
News Summary
Generated by OK AI. Editorially reviewed.- भिन्सेन्ट भ्यान गगले सूर्यमुखी फूललाई आफ्नो ब्रान्ड र चित्रकला मुख्य वस्तु बनाएर चित्रहरू बनाएका थिए।
- उनले १८८७ देखि १८८९ सम्म विभिन्न समयमा सूर्यमुखीका चित्रहरू बनाएका थिए, जसको अर्थ र प्रेरणा स्पष्ट छैन।
- सूर्यमुखी फूललाई विश्वास, प्रेम र समयको प्रतीकका रूपमा चित्रित गरिएको छ, जसले आधुनिक कला क्षेत्रमा महत्वपूर्ण स्थान पाएको छ।
भिन्सेन्ट भ्यान गगलाई विश्वप्रसिद्ध चित्रकार बनाउन सहयोग गर्ने एउटा वस्तु छ-सनफ्लावर अर्थात् सूर्यमुखी फूल । भ्यान गगले यस बिरुवालाई मुख्य वस्तु बनाएर केही चित्र बनाएका थिए । कालान्तरमा ती उनका ब्रान्ड बने । जुन उनी स्वयंको चाह थियो ।
‘सूर्यमुखी फूल मेरो हो’ भ्यान गगले पत्रमा लेखेका थिए । यस अभिव्यक्तिले यस फूलसँगको उनको सम्बन्ध छर्लंग पार्छ ।
आज उनकै इच्छा अनुसार ‘भ्यान गग’ भन्नासाथ धेरैले कागती रङको सूर्यमुखी फूलको चित्र सम्झन्छन् । तर यो सूर्यमुखी फूलहरूसँग उनको झुकाव किन यति थियो ? आखिर उनले यसबाट के भन्न खोजेका थिए ? यसले क-कसलाई प्रेरित गर्यो ?
‘स्टेरी नाइट’सँगै लन्डनको नेशनल ग्यालेरीमा राखिएको ‘सनफ्लावर्स’ भ्यान गगको सबैभन्दा चिनिने चित्रहरूमध्ये एक हो । तर उनले सूर्यमुखी फूलमा आधारित १० भन्दा बढी चित्र बनाएका थिए । जुन फरक-फरक समय र स्थानमा बनाइएको पाइन्छ ।
उनले पहिलो पटक सन् १८८७ मा पेरिसमा चार वटा, दोस्रो पटक सन् १८८८ मा फ्रान्सको दक्षिणी शहर आर्ल्स सरेपछि एक साताभन्दा कम समयमा चार वटा र तेस्रोपटक सन् १८८९ को सुरुका महिनाहरूमा तीन वटा सूर्यमुखीका चित्रहरू बनाएका थिए । ती मध्ये सबैभन्दा प्रसिद्ध संस्करण भने सन् १८८८ का हुन् ।
यसरी चित्र बनाइसकेपछि उनले आफ्ना पत्रहरूमा सूर्यमुखी फूलहरूको बारेमा लेखेका थिए । तर, तिनीहरूको वास्तविक अर्थ के हो भनेर भने कहिल्यै लेखेनन् । ती बनाउँदा कस्तो भयो ? भन्ने मात्र उनले लेखेका छन् ।
त्यसो हुँदा वास्तवमा उनले किन सूर्यमुखीका चित्रहरू बनाए ? भन्न सजिलो छैन ।
000
यद्यपि भ्यान गगको सूर्यमुखीका चित्रहरू हेर्दा रङमा प्रयोगशाला जस्तै लाग्छ । किनकि त्यहाँ पहेंलो रङका विविध प्रकारहरू देख्न सकिन्छ । उनले सकेसम्म धेरै प्रकारका पहेंलो रङ प्रयोग गरेका छन् ।
