
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशसभा बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ।
- विपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गरे।
- बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने कार्यसूची तय भएको छ।
२२ असार, जनकपुरधाम । विपक्षीको अवरोधपछि मधेश प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतको विपक्षी दलले बजेट पुनर्लेखनको माग गर्दै अवरुद्ध गरेका थिए ।
अवरोधपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर पुन: बस्ने वातावरण नमिलेपछि बैठक बस्नै सकिएन । भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको सभामुख मण्डलले बताए ।
मधेश सरकारले १ असारमा ल्याएको बजेटबारे सत्तापक्ष र प्रतिपक्षमा व्याप्त असन्तुष्टि छ । बिचौलिया हावी, असमान बजेट, ५ लाखसम्मको बजेट विनियोजन भएको पुनर्लेखन गर्नुपर्ने विपक्षी दलहरूको माग छ । विपक्षी दलले बजेट पुनर्लेखन नभएसम्म सदन चल्न नदिने चेतावनी दिएको छ ।
‘यसअघि यसै मुख्यमन्त्रीले बजेट ल्याउँदा ह्याक भएको बताएको र अहिले उनकै दलका नेता बिचौलिया हाबी भएको भन्छन् । प्रतिपक्षीले पहिले नै भनिसकेको छ । २० वर्ष पहिलेसम्मका भुक्तानीका लागि मुख्यमन्त्रीको पिताको नाममा बजेट राखिएको छ । जबसम्म समान बजेट हुँदैन । बिचौलिया हाबी रहन्छ । तबसम्म कुनै पनि हालतमा बजेट पारित हुन दिन्नौं,’ जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले बैठक अवरुद्ध गर्दै चेतावनी दिएका थिए ।
बजेटमाथि छलफलको लागि गत १२ असार दिउँसो १ बजे बोलाइएको बैठक अचानक स्थगित गरिएको थियो । त्यसको ११ दिनपछि पुन: बैठक बसेको थियो ।
प्रतिक्रिया 4