने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीको भनाइ छ ।
‘मनसुन सुरु हुनासाथ खोज तथा नष्ट अभियानलाई व्यापक बनाउनुपर्ने हुन्छ । तर यस समयमा मन्त्रालयमा ‘कमान्डिङ’ भूमिका रहेका कर्मचारी कानमा तेल होलेर बस्छन्,’ डा. मरासिनी भन्छन्, ‘डेंगु फैलिन सुरु गरेपछि मात्रै सरकार झारा टार्न काम गरेजस्तो गर्छ ।’
प्रत्येक वर्ष नियन्त्रण तथा रोकथामका लागि केन्द्रदेखि स्थानीय सरकार मस्त निद्रा रहने र एकले अर्कोलाई दोष लगाएर बस्नमा मात्रै केन्द्रित हुँदा डेंगुले महामारीको रूप लिने गरेको जनस्वास्थ्यविद् बताउँछन् ।
फरक सेरोटाइपले बिरामीलाई जटिलता र मृत्युको जोखिममा
डा. दाहालले डेंगु रोकथाम र नियन्त्रण स्वास्थ्य क्षेत्रको मात्र प्रयासले सम्भव नभएको बुझाइ सहित बहुनिकाय सहकार्यको आवश्यकता रहेको बताए ।
‘यसमा स्वास्थ्यभन्दा बाहेकका सबै सरकारी निकायहरू पनि जोडिनुपर्ने हुन्छ । साथै संघ–संस्था, सामाजिक उत्तरदायित्व बोकेका विभिन्न निकाय र स्वयम् नागरिक पनि जोडिनुपर्छ,’ डा. दाहाल भन्छन् ।
डेंगुको बहुवर्षीय, बहुनिकाय रणनीति तर्जुमा गर्ने काम भइरहेको डा. दाहालले बताए । यो रणनीतिले विभिन्न क्षेत्रका सरोकारवालालाई एकसाथ जोडेर डेंगु नियन्त्रणमा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
केही वर्ष अघिसम्म तराई तथा धेरै गमी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो । पछिल्लो समय पहाड चढ्दै हिमालसम्मै पुगिसके ।
१२–१३ डिग्री तापक्रममा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ ।
विज्ञहरू डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ । डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ ।
२०७९ गरिएको सरकारी अध्ययनले डेंगुको फैलिनुमा ‘१,२ र ३ सेरोटाइप ३ को भूमिका रहेको देखाएको थियो । त्यसमध्ये ३ सेरोटाइपको भूमिका बढी देखाएको छ । तर सरकारसँग कुन सेरोटाइपले कुन ठाँउमा डेंगु फैलाइरहेको भन्ने एकिन तथ्यांक छैन ।
गत वर्ष इन्टोमोलोजिकल प्रयोगशाला स्थापना भएसँगै देशभरका प्रदेशबाट डेंगुको तथ्यांक संकलन गर्न सुरुवात भएको डा. दाहालले जानकारी दिए । ‘सबै प्रदेशबाट डेंगुको तथ्यांक उपलब्ध भइरहेको छ । यसले लामखुट्टेको अध्ययन र अनुसन्धानमा ठूलो सहयोग पुर्याउने छ,’ डा. दाहालले भने, ‘सेरोटाइपको जानकारीले उपचार प्रणालीमा सहयोग पुर्याउने छ ।’
एक प्रकारको विषाणुबाट (सेरोटाइप) डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुने अध्ययनले देखाएका छन् ।
विज्ञका अनुसार फरक सेरोटाइप सर्कुलेसन हुँदा डेंगुका अधिक गम्भीर बिरामी हुन्छन् । पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गरेकोमा अर्को पटक पुन: त्यही सेरोटाइपले संक्रमण गर्दैन । तर दोस्रो पटक–फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।
यस्तो विषाणुले सारेको डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक प्रभावले शरीरभर रक्तस्राव हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे बताउँछन् ।
‘कुनै एक सेरोटाइपले संक्रमण भएमा जीवनभर अर्को पटक त्यही सेरोटाइपले संक्रमण गराउँदैन । तर अन्य सेरोटाइपले संक्रमण गर्दा धेरै कडा साथै मृत्यु हुनसक्ने सम्भावना देखाएको छ,’ डा. चालिसे भन्छन्, ‘विगतका वर्षमा जटिलता हुने बिरामी पटक–पटक संक्रमित भएका पाइएका थिए ।’
डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ । ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ ।
बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ । जनस्वास्थ्यविद् आगामी तीन महिनामा डेंगु संक्रमणको भयावह हुनेसक्ने आंकलनसँगै समुदायस्तरमा लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र पार्नुपर्ने बताउँछन् ।

जलवायु परिवर्तनले हिमालमा पुग्यो डेंगु
