+

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

२०८२ असार  १९ गते ९:३० २०८२ असार १९ गते ९:३०

सन्तान जन्माउन ढिलो हुँदा वा अत्यन्त कम हुँदा गर्भ बस्न र बसेमा पनि खेर जाने जस्ता जोखिम हुनसक्छ ।

Shares
गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले २० देखि ३५ वर्षको उमेरलाई सन्तान जन्माउन उपयुक्त बताएको छ।
  • गर्भधारण र सफलताका लागि उमेर, हर्मोन, र जीवनशैली महत्वपूर्ण छन्।
  • ३५ वर्षपछि गर्भधारण र सन्तानको स्वास्थ्य जोखिम बढ्ने सम्भावना हुन्छ।

‘बच्चा खेर गयो’, ‘बच्चा बसेन’, ‘संग्लो भएन’ — यस्ता वाक्य सुन्नु आजभोलि सामान्यजस्तै भइसकेको छ । गर्भ रहनु र त्यो सफलतापूर्वक पूर्ण अवधिसम्म पुग्नु भनेको सजिलो प्रक्रिया भने होइन ।

गर्भ नबस्नुलाई मात्र समस्या मान्ने चलन भए पनि, गर्भ बसेपछि पनि त्यसलाई यथावत राख्न सक्ने शरीरको क्षमता र उमेरले ठुलो महत्व राख्छ । सन्तान जन्माउन ढिलो हुँदा वा अत्यन्त कम हुँदा गर्भ बस्न र बसेमा पनि खेर जाने जस्ता जोखिम हुनसक्छ ।

त्यसैले, सन्तान उपयुक्त उमेरमै जन्माउनुपर्छ । यसो भनिरहँदा तपाई सोच्नुहोला, बच्चा जन्माउने सहि उमेर कुन हो ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) भन्छ, ‘महिलाको लागि सन्तान जमाउने उपयुक्त उमेर २० देखि ३५ वर्षसम्मको अवधिलाई मानिएको छ ।’

यो समयावधिमा महिलाको शरीरमा हुने हर्मोनल गतिविधि, अण्डाशयको क्षमता, अण्डाको गुणस्तर आदिले गर्भ रहन र त्यसलाई स्वस्थ रूपमा कायम राख्न सबैभन्दा अनुकूल अवस्था सिर्जना गर्छ ।

पुरुषको हकमा पनि उमेरसँगै शुक्राणुको गुणस्तरमा परिवर्तन आउने हुँदा उनीहरूका लागि २० देखि ४० वर्षको उमेरलाई प्रजननका लागि उत्तम मानिन्छ ।

उपयुक्त समयमै सन्तान योजना किन आवश्यक ?

सन्तान जन्माउने प्रक्रिया केवल गर्भ बसाउने मात्र नभई त्यसलाई सुरक्षित रूपमा पूर्ण अवधिसम्म धान्न सक्नु र स्वस्थ शिशु जन्माउने क्षमता पनि हो । शरीरको जैविक घडी सधैं हाम्रो अनुकूल हुँदैन ।

महिलाको उमेर र प्रजनन क्षमताको सम्बन्ध

महिलाको प्रजनन प्रणाली हर्मोन प्रोजेस्टोरोन र एस्ट्रोजेनबाट नियन्त्रित हुन्छ । १३ देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था भनिन्छ । यो समयमा अझै शारीरिक तथा हर्मोनल प्रणाली पूर्णरूपमा परिपक्व भएको हुँदैन ।

यो अवधिमा गर्भ रहनुले गर्भवतीलाई मात्र नभई गर्भमा रहेको शिशुलाई पनि विभिन्न जोखिम पुर्‍याउँछ । यो अवस्थामा पाठेघर अझै स्थिर नभएकाले महिनावारी चक्र अनियमित हुन सक्छ, जसले गर्भाधानमा समस्या ल्याउने सम्भावना रहन्छ ।

शरीर पनि परिपक्व भइसकेको छैन । साथै, गर्भ रहेको खण्डमा पनि बच्चा अस्वस्थ हुने, समयअघि नै जन्मिने वा जन्मेपछि विभिन्न स्वास्थ्य समस्या देखापर्ने सम्भावना उच्च रहन्छ ।

