
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रा.डा. सविना भट्टराई अस्पतालमा काम गर्छिन् र रमाइलो गर्न क्याण्डी क्रस खेल्न रुचाउँछिन्।
- उनी फिल्म हलमा हेर्न र पारिवारिक, भावुक, रोमाञ्चक फिल्महरू मन पराउँछिन्, विशेष गरी अमिर खानको फिल्महरू।
- उनी नेपाली र भारतीय गीतहरू सुनिन्, घरमा गीत घन्किरहेको हुन्छ र कुकुर पाल्ने रुचि पनि छ।
प्रा.डा. सविना भट्टराई छाला तथा कस्मेटिक सर्जन हुन् । उनको अधिकांश समय अस्पतालमै बित्छ । यद्यपि त्यसबीचमा पनि उनले आफ्ना लागि समय छुटाउँछिन् र मनलाग्दी रमाउने यत्न गर्छिन् ।
१. रमाइलो गर्न मन लागेमा के गर्नुहुन्छ ? अर्थात मन खुसी भएका बेला के गर्नुहुन्छ ?
म क्याण्डी क्रस गेमको फ्यान हुँ । मन खुसी भएका बेला वा अलिकति समय पाउनेबित्तिकै क्याण्डी क्रस खेलिरहेको हुन्छु । यसको मलाई लत नै लागिसक्यो भन्दा पनि फरक नपर्ला ।
कहिलेकाहीँ त खेल्दा खेल्दै अफिस जानै ढिला भइसक्छ । घर बगैँचामा फूल फुलाउन मलजल गर्न असाध्यै रुचि छ ।
२. फिल्म कत्तिको हेर्नुहुन्छ ?
क्याण्डी क्रसको जति नसा फिल्ममा त छैन । आफन्त र साथीभाइले कुनै फिल्म हेर्न जाउँ भने गइपनि हाल्छु ।
३. पछिल्लो समय हेरेको फिल्म याद छ ?
पछिल्लो समय फिल्म कुन हेरेँ याद छैन । अहिले चलेको सितारे जमिनपर हेर्न मनलागेको छ । हेर्ने मेसो मिलाउन साथीभाइ खोज्दैछु । अमिर खानको कुनै पनि फिल्म छुटाउन मन लाग्दैन ।
४. फिल्म घरमै हेर्नुहुन्छ वा हलमा ?
फिल्म हलमा हेर्नुको मज्जा बेग्लै छ । हेर्नुपर्यो भने भ्याएसम्म हल नै कुद्छु । हलमा नराम्रो सिनेमा पनि राम्रो लाग्छ । ठूलो स्क्रिन, मुटु हल्लाउने आवाज र अध्याँरो ठूलो कोठामा हेर्दा आफू पनि फिल्मको पात्र जस्तो अनुभव हुन्छ । फिल्ममा डुब्नुको मज्जै छुट्टै छ ।
५. कस्तो फिल्म तपाईंको रोजाईमा पर्छ ?
मलाई हरर र तडकभडक भएको त्यति मनपर्दैन । पारिवारिक कथा बोकेको, भावुक बनाउने र रोमाञ्चक बनाउने फिल्म मनपर्छ ।
६. कुनै फिल्म हेरेर त्यसबाट प्रभावित हुनुभएको छ ?
फिल्म हेरेर मन छोएको धेरै छ । तर, यो फिल्मबाट प्रभावित भएको भन्ने त्यस्तो कुनै याद छैन ।
७. फिल्म हेरिरहँदा हिरोइन हुन पाए हुन्थ्यो जस्तो लाग्छ वा लाग्दैन ?
फिल्म हेर्दा हिरोइन हुन पाए हुन्थ्यो भन्ने चाहिँ हुँदैन । तर, फिल्म हेरिरहँदा हरेक पात्रभित्र आफैं छिरेको जस्तो अनुभव हुन्छ । फिल्म नसकिने समयसम्म त्यहाँको पात्रमै डुबिरहेको हुन्छु ।
८ . तपाईले हेरेको कुनै त्यस्तो फिल्म छ, जसको कारण तपाईंले आफूलाई बदल्ने कोसिस गर्नुभएको छ ?
मैले ‘परस्युट अफ ह्यापिनेस’ भन्ने हलिउड सिनेमा हेरेर ठूलै पाठ सिकेको छु । सो फिल्ममा अभिभावकले कसरी बच्चाहरूको खुसीका लागि ज्यान दिनसम्म तयार हुन्छन् भन्ने कुरालाई राम्रोसँग प्रस्तुत गरिएको छ ।
९. फुर्सद पाए नेपालको कुन कलाकारसँग समय बिताउन चाहनुहुन्छ ?
मलाई राजेश हमाल पहिलेदेखि नै मनपर्ने हिरो लाग्छ । मलाई उहाँसँग समय बिताउन मन छ ।
१०. नाटक हेर्न जानुभएको छ ?