दुई दशकअघिसम्म विरलै मात्र पाइने लामखुट्टे अहिले काठमाडौं उपत्यकादेखि हिमाली जिल्लासम्म सक्रिय देखिन थालेका छन् ।
पहिले तराईमा मात्र सीमित भनिएका मलेरिया, डेंगु, कालाज्वर, स्क्रब टाइफसजस्ता किटजन्य रोगहरू अहिले पहाड हुँदै हिमाल चढ्न थालेका छन् । यो परिवर्तनले नेपालको जनस्वास्थ्य प्रणालीमा नयाँ चुनौती थपिएको स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
सरकारी तथ्यांक अनुसार हरेक वर्ष वर्षायाम लागेसँगै डेंगु, मलेरिया, स्क्रब टाइफस, कालाज्वरजस्ता किटजन्य रोगको संक्रमण दर उच्च हुँदै गएको छ । पहिले तराईमै सीमित रहेका यस्ता रोगहरू अहिले काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा समेत देखिन थालेका छन् ।
नेपाल सरकारले हालसम्म किटजन्य रोग नियन्त्रणका कार्यक्रम मुख्यत: तराई क्षेत्रमा केन्द्रित राख्दै आएको छ । तर, अब उच्च भू–भागमा समेत रोगको जोखिम बढेकाले रणनीति पुनरावलोकन आवश्यक देखिएको विज्ञहरू बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा. शरद वन्तका अनुसार ५ हजार फिटभन्दा माथिल्लो भू–भागलाई पहिले डेंगु रहित क्षेत्र मानिन्थ्यो । तर, अहिले त त्यस्ता स्थानमा पनि डेंगुका बिरामी भेटिन थालेका छन् ।
हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे, भुसुनाका कारण हुने किटजन्य रोग फैलिएका छन् । मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको छन् ।
पछिल्ला वर्ष ७७ जिल्लामा डेंगु संक्रमित भेटिसकेका छन् ।
‘यो जलवायु परिवर्तनको प्रत्यक्ष असर हो,’ डा. वन्त भन्छन्, चिसो स्थानहरूमा तापक्रम बढेपछि लामखुट्टे, भुसुनाले सजिलै बाँच्ने वातावरण बन्यो । त्यसैले रोग फैलन थालेका छन् ।’
पहाड तथा हिमालका जिल्लामा तापक्रम वृद्धि अत्यधिक छ । ३०–४० वर्षको तथ्यांकलाई हेर्दा १.५ डिग्रीभन्दा बढी तापक्रम बढिरहेको कारणले माथिल्लो क्षेत्रमा पनि लामखुट्टे अनुकूल वातावरणमा हुर्किरहेको छ । नेपालको तापमान सन् १९६८ देखि १९९० को दाँजोमा सन् २०३० मा १.४ डिग्री सेल्सियस, सन् २०६० मा २.८ डिग्री सेल्सियस र सन् २०९० मा ४.७ डिग्री सेल्सियसका दरले वृद्धि हुने वैज्ञानिकको अनुमान छ ।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार वर्तमानमा अपनाइँदै आएको तराई केन्द्रित नीतिमा तत्काल परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।
‘हिमाली र पहाडी जिल्लाहरूमा रोग नियन्त्रण कार्यक्रमहरू नभएकाले समस्या देखा परेको छ,’ डा. मरासिनी भन्छन्, ‘ किटजन्य रोगहरूमा भइरहेका परिवर्तनका आधारमा जनस्वास्थ्यका कार्यक्रम र रणनीतिमा सुधार गर्नुपर्छ ।’
जलवायु र किटाणुमा भएका परिवर्तनलाई रोक्न सकिंदैन । यसकारण सरकारले जनस्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी रूपमा राष्ट्रिय स्तरमा कार्यान्वयन गर्नुपर्छ । विज्ञका अनुसार सरकारको व्यवस्थापनमा कमजोरीका कारणले यस्ता समस्याहरू उत्पन्न भएका हुन् ।

‘व्यवस्थापनको नेतृत्व क्षमता र प्रतिबद्धता भएमा यी समस्याहरूको समाधान गर्न सकिन्छ,’ डा. मरासिनी भन्छन्, ‘तर दुर्भाग्यवश, हामीले विगतका घटनाहरूबाट पाठ सिकेको देखिँदैन ।’ जनस्वास्थ्यविद् डा. शरद वन्त किटजन्य रोगका सम्बन्धमा तथ्यहरू स्थापित भइसकेकाले नयाँ वैज्ञानिक खोज र अनुसन्धानमा समय खर्च गरिराख्नु नपर्ने जिकिर गर्छन् ।
‘अहिले हाम्रो लागि व्यवस्थापनको मात्रै चुनौती छ । यी रोगका लागि नयाँ अनुसन्धान गरेर तथ्य स्थापित गर्नु अहिलेको आवश्यकता होइन,’ डा. वन्त भन्छन्, ‘स्थापित भएका कुराहरूको कार्यान्वयन गर्दा अहिलेका समस्याहरू समाधान गर्न सकिन्छ ।’
‘सही योजना बनाएर काम गर्दा डेंगुको ठूलो क्षति भोग्नुपदैन,’ डा. मरासनी भन्छन्, ‘वर्षासँगै डेंगुको प्रकोप हराएर जान्छ भन्ने गलत बुझाइ र लापरबाहीले गर्दा प्रत्येक वर्ष डेंगु फैलिरहेको छ ।’
प्रतिक्रिया 4