त्योसँगै महत्वपूर्ण अर्को पक्ष हो, गुणस्तरयुक्त अण्डा  । गर्भ रहन र जटिलता आउन नदिन स्वस्थ अण्डा निषेचन हुन जरुरी छ ।  प्रकृतिले छोरी बच्चा जन्मिदैै निश्चित अण्डा दिएको हुन्छ ।

ती अण्डाको गुणस्तर र संख्या उमेरसँगै घट्दै जान्छ । यो प्राकृतिक प्रक्रिया हो । किशोरावस्थामा पहिलो महिनावारी भएपिच्छे उमेर बढ्दै जाँदा महिनावारी चक्रपिच्छे स्वस्थ अण्डा खर्चिंदै जान्छ ।

उमेर बढ्दै गएपछि राम्रो अण्डा खेर गइसक्छ । र खराब अण्डा मात्र रहन्छ ।

२० देखि ३५ वर्षको उमेर उपयुक्त

गर्भधारणलाई सहज, सुरक्षित र सफल बनाउन उमेर एक निर्णायक पक्ष हो । महिलाको हकमा २० देखि ३५ वर्षको उमेर र पुरुषको हकमा २० देखि ४० वर्षको उमेरलाई प्रजननको लागि आदर्श मानिन्छ ।

यस अवधिमा हर्मोन, महिलाको अण्डा र पुरुषको शुक्राणुको गुणस्तर, शारीरिक क्षमता, र मानसिक स्थिरता सबै प्रजननका लागि अनुकूल हुन्छन्। यदि सम्भव छ भने, जीवनको यही चरणमा सन्तानको योजना बनाउने प्रयास गर्नु उपयुक्त हुन्छ ।

यो उमेरलाई उपयुक्त मानिने प्रमुख कारण भनेको सो अवधिमा महिलाको अण्डाशयबाट निस्कने अण्डाको गुणस्तर उत्कृष्ट हुनु हो । बच्चा स्वस्थ हुन स्वस्थ र गुणस्तरीय अण्डा चाहिन्छ ।

जुन महिनामा एकपटक निष्कासन हुन्छ । त्यो अण्डामा डिम्ब निषेचन भएमा स्वस्थ बच्चा जन्मिन्छ । अनि त्यो स्वस्थ र गुणस्तरीय अण्डा हुने समय भनेको २० देखि ३५ वर्षको उमेर हो ।

त्यसैले, यही उमेरमा सन्तान जन्माउन सुझाव दिइन्छ ।

ढिला गर्दा गर्भ नबस्ने मात्र समस्या होइन, बस्यो भने पनि त्यसलाई पूर्ण अवधिसम्म सुरक्षित राख्ने र स्वस्थ बच्चा जन्माउने चुनौती थपिन सक्छ । त्यसैले, जैविक घडीको महत्त्व बुझ्दै समयमै योजना बनाउनु सबैभन्दा बुद्धिमानीपूर्ण निर्णय बन्न सक्छ ।

३५ वर्ष पार गरे पछि के हुन्छ ?

 ३५ वर्ष पार गरेपछि अण्डाको परिपक्वता घट्दै जान्छ, र अण्डा निषेचन भए पनि क्रोमोजोम सम्बन्धी त्रुटिहरू देखिन सक्छन् । त्यस पछि त प्राकृतिक रुपमा बच्चा बस्न मात्र होइन, मुस्किलले बसेकोमा पनि स्वस्थ नहुने जोखिम हुन्छ ।

यस्तोमा स्वस्थ जन्मिने सम्भावना मात्र पाँच प्रतिशत र गर्भवती हुने सम्भावना २५ प्रतिशत रहन्छ । ४५ वर्षपछि ९५ प्रतिशत सन्तान असामान्य खालको सन्तान जन्मिने जोखिम हुन्छ ।

नतिजा, गर्भ बस्न कठिन मात्र होइन, सन्तान र आमामा जटिलता देखिने सम्भावना उत्तिकै बढ्छ । अण्डा कमजोर हुने मात्र होइन, ३८ वर्षपछिका आमामा मधुमेह र उच्च रक्तचाप हुने जोखिम पनि रहन्छ । मातृ मृत्यु दर पनि उमेरसँग सम्बन्धित रहेको पाइन्छ ।