मैले फिल्मभन्दा बढी नाटक हेर्न गइरहेको हुन्छु । मैले पछिल्लो समय हेरेको नाटक ‘मीमांसा’ हो । जुन मन छुने खालको थियो ।
११. घरमा बस्दा गीत सुन्ने गर्नुभएको छ ?
बिहान आँखा खुलेदेखि राति आँखा बन्द नहुनेसमयसम्म घरमा गीत घन्किरहेको हुन्छ । पहिल देखि रेडियो सुन्ने गरेको पुस्ताको भएर होला गीत सुन्ने बानी छ ।
मैले मात्र होइन, कुनै बेला श्रीमान् र कहिले बच्चाहरूले पनि बजाइरहेका हुन्छन् ।
१२. कसको गीत वा कस्तो गीत सुन्नुहुन्छ ?
म अहिले चलेको देखि पुरानो गीतहरू सुनिरहेको हुन्छु । मलाई विस्तारै गाएको अर्थपूर्ण मायाको भाव भएको रोमाञ्चक बनाउने गीत मनपर्छ । प्राय: भारतीय गायक अरिजीत सिंह
का गीतहरू सुनिरहेको हुन्छु ।
१३. आफू कत्तिको गीत गाउनुहुन्छ ?
म ‘बाथरुम सिंगर’ हो । गीत त्यति मिठो गाउँदिन । तर, म गुनगुनाइरहेको हुन्छु ।
१४. कुन नेपाली गायक, जसलाई तपाईं भेट्न चाहनुहुन्छ ?
मलाई गायक सुशान्त केसी र वाङदेन शेर्पा मनपर्छ । उनीहरूलाई भेट्ने इच्छा छ । युवा पुस्ताको क्रियटिभिटीबारे कुरा गर्न मन छ ।
१५. कोर्सबाहेक कुनै पुस्तक पढ्नुहुन्छ ? फिक्सन वा ननफिक्सन ।
म पुस्तक पढिरहनेमा पर्छु । बाल्यकाल देखि नै पुस्तक पढ्ने बानी बस्यो । अटोबायोग्राफी, फिक्सन पनि पढ्ने गर्छु । फिक्सनमा अहिले लेखक टोनी मोर्रिसनको ‘सुला’ पढ्दै छु ।
१६. पछिल्लो समय कुन पुस्तक पढ्नुभयो ?
पछिल्लो समय मैले लेखक कुलोन हुभरको ‘इट इन्डस विथ अस’ पढेकी थिएँ ।
१७. पुस्तक ज्ञानका लागि वा मनोरञ्जनका लागि पढ्नुहुन्छ ?
पुस्तकबाट म पात्र र कथालेको बोकेको भावना प्रस्तुत गरेको शैलीमा घोत्लिन पढ्छु । यसले आनन्द पनि दिन्छ । मनोरन्जन पनि दिन्छ । पुस्तकले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा ज्ञानज्ञुनका कुरा पनि सिकाइरहेको हुन्छ । फरक के छ भने बाल्यकालमा किताब पढेको र अहिले परिपक्व भइसकेपछि पढ्दा बुझाइमा भने फरकपन आउँदो रहेछ ।
१८. किनमेल गर्न कति रुचाउनुहुन्छ ?
किनमेलको पनि सौखिन छु । अब त बच्चाले पनि भन्न थालिसके ‘दराज त के अर्को सिंगो घर नै किने पनि नपुग्ने भइसक्यो’ । पछिल्लो समय अनलाइन विज्ञापन पनि झन् बढ्दो छ । जे देखे पनि किन्न मनलाग्ने । यसको लत लागिसक्यो । कहिलेकाहीँ आफूलाई नियन्त्रण गर्न कुनै-कुनै अनलाइन साइट्स र एप्स बल्क नै गरौं जस्तो लाग्छ ।
१९. के कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
किनमेल लुगाफाटो बाहेक घरयासी सामानहरूको पनि गर्छु । प्राय बजार डुलिरहेको हुन्छु ।
२०. आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ वा अरुले किनिदिन्छन् ?
म आफ्नो लुगाफाटो आफू पनि किन्छु । साथीभाइले पनि विदेश गएर आउँदा वा कुनै अवसरमा किन्दिरहेको हुन्छन् । सबैभन्दा अमूल्य चाहि मेरो प्यासेन्टहरूले दिएको उपहार लाग्छ । उहाँहरू भेट्न आउँदा लुगा उपहार लिएर आउनुहुन्छ ।
२१. घरमा खाना पकाउने गर्नुहुन्छ ?
मलाई खाना पकाउन एकदमै रमाइलो लाग्छ, म पकाइरहेको हुन्छु । तनाव भइरहेका बेला खाना पकाउनु भनेको मेरो लागि थेरापी हो । रङ्गविरङ्गका तरकारी र फलफूल हेर्दा उर्जा मिल्छ ।
२२. तपाईंलाई पकाउन आउने परिकार कुन हो ?
