+
+
Shares
कलिलो मस्तिष्कमा सेलिब्रेशनको दबाब :

बालबालिकामा दबाब थप्दै अभिभावक

नतिजा भनेको अंकको उचाइ मात्र होइन। यो उमेर समूहका बालबालिकामा स्वाभाविक वृत्तिविकास भएको छ कि छैन? छैन भने अंकको सफलतालाई सर्वोच्च मानेर गरिएको सेलिब्रेशन अर्थहीन बन्न जान्छन्।

मानवी बानियाँ मानवी बानियाँ
२०८२ असार १९ गते ७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसईई २०८१ को नतिजा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा बधाई सन्देशहरू भरिएका छन्।
  • लेखले सफलताको अत्यधिक महत्व र त्यसले मनोबल र व्यवहारमा पर्ने प्रभावको समीक्षा गर्दछ।
  • अंकको मात्र होइन, व्यवहार र जीवन कौशलको विकास आवश्यक रहेको सुझाव दिन्छ।

एसईई २०८१ को नतिजा सार्वजनिक भयो। नतिजा सार्वजनिक भएसँगै सामाजिक सञ्जालका प्लेटफर्महरू फेसबुक, एक्स (पहिलेको ट्वीटर), इन्स्टाग्राम, टिकटक बधाईका सन्देशले भरिए। यो क्रम अहिले पनि चलिरहेको छ, केही कम अवश्य भएको छ।

छरछिमेकमा अब साता दिनसम्म यही विषयको चर्चा हुनेछ। एसईईमा आफ्ना छोराछोरीको सफलता सुनाएर अभिभावक थाकेका छैनन्। चिया-खाजा अड्डा, तरकारी बजार वा मानिसको जमघट हुने स्थानमा यस्तै दृश्य छन्। यो सबै देख्दा खुशी लाग्छ, छोराछोरीको सफलतामा आमाबाले यस्ता क्षणहरूको मूल्य जोगाएर राखेका छन्। तर मनमनै प्रश्न उठ्छ- के यो क्षणलाई यति धेरै महत्व दिएर सेलिब्रेट गर्नु आवश्यक छ? कतै यो सेलिब्रेशनले कलिलो मस्तिष्कमा अनावश्यक तर घातक बोझ त थप्दैन ?

छोटो सफलता, लामो जीवन

समाजको सिंगो हिस्साले एसईईको नतिजालाई जीवनकै सबैभन्दा ठूलो उपलब्धि जसरी प्रस्तुत गर्दैछ। यति सानो उमेरमा हामीले छोराछोरीलाई यति धेरै अपेक्षा, गर्व र तालीको घेराले घेर्छौं कि उनीहरू आफैंभित्र “अब त म हार्न मिल्दैन” भन्ने भ्रम उत्पन्न शुरू हुन्छ। जब जीवनले एसईईभन्दा धेरै गाह्रो परीक्षा लिन्छ, त्यतिबेला उनीहरूलाई त्यो घेरोले परीक्षा उत्तीर्ण हुन सघाउँछ कि अझ कमजोर बनाउँछ ? यतातर्फ खासै सोचविचार देखिंदैन।

लामो जीवनकालमा आउने समाजको परिवेशको परीक्षा, सम्बन्धको परीक्षा अहम् मात्र हुँदैनन्, कठिन पनि हुन्छन्। त्यतिबेलाको निर्णय क्षमता एसईईमा ल्याएको ए प्लसको भरमा मात्र निर्धारित हुँदैन। विद्यालय शिक्षाका लागि प्रवेश गरेपछि प्रत्येक वर्षका परीक्षामा आउने नतिजा जसरी नै यसलाई पनि लिनुपर्ने हो। किनभने, एसईई विद्यालय शिक्षाकै पनि अन्तिम परीक्षा होइन।

