+
+
Shares
विचार :

केन्द्रीय बैठकबाट कांग्रेस के लिएर निस्कने ?

लोकतन्त्रको हिमायती कांग्रेसले अरु दलहरूसँग होइन, आफ्नै लोकतान्त्रिक मूल्य–मान्यता, सिद्धान्त, सामाजिक र राजनीतिक वैधतालाई नै मानक मानेर आफैंसँग प्रतिस्पर्धा गर्न जरुरी छ ।

भुवन न्यौपाने भुवन न्यौपाने
२०८२ असार १९ गते १८:२२

मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । समयको अन्तराल र संवेदनशील परिवेशमा बसिरहेको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । सरकारको समेत प्रमुख घटक रहेको पार्टीको बैठकले कस्ता निर्णय गर्ला ? आम मानिसमा राजनीति प्रति बढ्दो निराशालाई आशामा परिणत गर्न सक्ला या नसक्ला ? भन्ने जिज्ञासा बढ्दो छ । समसामयिक विषय र प्रश्नहरूको उठानबाट यो आलेखलाई सुरुवात गर्न चाहन्छु ।

बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले कांग्रेसले नेतृत्व गरेका तथा सहभागी भएका संघ, प्रदेश र स्थानीय सरकारले खेल्नु पर्ने भूमिकामाथि नै केन्द्रित हुँदै धारणा राखिरहेका छन् । यस्तै, पार्टीले आगामी दिनमा लिनु पर्ने कार्यनीति, योजना र कार्यक्रमहरूका बारेमा पनि विचारोत्तेजक बहस चलिरहेको सुनिन्छ ।

त्यसोतः कांग्रेसभित्र वाक स्वतन्त्रता निकै समृद्ध छ । यस कारण पनि कार्यकर्तादेखि नेतासम्मले पार्टी नेतृत्व र पार्टीबाट सरकारमा सहभागी भएकाहरूको खुलेर चर्को आलोचना गर्ने गरेका छन् । सोहीअनुरुप पछिल्ला कार्यहरूका बारेमा पेचिला प्रश्न, जिज्ञासा र आलोचनाहरू पनि उब्जिएका छन् ।

पछिल्लो समय कांग्रेसभित्र अध्ययन, अनुशासन र अनुगमन फितलो हुँदै गएको छ । कांग्रेसले कस्ता युवा, कस्तो समाज र कस्तो देश निर्माण गर्न खोजेको हो ? यो प्रश्नको उत्तर खोज्न कांग्रेसले सकेको छैन । यो उत्तर खोज्ने प्रयासमा रहेका कतिपय नेताका प्रयास पनि कारगर देखिएका छैनन् ।

मुलुकले राजनीतिक, सामाजिक, आर्थिक र कूटनीतिक रूपमा निकै संवेदनशील समयको सामना गरिरहेको सन्दर्भमा कांग्रेसको भूमिका अपेक्षित नै हो । सायद त्यसैले होला, सानेपाको केन्द्रीय कार्यालयभित्र जारी बैठकको ध्वनि देशैभर सुनिएको छ ।

कांग्रेसबाट युवाको अपेक्षा

यो स्पष्ट छ कि, आजको पुस्ता गलत प्रवृत्तिलाई हेरेर मौन समर्थन गरेर बस्दैन । बरु, आलोचनात्मक विवेचना, सिर्जनशील र नवीन कार्यशैलीको अपेक्षा गर्दछ । तर, नेपाली कांग्रेसभित्र युवाको त्यो गतिशीलता देखिएको छैन । उल्टो कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका समाचारले सञ्चारमाध्यम भरिन्छन् ।

प्राध्यापकमाथि आक्रमण गरिएका र त्रिविका जिम्मेवार पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएका समाचार कांग्रेसका निम्ति मात्र होइन, कसैका निम्ति पनि सुखद छैन । बदलिँदो समय युवामा देखिएको वितृष्णाका बिच शिक्षाको धरोहर क्षेत्रमा भएका आक्रमणका घटना कांग्रेसको भातृ संगठनलाई शोभनीय पटक्कै होइनन् ।

अर्को भातृ संगठन नेपाल तरुण दलले आफ्नो भवन निर्माणका लागि राज्यकोषको जसरी दुरुपयोग गर्ने प्रयास गर्‍यो, त्यसले असल कांग्रेसजनलाई गिज्याएको छ । कांग्रेसका यी दुवै भातृ संगठनबाटै भोलकिा दिनमा पार्टी नेतृत्व जन्मिने हो ।

यी संगठन शिक्षित युवाहरूको बाहुल्यता भएका संगठन हुन् । तर, नवीन पुस्ताका युवामा किन चेतनाको खडेरी लाग्यो । आम युवा तथा विद्यार्थीहरूले यी संगठनको आवश्यकता, औचित्य र प्रभावकारीताका बारेमा अनेक प्रश्नहरू तेर्साइरहेका बेला यस्ता गतिविधिहरूका जिम्मेवार को हुन् ?