पुरुषको उमेर र शुक्राणुको गुणस्तर

पुरुषको हकमा सन्तान राम्रो हुन शुक्राणुको संख्या र गुणस्तर राम्रो हुनुपर्छ । उनीहरुमा ४० वर्ष पार गरेपछि शुक्राणुको गुणस्तरमा उल्लेखनीय ह्रास आउँछ ।

शुक्राणुको मोटिलिटी (गति), संरचना (आकार) र डीएनएको गुणस्तर समयसँगै कमजोर हुँदै जान्छ ।

सामान्य रूपमा शुक्राणुको जीवन अवधि ४८ देखि ७२ घण्टा हुन्छ । यदि ती शुक्राणुहरू पर्याप्त गतिशील भएनन् भने, अण्डासँगको मेल समयमै नहुन सक्छ, जसले गर्भधारणमा कठिनाइ ल्याउँछ ।

त्यस्तै, डीएनए र्फ्याग्मेन्टेसन (टुक्रा टुक्रा हुने) बढे पछि गर्भ रहन कठिन हुन्छ वा रहेपछि पनि शिशुमा अटिजम, सिजोफ्रेनिया जस्ता न्युरोडेभलपमेन्टल डिसअर्डर देखिने सम्भावना बढ्छ ।

आधुनिक जीवनशैलीले प्रजनन् क्षमतामा असर

सन्तान प्राप्ति प्राकृतिक प्रक्रिया भए तापनि वर्तमान जीवनशैली, खानपान, मानसिक अवस्था र वातावरणीय प्रभावले यो प्रक्रिया जटिल बन्दै गएको छ ।

मानसिक तनाव

अत्यधिक तनावले प्रजनन क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ । मानसिक तनाव हुँदा शरीरमा कोर्टिसोल हार्मोनको मात्रा बढ्छ, जसले अन्य प्रजनन हार्मोनहरूको सन्तुलन विगार्छ ।

पुरुषमा कोर्टिसोलले टेस्टोस्टेरोन कम गर्न पुग्छ, जसले शुक्राणुको संख्या र गति दुवै घटाउँछ । महिलामा तनावले निषेचन प्रक्रिया, डिम्बको परिपक्वता र महिनावारी चक्रमा अनियमितता ल्याउँछ ।

अस्वस्थ खानपान

प्रशोधित खाना, ट्रान्स फ्याट, चिनीजन्य उत्पादनको अत्यधिक सेवनले शरीरमा अक्सिडेटिभ तनाव र सूजन बढाउँछ । यी प्रभावले डिम्ब र शुक्राणुको कोषिकामा क्षति पुर्‍याउँछ ।

भिटामिन डी, जिंक, सेलेनियम, फोलिक एसिड, र ओमेगा–३ फ्याटी एसिडको कमीले प्रजनन प्रणाली कमजोर बनाउँछ ।

निष्क्रिय जीवनशैली र मोटोपन

आधुनिक प्रविधियुक्त जीवनशैलीले मानिसहरूलाई लामो समयसम्म बस्न, थोरै हिँड्न, र थकाइ अनुभव नगर्ने बनाउन थालेको छ । यस्तो निष्क्रियता र साथमा मोटोपनले प्रजननमा प्रतिकूल असर पार्छ ।

मोटोपनले पुरुषमा ताप बढाउँछ, जसले शुक्राणुको उत्पादन र गुणस्तर घटाउँछ। महिलामा पिसीओडी जस्ता समस्या देखा पर्न सक्छ, जसले डिम्ब उत्पादनमा अवरोध ल्याउँछ ।

रासायनिक प्रदूषण र विषाक्त पदार्थ

हाम्रो वरिपरिका प्लास्टिक, सौन्दर्य सामग्री, घरेलु सरसफाइका सामान, र कृषि औषधिहरूमा पाइने बिस्फेनोल–ए, फ्थालेट्स, र अन्य विषाक्त पदार्थहरूले प्रजनन क्षमतामा गम्भीर असर पार्छन्। यी रसायनहरूले हार्मोन सन्तुलनमा खलल पुर्‍याउँछन् ।