मलाई प्राय सबै पकाउन आउँछ । मलाई लामो समय लगाएर पकाउने भन्दा पनि छिटो, छरितो र फटाफट पाक्ने खानेकुरा पकाउन मनलाग्छ । म सलाद थरिथरिका बनाइरहेको हुन्छु । टिकटक र युट्युब हेरिहेरी नयाँ-नयाँ परिकार बनाइरहेको हुन्छु ।
२३. पाहुना आउँदा वा पारिवारिक जमघटमा खानेकुरा पकाउने गर्नुहुन्छ ?
पाहुना आउँदा वा पारिवारिक जमघटमा भान्से नै मै हो । म नयाँ नयाँ खानेकुरा पकाएर खुवाउन म एकदमै उत्साहित हुन्छु । एकपटक आएको साथीभाईले अर्को पटक के पाक्छ भनेर उत्सुक हुने गर्नुहुन्छ ।
२४. तपाईंलाई मिठो लाग्ने परिकार चाहिँ कुन हो ?
मलाई नेपालीमा अण्डा र मासुको जुनसुकै परिकार पनि मिठो लाग्छ । थाइ र चाइनिज परिकार पनि मिठो लाग्छ ।
२५. पर्फ्युमको कति सौखिन हुनुहुन्छ ? कुन पर्फ्युम प्रयोग गर्नुहुन्छ ?
पर्फ्युमको पनि निकै सौखिन छु । यसमा पनि मैले घरमा गाली खाने बेला पर्छ । मसँग विभिन्न ब्राण्डका थरीथरीको कलेक्सन छ । म सधैँ एकै खालको लगाउदिन । म मुड, मौसम र दिन हेरेर परफ्युम लगाउँछु । प्राय भ्यानिलाको फ्लेभर र लिब्रको लगाउँछु ।
२६. आफ्नो पेशाबाहेक अरु के कुरामा सौखिन हुनुहुन्छ ?
मेरो सौख भनेको बर्गैँचामा राम्रो फूल फुलाउने र पकाउने कुरामा सौखिन छु ।
२७. घरपालुवा पशुहरू पाल्ने गर्नुभएको छ ? कति सौखिन हुनुहुन्छ ?
मलाई कुकुर निकै मनपर्छ । घरमा तीनवटा कुकुर छ । जसलाई मैले जेठो, माइलो र साइलो गरी नाम दिएको छु । उनीहरू मायाले पुलपुलिएका छन् । हामीसँगै सुत्छन् । यी साना छैनन् । ५०-६० किलोका छन्।
२८. जमघटमा वा रमाइलोमा कति सहभागी हुन रुचाउनुहुन्छ ?
साथीभाइसँग जमघट दुई साता वा महिनाको एकपटक त हुन्छ । उनीहरूसँगको गफगाफ र हाँसखेलले पनि मुड फेस हुन्छ । मेरो कक्षा १० र १२ कक्षा र अफिसको साथीको ग्रुप छ । उनीहरूसँग भेटघाट भइरहन्छ ।
२९. घुमफिरमा कति रुचि राख्नुहुन्छ ?
शरीर र समयले साथ दिएसम्म देश बाहिर र भित्र घुमिरहनेछु । यो पनि मुड फ्रेस गराउने एउटा थेरापी हो जस्तो लाग्छ ।
३० प्राय कहाँ-कहाँ घुम्न निस्कनुहुन्छ ?
सामाजिक संस्था ‘एक एक पाइला’ र स्वास्थ्य शिविरकै क्रममा पनि पूर्व र पश्चिमसम्मको गरी ६० भन्दा बढी जिल्ला घुमिसकें । विदेश पनि वर्षको दुई पटक जति घुम्ने प्रयास रहन्छ ।
३१. घुम्नका लागि नेपालको सबैभन्दा मन परेको ठाउँ कुन हो ?
नेपालको सबैभन्दा बढी जति गए पनि फेरि जान मन लाग्ने भनेको पोखरा हो । मलाई हरेक पटक घुम्दा नयाँ उत्साह हुन्छ । त्यहाँको प्रकृतिले मलाई शान्त अनुभव गराउँछ।
३२. टिकटक कत्तिको हेर्नुहुन्छ ? के हेर्नुहुन्छ ?
राति क्याण्डी क्रस पछि टिकटक हेर्ने गर्छु । म टिकटक कुमारी नै हो । हेरे पछि मोबाइल बन्द गर्न मन लाग्दैन । टिकटकलाई मैले अपडेट हुने प्लेटफर्मका रुपमा लिन्छु।
एकैछिनमा हरेक खालको घट्ना र समसमायिक सन्देश थाहा पाइन्छ । प्राय डर्मा क्षेत्रमा नयाँ के छ ? नयाँ पुस्ताको राय के छ ? के ट्रेन्ड चलिरहेको छ ? बाहिरतिर के छ ? त्यो कुरा बढी हेर्ने गर्छु ।
प्रतिक्रिया 4