केही कला इतिहासकारहरूले भने उनी बस्ने घरमा आउन लागेका अर्का चित्रकार पल गोगिनका लागि सूर्यमुखिका चित्रहरू बनाइएको बताउने गर्छन् । यस कथनलाई विश्वास गर्ने हो भने गोगिन आउँदा घरका भित्ताहरूमा राख्न भ्यान गगले धेरै संख्यामा सूर्यमुखी फूलहरू बनाएका हुन् ।
गोगिनले भ्यान गगका अघिल्ला चित्रहरूको तारिफ गरेका थिए । त्यसैले सूर्यमुखीका ती चित्रहरू सम्भवतः मित्रता, सहकार्य र कलात्मक भाइचाराका प्रतीक हुन सक्छन् ।
तर प्रतीक, प्रतीकमै सीमित हुन गयो । भ्यान गगका जीवनकालमा कहिल्यै साकार हुन सकेन । किनकि भ्यान गगकोमा गोगन दुई महिनामात्रै बसे । अनि भ्यान गगको मृत्यु ३७ वर्षको उमेरमा नै भयो । त्यसबेला उनले धेरै चित्रहरू बनाइसकेका पनि थिएनन् । बेच्ने कुरा त परै भयो ।
तर अचम्म लाग्दो तरिकाले २०औँ शताब्दीको सुरुवातमा भ्यान गगको सूर्यमूखीले चर्चा पाउन थाल्यो । युरोपको आधुनिक कला आन्दोलनमा त उनको सूर्यमुखी ‘कल्ट स्टाटस’ बन्न पुग्यो ।
सन् १९२० मा लेखिका क्याथरिन म्यान्सफिल्डले भ्यान गगको सूर्यमुखी फूलले आफ्नो सिर्जनात्मक चेतनालाई जगाएको बताइन् । कला समीक्षक रोजर फ्राइले सन् १९२३ मा यस चित्रलाई ‘वर्षको सफलता’ भनेर वर्णन गरिदिए ।
उनीहरू बाहेक एन्थोनी भ्यान डाइक, मारिया भ्यान ओस्टरवाइक, विलियम ब्लेक, अस्कर वाइल्ड, डोरोथिया ट्यानिङ, पल न्यास लगायतका कलाकार तथा लेखकले भ्यान गगको सूर्यमुखी फूलको व्यापक चर्चा गरे । जसले गर्दा सूर्यमुखी फूलको चित्र मुख्यधारामा आउन पुग्यो । फलस्वरूप: भ्यान गग शताब्दीकै प्रसिद्ध र प्रभावशाली चित्रकारहरूमध्ये एक बन्न पुगे ।
000
आज उनको मृत्यु भएको १३५ वर्ष भइसक्दा पनि ‘सनफ्लावर्स’को प्रभाव उत्तिकै छ । अरू सामान्य कुरा छाडौं, हाल बेलायतको रोयल एकेडेमीमा भइरहेको ‘कीफर/भ्यान गग’ नामक प्रदर्शनीमा पनि यस चित्रको प्रभाव देख्न सकिन्छ ।
अहिले ८० लाग्दै गरेका जर्मन चित्रकार एन्सल्म कीफरले एउटा कला सिर्जना गर्न भ्यान गगको ‘सनफ्लावर्स’ लाई आधार मानेका छन् । जसले फेरि भ्यान गगको ‘सनफ्लावर्स’लाई चर्चामा ल्याएको हो ।
यस प्रदर्शनीका क्यूरेटर जुलेन डोमेर्कका अनुसार भ्यान गगका लागि सूर्यमुखी फूल भनेको दक्षिणको बिम्ब हो । भ्यान गग पेरिसबाट प्रोभेन्सतर्फ सरेको सन्दर्भमा उनले यसो भनेका हुन् ।
‘भ्यान गगले डच परम्पराका आधारमा सूर्यमुखी फूलहरू बनाएका छन्’ उनी भन्छन्, ‘उनका केही फूलहरू मर्न थालेका छन् । केही आकाशतर्फ फर्केका छन् । अनि केही बिस्तारै खैरो हुँदै ओइलाइरहेका छन् । यसको सार भनेको समयको गतिबारे चिन्तन हो ।’