घर–घरमा पुगेर गुण्डागर्दी गरेर, मुडेबल, कलेज तोडफोड गरेर अब संगठन निर्माण हुँदैन । विवाह, भोज भतेर, मर्दापर्दा सहभागी भएर मात्र पनि होइन । यी त सामाजिक र पारिवारिक विषय हुन् । त्यस्ता गतिविधि राजनीतिकर्मीका रूपमा होइन, सामान्य व्यक्तिका रूपमा गर्ने हो ।

यो स्पष्ट छ कि, आजको पुस्ता गलत प्रवृत्तिलाई हेरेर मौन समर्थन गरेर बस्दैन । बरु, आलोचनात्मक विवेचना, सिर्जनशील र नवीन कार्यशैलीको अपेक्षा गर्दछ । तर, नेपाली कांग्रेसमा एकीकृत युवामा त्यो गतिशीलता देखिँदैन ।

खासमा राजनीति गर्नेहरूले राजनीतिक कौशलता देखाउन जरुरी छ । के अहिलेको युवा पुस्ताले नवीन कौशलताको ल्याकत राख्न सक्छ ? बाहिरको बौद्धिक नागरिक समाजले के मूल्यांकन गरिरहेको छ भन्ने कहिल्यै हेक्का गरेको छ ।

वर्तमान समय सूचना, सञ्चार, प्रविधि, विज्ञान र सामाजिक सञ्जालको हो । सामाजिक सञ्जाल समाजको ऐना हो । सामाजिक सञ्जालमा आमयुवाहरूको कांग्रेस लगायत तीन ठूला दल प्रतिको आक्रोश देखिन्छ । यो आक्रोशको जन्म कसरी भएको छ ?

किन युवाहरूमा एकै पटक यति धेरै वितृष्णा सिर्जना भएको छ ? यसमा कांग्रेसले कस्ता कार्यशैली रुपान्तरण गरेर युवा वर्गलाई कसरी देशभित्रै पेशा, व्यवसाय र रोजगारीमा जोड्न सकिन्छ भन्ने विषय मिहीन रूपमा लिनुपर्ने देखिन्छ ।

युवाहरूमा किन वितृष्णा पैदा भयो ? युवा के कुरामा भुलिरहका छन् ? युवाहरूलाई कसरी पार्टी प्रति आकर्षित गर्ने ? युवालाई कस्ता कार्यक्रम दिएर व्यस्त बनाउन सकिन्छ ? युवालाई कसरी उत्पादनसँग जोड्ने ? युवाहरूलाई कसरी अनुशासन र सक्रिय बनाउने ? युवालाई कसरी आर्थिक समुन्नति, सामाजिक चेतना र रुपान्तरणमा उपयोग गर्ने भन्ने विषयमा कांग्रेस गम्भीर हुनुपर्दछ ।

कांग्रेस मुलुकको ठूलो लोकतान्त्रिक दल स्वभाविक रूपमा नै दलमा युवाहरूको बाहुल्यता छ । तर, त्यी युवाहरू नै किन कांग्रेसको कार्यसम्पादनबाट सन्तुष्ट हुन सकिरहेका छैनन् ? के र कस्ता विषयमा व्यस्त छन् ? समाजमा उनीहरूको प्रभाव कस्तो छ ? पार्टीले युवाहरूलाई कार्यकर्ता मात्र बनाउने नीति लिएको छ कि युवाहरूलाई आर्थिक आत्मनिर्भरता, उद्यमशिलता, नेतृत्व विकास, सामाजिकीकरण, राजनीतिक प्रशिक्षण र सांगठनिक सम्पत्तिका रूपमा दिएको छ ।