के आउँदा वर्षका परीक्षा र तिनका नतिजा आजको भन्दा कम महत्वका हुनेछन् र? पक्कै हुने छैनन्। अर्थात्, आगामी दिनमा हुने परीक्षामा पनि त्यति नै अंक प्राप्त हुन नसके यी बालबालिकाले त्यसलाई सहजताका साथ लिन सक्लान् ? सबै परीक्षाका नतिजालाई सहजै लिन सक्दा मात्र जीवनका कठिन परीक्षा पनि सहजसाथ पार गर्न सकिन्छ। होइन भने अहिलेको सेलिब्रेशन आत्मबल कमजोर बनाउने कडी बन्न पुग्छ।

एउटा सानो सफलतालाई अत्यन्त ठूलो बनाएर प्रस्तुत गर्दा भविष्यमा आउने सामान्य असफलतामा पनि उनीहरूमा “जीवन सकियो” भने जस्तो अनुभूति पैदा हुन सक्छ। त्यसले मनोबल झन्–झन् कमजोर बनाउँछ।

एसईईको नतिजालाई नै अन्तिम जस्तो ठानेर विजयी भावमा गरिएका सेलिब्रेशनको दबाबले उही उमेर समूहको ननग्रेडेड अर्को विद्यार्थीलाई जीवनदेखि निकै पर हारतिर हुत्याइरहेको हुन्छ।

अंकमा बलियो, व्यवहारमा कमजोर पुस्ता

कहिलेकाहीं लाग्छ- हामी एसईई उत्तीर्ण विद्यार्थीको “कागजी सफलता”मा उत्सव मनाइरहेका छौं, जबकि व्यावहारिक जीवनमा उनीहरू निकै कमजोर हुन्छन्। एसईईमा उत्कृष्ट नतिजा ल्याउने धेरै विद्यार्थी घरबाहिर सवाल–जवाफमा निकै कमजोर देखिन्छन्। अत्यन्त जरूरी संवाद गर्न समेत हिचकिचाउँछन्। घरका कोही बिरामी पर्दा तातोपानी तताएर खुवाउन समेत ध्यान पुग्दैन। व्यक्तिगत हेरचाहदेखि घरभित्रका सामान्य काम गर्न आउँदैन। समाजमा घुलमिल हुन वा किनमेल गर्न समेत अग्रसर हुँदैनन्। अधिकांश समय घरभित्र अझ बन्द कोठाभित्र रहने, परिवार र समाजसँग एक्लिंदै जाने हुँदा उनीहरूका लागि भावी दिन निकै चुनौतीपूर्ण हुने देखिन्छ।

त्यसैले अभिभावकहरूले बुझ्नुपर्छ, नतिजा भनेको अंकको उचाइ मात्र होइन। यो उमेर समूहका बालबालिकामा स्वाभाविक वृत्तिविकास भएको छ कि छैन? छैन भने अंकको सफलतालाई सर्वोच्च मानेर गरिएको सेलिब्रेशन अर्थहीन बन्न जान्छ।

अंकले दिएको ऐठन

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार यसपटक ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशतले बढी हो।

बोर्डका अनुसार जीपीए १.६० देखि २ – ८ जना, जीपीए २ देखि २.४० – ४ हजार १२६ जना, जीपीए २.४० देखि २.८० – ४८ हजार ४७९ जना, जीपीए २.८० देखि ३.२०– ८९ हजार १२४ जना, जीपीए ३.२० देखि ३.६० – ८१ हजार ३८५ जना, जीपीए ३.६० देखि ४ – ४८ हजार १७७ जना छन्। परीक्षामा कुल ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएकोमा २ लाख ७१ हजार २९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका छन्, बाँकी तत्कालका लागि अयोग्य। अर्थात्, १ लाख ६७ हजार ५९७ विद्यार्थी ननग्रेडेड।

अंकको उचाइको अनावश्यक खुशी मनाइरहँदा हामीले यो भुलिरहेका छौं कि यति ठूलो संख्याका विद्यार्थी र उनको परिवारमा त्यसको प्रत्यक्ष असर परिरहेको छ। फलानोका छोराछोरीले यति अंक ल्याएर इज्जत बढाए, तैंले हाम्रो नाक काटिस्, समाजमा अनुहार देखाउन नसक्ने बनाइस् भन्दै अभिभावकले ती विद्यार्थीमाथि झम्टिंदा उनीहरूको मनोविज्ञान कस्तो बन्ला ? उनीहरूको आत्मबलमा कस्तो असर पर्ला ? एसईईको नतिजालाई नै अन्तिम नतिजा जस्तो ठानेर विजयी भावमा गरिएका सेलिब्रेशनको दबाबले उही उमेर समूहको ननग्रेडेड अर्को विद्यार्थीलाई जीवनदेखि निकै पर हारतिर हुत्याइरहेको हुन्छ। जसका कारण अनेक दुर्घटना हुन पुग्छन्।

नेपालमा हरेक वर्ष झन्डै ६ हजार मानिसले आत्महत्या गर्छन्। त्यो भनेको दैनिक १६ जना। यसमा एक ठूलो हिस्सा युवाहरूको छ — जसमा विद्यार्थी, कामको दबाबमा रहेका युवा, र घरबाट टाढा बस्न बाध्य भएकाहरू रहेको नेपाल प्रहरीको तथ्याङ्क छ। आफ्ना भावना व्यक्त गर्न नसक्नु, असफल हुन्छु भन्ने डर पैदा हुनु, प्रतिस्पर्धी शिक्षा प्रणालीका कारण अर्कोभन्दा कमजोर देखिनु — यी सबै कारण हुन्, जसले साना उमेरका बालबालिकामाथि जीवनप्रतिको मोह नै भंग गरिदिन्छ।

‘रोएपछि कमजोर भइन्छ’, ‘हारे लज्जित हुनुपर्छ’, ‘अरूभन्दा अब्बल हुनुपर्छ र पहिलो नै हुनुपर्छ’ भन्ने दबाब हामी सानो उमेरदेखि नै छोराछोरीलाई दिइरहेका हुन्छौं। उनीहरूमा त्यसको गहिरो छाप पर्छ। जब जीवनले पहिलो पल्ट ठेस दिन्छ, उनीहरू त्यस्तो चोट सामना गर्न तयार नै हुँदैनन् अनि मानसिक रोगी बन्न पुग्छन्, कति आत्महत्याको बाटो समात्छन्।

स्वीकारोक्तिको शिक्षा

नेपाली समाजमा झांगिंदै गएको यो समस्याबाट मुक्तिको उपाय नभएको होइन। त्यसका लागि हामीले हाम्रो शिक्षालाई अंक–केन्द्रित भन्दा पनि व्यवहार–केन्द्रित बनाउनुपर्छ। सफलताको उत्सव मनाउँदै गर्दा जीवनको यात्रामा आउने असफलताका सम्भावनाबारे पनि जानकार गराउनुपर्छ। असफलतालाई स्वीकार गर्न सक्ने क्षमता विकासका निम्ति पनि भूमिका खेल्नुपर्दछ।

हामीले बालबालिकालाई सिकाउनुपर्ने सबैभन्दा ठूलो पाठ भनेको- “जीवनमा सफलता मात्र होइन, असफलता पनि स्वाभाविक हो।” यो सोच बन्यो भने, उनीहरू कहिल्यै आत्मघाती निर्णयमा पुग्न पाउँदैनन्। उनीहरू नतिजाको डरले होइन, सिक्ने चाहनाले अघि बढ्छन्।

एसईईको प्रमाणपत्रले शिक्षा प्रमाणित गर्ला तर जीवनका मूल्य, आत्मबल र व्यावहारिकता त शिक्षाले मात्र होइन— समाज, परिवार र सोचले सिकाउँछ। अंकले किताबको नम्बर देखाउँछ तर व्यवहारले जीवनमा स्थान बनाउन मद्दत गर्छ। एसईई पास गरेको खुशी त मनाऔं, साथसाथै अब आउने जिन्दगीका उतारचढावका लागि पनि तयार बनाऔं — किनभने यो त सुरुवात मात्र हो।

(त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत बानियाँ नेपाल टेलिभिजनमा कार्यरत छिन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?