त्यही विचार नै डोमेर्कको काममा झल्कने उनको भनाइ छ ।
000
युरोपमा सूर्यमुखी कोलम्बसपछिको कालमा अमेरिकाबाट भित्रिएको थियो । घाम जताजता जान्छ, सूर्यमुखी त्यतैत्यतै फर्कन्छ । यसलाई बिम्बमा प्रयोग गरिनु यो जैविक गुण पनि प्रमुख कारणमा पर्छ ।
कलामा आउने बिम्ब/प्रतीकहरू सधैं सामाजिक र वैचारिक विकाससँग जोडिएको हुन्छ । सोहीकारण युरोपमा सूर्यमुखीलाई पवित्र र आध्यात्मिक बिम्बको रूपमा लिन थालिएको थियो ।
सन् १५६८ मा वनस्पतिविद् जियाकोमो कोर्तुसोले सूर्यमुखीलाई ग्रीक पात्र क्लाइटीसँग जोडेर चर्चा गरे । उनको भनाइ थियो- क्लाइटी सूर्यदेव अपोलोलाई औधी प्रेम गर्थिन् । प्रेम जनाउन उनी सधैं आकाशतर्फ हेरिरहेकी हुन्थिन् । पछि उनी जमिनमा जरा गाडेर फूलमै रूपान्तरण भइन् । र, सूर्यमुखी बनिन् ।
यो कथनपछि सूर्यमुखी प्रेमको प्रतीक बन्यो । यसरी बनाइएको प्रतीक मारिया भान ओस्टरवाइक, भ्यान डाइक लगायत चित्रकारको तस्वीरमा पनि देखिन्छ । प्रेमबाहेक सूर्यमुखीलाई कविता तथा चित्रमार्फत धार्मिक तथा राजीतिक बिम्बका रूपमा पनि प्रयोग विगतमा प्रयोग गरिएको छ ।
यसरी सूर्यमुखी फूललाई चित्रहरूमा धेरै अर्थहरूमा दिइएको छ । तर सबैभन्दा बढी दिइएको अर्थ हो – विश्वास ।
सम्भवत: भ्यान गग यस विचारसँग परिचित थिए । उनले एकपटक बहिनीलाई चिठी लेख्दा लेखेका छन्, ‘सूर्यमुखी फूलमा कृतज्ञता देखिन्छ । तर, यी मेरा पीडाको चिस्याहट जस्तै हुन् ।
यसो लेख्दा सायद उनी चित्रकार गोगिन जस्ता साथीहरूप्रति आफ्नो सरल र सूर्यमुखीजस्तै सम्मानित व्यवहारबारे सोचिरहेका हुन सक्छन् ।
000
यता भ्यान गगले एन्सल्म कीफरलाई कसरी प्रभावित गरे ? सूर्यमुखी फूलहरूको बारेमा उनीहरूको सोचाइ मिल्छ कि मिल्दैन? भन्ने अर्को रोचक कुरा छ ।
यस विषयमा कीफर भन्छन्, ‘सूर्यमुखी घामसँगै घुम्ने गर्छ । रातमा परेपछि त्यो बन्द हुन्छ । तर जब यो फुल्छ, यसको अन्त्यको सुरुवात हुन्छ । सूर्यमुखी हाम्रो अस्तित्वको प्रतीक हो ।’
कुरा जे सुकै होस्, दुवै कलाकारले सूर्यमुखीलाई बलियो बिम्बका रूपमा कलामा उतारेका छन् । दुवैले सूर्यमुखीलाई एक चिन्तनको माध्यम बनाएका छन् । सम्भवत: जे कुरा सोचेर भ्यान गगले सूर्यमुखी फूललाई चित्रमा उतारेका थिए, त्यो हामीले बुझिरहेका छौं ।
प्रतिक्रिया 4