लोकतन्त्र सिकाउने मूल पार्टीले नै पार्टीका भातृ संगठन र शुभेक्छुक संस्थाहरूको लोकतान्त्रिक विधिबाट नेतृत्व चयनलाई कुल्चेर टिके प्रथा चलाउनु आफैंमा हास्यस्पद हो । पार्टीले अभ्यास गरेको लोकतन्त्र संगठनका जरा–जरामा पुर्‍याउन सके मात्र पनि पार्टी क्रियाशील हुन सक्दछ ।

नेविसंघ र तरुण लगायतले भातृसंगठनले महाधिवेशन माग गरेर अनशनमा छन् । यस्ता युवा संगठनहरूलाई चलायमान गराउन, विधि र लोकतन्त्रको जग निर्माण गर्न चुक्दा भावी दिनमा कांग्रेसले कसरी लोकतन्त्रको वकालत गर्न सक्दछ ?

युवाहरूलाई सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा व्यस्त बनाउन बिर्सेर प्रधानमन्त्रीज्युले नै झोले अभियान चलाउनुभयो । कांग्रेसमा पनि नातावाद, चाकडी र कृपावाद निकै चर्चामा रहने गरेको छ ।

नेताको चाकडीविना कुनै पनि अवसर पाइँदैन भन्ने मानसिकताले कांग्रेसी युवाहरू पनि ग्रसित छन् । क्षमता, मेहनत र नवीनता नयाँ पुस्तामा विजारोपण हुन सकेको छैन् । पार्टीले विधि, लोकतन्त्र, क्षमता, योग्यता र इमान्दारीलाई मानक बनाउन अब ढिला गरिनु हुँदैन् ।

सरकारमा कमजोर ‘पर्फर्मेन्स’

नेपाली कांग्रेस वर्तमान सरकारको प्रमुख घटक हो । कांग्रेस सभापति शेरबहादुर देउवाकै प्रस्तावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । यी दुई दलले आगामी निर्वाचनसम्म सत्ता सहकार्यको सहमति गरेका छन् । सहमति अनुसार नै ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी छ । केही महिनापछि देउवाको नेतृत्वमा एमाले समेतको सरकार बन्ने समझदारी छ ।

तर, अहिले सरकारका कांग्रेसको सहभागिताले कांग्रेसजनलाई उत्साहित बनाउन सकेको छैन । सरकारमा प्रभावशाली मन्त्रालयको नेतृत्व गरेको भए पनि कांग्रेसको कार्यसम्पादन कमजोर छ । कांग्रेसबाट सरकारमा भएका मन्त्रीहरूको कार्यसम्पादन औषत मात्र छ, उत्कृष्ट र प्रसंशनीय छैन ।

राम्रा कार्यहरूको प्रचार प्रसार गरौं भने पनि औंलामा गन्ने गरी भेटाउन मुश्किल छ । सरकारको नेतृत्व गरिरहेको एमालेको कार्य सम्पादन पनि उस्तै कमजोर छ । जसका कारण आम जनतामा मात्र होइन, कांग्रेस–एमालेभित्रै पनि उकुसमुकुसको अवस्था छ ।

दुई ठूला दलबीचको सरकारका नीतिगत अस्पष्टता कायमै छ । लोकतान्त्रिक धार र कम्युनिष्ट कार्यशैलीको तादाम्यता छैन । एमालेले लोकप्रिय कार्यक्रमलाई जोड दिँदै आएको छ, तर कांग्रेसले दूरगामी प्रभाव पार्ने विषयहरूमा जोड दिएको छ ।

एमाले संगठनमुखी कार्यकर्तालाई रिझाउन, भुलाउन मात्र चाहान्छ । तर, कांग्रेसले आममानिसका समस्याहरूको दीगो समाधान, आशा र बहुआयामिक विकासमा जोड दिँदै आएको छ । यथार्थ, के हो भने दुवै दलले कार्यशैलीमा सुधार हुन नसकेको आत्मसात गरेको अवस्था छ । र, दुवै दललाई विकल्प पनि नभएका कारण सरकारको गाँठो कसिएको मात्र छ तर सामयिक गति, आशा र नवीनतम् अनुभूति छैन् ।

पार्टी र सरकारबीचको ग्याप स्पष्ट देखिन्छ । सरकारमा कांग्रेसको प्रतिनिधित्व गरेका मन्त्रीले पार्टीका नीति बोक्न सकेका छैनन् । कार्यसम्पादनको कार्यशैली फेरिएन भने पार्टीको साख अरु कसैका कारण होइन, आफ्नै कारण थप खस्किने छ ।

सरकारले ल्याएको बजेटको स्वरुपलाई नै विश्लेषण गर्ने हो भने दुई ठूला दलहरूले ल्याएका नीति तथा कार्यक्रम र बजेटको तादाम्यता, आशा र समन्वय देखिँदैन् । दुई ठूला दलको सत्ता साझेदारीबाट योजना, कार्यसम्पादन र बजेटले जनअपेक्षाको सम्बोधन गर्न सकिरहेको छैन ।

बजेटको पूर्वसन्धा तयारी अवस्थामा र बजेट घोषणा, छलफल र संसद्बाट पास गरेसम्मको अवस्थालाई हेर्ने हो भने न त कांग्रेसबाट नेतृत्व गर्ने मन्त्रीहरू नै सन्तुष्ट छन् न त नेता कार्यकर्ता । वास्तवमा सरकारमा कांग्रेस किन बसिरहेको छ भन्ने अनेक प्रश्नहरू विभिन्न मञ्चहरूमा उठेका छन् ।

सरकारका पछिल्ला निर्णय, कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारको कार्यसम्पादन, प्रदेशमा कांग्रेसको अवस्थालाई अध्ययन गर्दा उस्तै निरासाजनक छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश सभामा प्रस्तुत बजेटका सन्दर्भमा पार्टीभित्रै विवाद कायम छ ।

स्थानीय सरकारको कार्यसम्पादन लगामविहीन छ । पार्टीका निर्देशन, प्रशिक्षण र परिपत्रहरूलाई आत्मसात गर्दै पार्टी र स्थानीय सरकारबीचको समन्वय निकै कमजोर देखिन्छ । पार्टी भित्रको मूल्यांकन, अनुगनम, अनुशासन र सुपरीवेक्षण निकै कमजोर छ । जसले स्थानीयस्तरमा कांग्रेसको अनुहार नै धमिलिएको छ ।

पार्टी र सरकारबीचमा ग्याप भएको स्पष्ट देखिन्छ । पार्टीका नीति सरकारमा कांग्रेसले बोक्न सकेको छैन । समुन्नतिको मार्गचित्र, कानुन निर्माणमा पार्टीको भूमिका, कानुन कार्यान्वयनमा सरकारको कार्यकारी भूमिका र मुख्य गरी युवा वर्गलाई स्वदेशमा नै आशा जगाउने सन्देशमूलक कार्यहरू प्रवाह हुन सकेका छैनन् । जसले सरकारमा कांग्रेसको कार्यसम्पादनको कार्यशैली फेरिएन भने पार्टीको साख अरु कसैका कारण होइन, आफ्नै कारण खस्किने छ ।

नेकपा एमालेसँगको सत्ता सहकार्यमा भएका सहमति अनुरुप संविधान संशोधनको विषय अझै पनि बहसको सुरुवात हुन सकेको छैन । पश्चगामी दलहरूले व्यवस्थाप्रति उठाएका प्रश्नहरू, वैकल्पिक भनेर आएको रास्वपाले उठाएको संविधान पुनःलेखनको प्रस्ताव, धर्म निरपेक्षता र संघीयता प्रति जनताको पछिल्लो मतका बिच भूराजनीतिक चलखेलले संविधान संशोधन जस्तो विषय निकै जटिल हुने देखिन्छ यस विषयमा कांग्रेस संवेदनशील, परिपक्व र निर्णायक हुनुपर्दछ ।

संसद्‌मा कांग्रेसको अभ्यास

संसद्मा सरकारले प्रस्तुत गरेको बजेटको सन्दर्भ भएका बहसमा केही कांग्रेस सांसदहरूका प्रस्तुतिले अनुशासनका सीमा पनि नाघेको देखियो । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको प्रभावकारिता कस्तो छ ? सरकारमा बजेटका सन्दर्भमा कांग्रेसको असन्तुष्टि भए पनि बजेटको बहसका क्रममा कांग्रेसी सांसद्बाट स्पष्ट, तर्कसंगत र ओजिला विचारहरूका साथै आलोचनात्मक सुझावहरू सुन्न पाइएन । बजेटलाई मौन समर्थन जस्तै गरेर कांग्रेसले सत्ताको तालाचावी ठिकठाक पारे पनि बजेटको औचित्यलाई पुष्टि गर्न जागर नचलाउनुको कारण के हो बुझ्न सकिएको छैन ।

संसद्मा राजनीतिक घोचपेच, आलोचना र अवरुद्ध हुने शिलशिलाले प्रश्रय पाइरहेका बेला कांग्रेसले प्रश्नहरूलाई लिपिवद्ध गर्न सकिरहेको छैन् । संसदीय अभ्यासको लामो अनुभव भएको सबैभन्दा ठूलो दल संसद्मा सत्ताको छाँयामा परेर प्रश्नविहीन भएको छ । दलभित्रै सांसद्हरूको प्रियतावादी, आलोचनात्मक र मतभेदपूर्ण अभिव्यक्तिले कांग्रेसको संसदीय अभ्यासलाई चुनौनी थपिदिएको छ ।

कानुन निर्माणको प्रक्रियामा कांग्रेसको बहस, पैरवी र परामर्शहरू अझै संगठित, प्रभावकारी र प्रतिफलमुखी हुन सकेका छैनन् । पर्याप्त छलफल, परामर्श र बहसको निरन्तरता र तादाम्यता देखिँदैन् । पछिल्लो समय निजामति विधेयक, शिक्षा विधेयक, प्रहरी सम्बन्धी विधेयक, नागरिकता विधेयक जस्ता महत्वपूर्ण विधेयकमा पनि कांग्रेसले सही अडान, एक रूपता र सान्दर्भिकता कायम गर्न सकेको छैन् ।

संसदीय अभ्यासको लामो अनुभव भएको सबैभन्दा ठूलो दल संसद्मा सत्ताको छाँयामा परेर प्रश्नविहीन भएको छ । दलभित्रै सांसद्हरूको प्रियतावादी, आलोचनात्मक र मतभेदपूर्ण अभिव्यक्तिले कांग्रेसको संसदीय अभ्यासलाई चुनौनी थपिदिएको छ ।

कांग्रेसले विभिन्न समितिहरूको नेतृत्व गरेको छ । समितिका कार्यसम्पादन औषत छन् । समितिका बैठकमा उपस्थिति, बहस र सक्रियता निकै कम देखिन्छ । जसका कारण अन्य दलका सांसद्हरूको भूमिका चर्चा हुने गरेको छ । तर, कांग्रेसले मिनी संसद् संसदीय समितिको प्लेटर्फमलाई यथेष्ट उपयोग गरेर त्यसको श्रेय लिन सकिरहेको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदनमा अवरोध गर्दै आएको रास्वपाले लेखक र आफ्ना पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेको विषय उस्तै भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाइरहेको छ ।

कांग्रेसले समयमै त्यस्तो भ्रमको चिरफार गर्न नसक्दा पार्टी प्रति नकारात्मक सन्देश फैलिएको छ । लोकतान्त्रिक विधि, प्रक्रिया र कानुनभन्दा बाहिर गएर गरिएका गतिविधिहरूका विरुद्ध आममानिसलाई सूसुचित गराउने अभिभारा कांग्रेसले पूरा गर्न सकेको छैन ।

रास्वपा र राप्रपाको संसद् बहिष्कार औचित्यहीन र जनमतको उपहास हो । वैकल्पिक भनिएका दलका नेता, नीति र नैतिकता देख्दा अझै दुःखलाग्दो अवस्था छ । पश्चगामी र नीतिविहीन यी दलहरूले व्यवस्था र संविधानमाथि प्रश्न उठाउँदा पनि कांग्रेसले आफ्नो कार्यसम्पादन मार्फत चित्त बुझ्दो जवाफ दिन सकिरहेको छैन ।

कांग्रेसको अबको बाटो

कांग्रेसको अहिलेको मूल नेतृत्वको अबको जिम्मेवारी भनेको समयमा नै महाधिवेशन सम्पन्न गरी ऊर्जाशील नयाँ नेतृत्वलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नु हो । पछिल्लो समय सभापति स्वयम्ले राखेको पार्टी एकता, समन्वय र अवकासको घोषणाले पार्टीका शिराशिरामा सकारात्मक रक्तसञ्चारको प्रभाह हुने संकेत देखिन्छ । कांग्रेसले आफ्नो महाधिवेशन टारेर अरु कसैका लागि होइन आफ्नै साख घटाउने गैरलोकतान्त्रिक कार्यमा अल्झिनु हुँदैन ।

मौलिक शान्ति प्रक्रियाको सफल अवतरण, गणतन्त्रको नेतृत्व, जनताका जनप्रतिनिधिहरूले निर्माण गरेको संविधान निर्माणको नेतृत्व हुँदै लोकतान्त्रिक गणतन्त्र, संघीयताको व्यवस्थालाई नेतृत्व गरेको कांग्रेसले अबको दशकमा समुन्नतिको नेतृत्व गरेर जनअपेक्षाको सम्बोधन गर्नुपर्ने अनिवार्य आवश्यकता छ । त्यसका लागि सामाजिक, आर्थिक, राजनीतिक, विकास र सुशासनका सूचकहरूको सुधारका लागि आमयुवा, कांग्रेस र देशले एउटा कुशल नेतृत्व खोजिरहेका छन् ।

जोसँग नीति, नेतृत्व, नैतिकता र कौशलता छ उसैले पार्टी र देशको नेतृत्व गर्नुपर्दछ । गगन, विश्व र प्रदीपको पुस्ताले पार्टीको हस्तक्षेपलाई अब निर्णायक मोडमा पुर्‍याउन समयमा नै महाधिवेशनको संकल्प बोक्नुपर्दछ । एक पटक यो पुस्तासँग आममानिसको भरोसा, आशा र विश्वास छ ।

जनआकर्षण फर्काउने हो भने कांग्रेस भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र सुशासनको मुद्दामा खरो उत्रन सक्नुपर्छ । र, त्यसका लागि जारी केन्द्रीय कार्यसमिति बैठकबाट स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नैपर्दछ ।

कांग्रेसको भावी कार्यकालमा गगन थापाको प्रोजेक्ट गभर्नेन्स, पार्टीका उम्मेदवार प्राइमरी इलेक्शन मार्फत चयन गर्ने प्रणाली, कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा सहभागिता, दिगो समुन्नतिको अवधारणा, सामाजिक लोकतन्त्र, संघीयताको सवलीकरण, संविधानको समायोचित संशोधन, कानुनी र नीतिगत सुधार, दीगो र पूर्वाधार विकासमा गति दिँदै जनअपेक्षालाई सम्बोधनजस्ता गहन विषय पूरा गर्नु पर्नेछ । यसका साथै, पार्टी र सरकारमा सहभागिताको विषयमा विश्व प्रकाश शर्माले अघि सारेको कार्यकालको मापदण्ड लागू गर्ने अभिभारा पनि आगामी कांग्रेसको नेतृत्वसामू रहनेछ ।

मुलुकले मियो खोजिरहेको छ । कांग्रेस मूल पार्टीको महाधिवेशन, नीति मन्थन र नयाँ नेतृत्वको बहस अब सुरुवात भएको छ । लोकतन्त्रको हिमायती कांग्रेसले अरु दलहरूसँग होइन, आफ्नै लोकतान्त्रिक मूल्य–मान्यता, सिद्धान्त, सामाजिक र राजनीतिक वैधतालाई नै मानक मानेर आफैंसँग प्रतिस्पर्धा गर्न जरुरी छ ।

कांग्रेसको स्पष्ट नीति छ । सक्षम नेता छन् । बलियो संगठन छ । जनताको साथ छ । तर, सामाजिक लोकतन्त्रको मुद्दामा कांग्रेसकेन्द्रित हुन सकिरहेको छैन । कांग्रेस आलोचना गर्ने ठाउँमा होइन । समालोचना गरेर सुधारको चरणमा जानुपर्दछ ।

कांग्रेस पार्टी प्रति विगतमा मात्र होइन, वर्तमानमा पनि आममानिसले भरोसा गरेको देखिन्छ । तर भविष्यमा पनि विश्वास टिकाइराख्न तथा वृद्धि गर्न कार्यशैलीमा व्यापक रुपान्तरण गर्नु जरुरी छ । लोकतन्त्र ल्याउने र बचाउनेमा सबैभन्दा मुख्य भूमिका र योगदान कांग्रेसको छ । अर्थतन्त्रदेखि पूर्वाधार विकासका नीतिगत, संरचनागत र कानुनी भूमिकामा पनि कांग्रेसको प्रमुख योगदान रहेको छ । तर, अब यतिले मात्र जनतामा कांग्रेस प्रति आकर्षण बढ्न सक्दैन ।

मुख्य गरी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको मुद्दामा कांग्रेस खरो उत्रन सक्नुपर्छ । र, त्यसका लागि कांग्रेसले आफ्नो जारी केन्द्रीय कार्यसमिति बैठकबाट स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नैपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?