धूम्रपान, रक्सी, र लागूपदार्थको सेवन

धूम्रपानले अक्सिडेटिभ तनाव बढाउँछ र शुक्राणु तथा डिम्बको कोषिकामा नोक्सानी पुर्‍याउँछ । यी तत्वमा हुने निकोटिन र टार जस्ता तत्वहरूले शुक्रकिटको गति घटाउँछन्।

रक्सीले कलेजोको कार्यमा असर पारेर हार्मोन सन्तुलन बिगार्छ । लागूपदार्थहरू (जस्तैः मारिजुआना)ले टेस्टोस्टेरोन घटाउँछ र महिलामा डिम्बाशयको कार्य कम गर्छ ।

निद्राको कमी र अनियमित जीवनशैली

निद्राको समयमा शरीरले मेलाटोनिन नामक हार्मोन उत्पादन गर्छ, जुन डिम्ब र शुक्रकिटको अक्सिडेटिभ सुरक्षा गर्न सहयोगी हुन्छ ।

अनियमित निद्रा, स्क्रिनको अत्यधिक प्रयोग र रातमा पर्याप्त विश्राम नहुनुले यो हार्मोन कम हुन्छ ।

प्रजनन् क्षमता सुधार्ने कसरी ?

गर्भधारण दुवैको जिम्मेवारी हो । महिलासँगै पुरुषले पनि आहार, व्यायाम, र बानीमा सुधार ल्याउनुपर्छ । सहकार्य र समझदारीले सफल परिणाम ल्याउँछ ।

—  हरियो सागसब्जी, फलफूल, नट्स, अण्डा, माछा, ओमेगा–३, जिंक, भिटामिन र फोलिक एसिडयुक्त खाना प्रजनन स्वास्थ्यमा लाभदायक हुन्छ ।

—  दुवैले मध्यम स्तरको व्यायाम (जस्तै हिँडडुल, योग) ले हर्मोनको सन्तुलन राख्छ र मोटोपन घटाउँछ, जसले गर्भधारणमा सहयोग पुर्‍याउँछ।

—  ध्यान, प्राणायाम, म्युजिक थेरापी, वा रमाइला गतिविधिहरूले मानसिक तनाव घटाउँछन्, जुन प्रजनन क्षमताको लागि आवश्यक छ ।

— दिनको कम्तीमा ७–८ घण्टा गहिरो निद्रा लिएर मेलाटोनिन हार्मोनलाई सन्तुलनमा राख्न सकिन्छ, जसले डिम्ब र शुक्रकिटलाई स्वस्थ्य राख्न मद्दत गर्छ ।

— धूम्रपान, रक्सी र लागूपदार्र्थहरूले शुक्रकिट र डिम्बको गुणस्तर बिगार्छन् र गर्भधारणको सम्भावना घटाउँछन् ।

—  प्रदूषण र रसायनबाट निस्कने विषाक्त पदार्थहरूबाट टाढा रहनुहोस् ।

— धेरै दुब्लो वा धेरै मोटोपन दुवैले प्रजनन हार्मोनमा असर गर्छ । स्वस्थ तौल कायम राख्नु प्रजनन स्वास्थ्यका लागि आवश्यक छ।

— महिलाहरूले आफ्नो ओभुलेसन समय थाहा पाउने प्रयास गर्नुहोस् । ताकि उपयुक्त समयमा सम्बन्ध कायम गर्दा गर्भधारणको सम्भावना बढ्छ ।

— स्त्रीरोग विशेषज्ञ वा युरोलोजिस्टसँग समय–समयमा परामर्श लिएर प्रजनन स्वास्थ्यको मूल्यांकन गराउन सकिन्छ ।

गर्भधान प्रेग्नेन्सी
डा. दिजा खनाल
लेखक
डा. दिजा खनाल
प्रसूति तथा स्त्री रोग विशेषज्ञ

डा. खनाल हाल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत छिन् । प्रसूति रोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल नम्बर २०९८६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय