News Summary
Generated by OK AI. Editorially reviewed.- गौरीशंकर राम चमार २०६४ को रौतहट नरसंहारको प्रत्यक्षदर्शी र पीडित हुन्।
- उच्च अदालतले गौरीशंकरलाई बम विस्फोटमा घाइते भएको पुष्टि नगरेर आरोपितहरूलाई सफाइ दिएको छ।
२२ असार, काठमाडौं । नीलो सर्ट, पाइन्ट र चप्पल लगाएका गौरीशंकर राम चमार आइतबार बिहान भृकुटीमण्डपमा आइपुगे । उनको दुवैतिरका कानका लोती छँदै छैनन्, तर अरूले बोलेका कुरा स्पष्ट सुन्छन् ।
अनुहारमा मुखमुनिको भागमा ठूलो दाग छ । चिउँडोमुनि रुद्रघण्टी देखिंदैन । सेतो खत छ । छातीदेखि माथि अनुहारभर र कानको लोतीसम्मको भागमा खतैखत छन् ।
२६ चैत, २०६४ मा संविधानसभा निर्वाचनको अघिल्लो साँझ रौतहटको राजापुरमा भएको विस्फोटको साक्षी हुन्, ४३ वर्षीय गौरीशंकर राम चमार । त्यो दिन कांग्रेस सांसद मोहम्मद आफताब आलमका काका शेख इद्रिशको घरमा विस्फोट भएको थियो ।
दुई जना मारिए भने अरु कैयौं घाइते भए । पूर्वसांसद आलम र उनका सहयोगीमाथि घाइते र मृतकलाई इँटाभट्टामा हालेर पोलेको आरोप छ । विस्फोट हुनु केहीबेर अघि मात्रै आलमको घरमा पुगेका गौरीशंकर घाइते अवस्थामा भागेर जोगिएका हुन् ।
‘म राजा इँटाभट्टामा काम गथें, मेरो हप्ता (पैसा लिने दिन) थियो, मुन्सीले पठाएपछि जाँदा आलमले पैसा बाँडिरहेको थियो’ गौरीशंकरले भने, ‘म ढोकामा जानेबित्तिकै बम पड्कियो, जीउमा पोलेपछि म भागें, पानी भएको खेतमा म पल्टिएँ, त्यहाँबाट पनि भागेर जाँदा गहुँको खेतमा गिर्यो (लडें) ।’
त्यसरी लडेपछि आफूलाई गाउँलेहरुले उद्धार गरेर भारत सीतामढीस्थित अस्पतालमा पुर्याएको र होसमा आउँदा आफू अस्पतालमा रहेको उनले बताए । करिब तीन महिनाको उपचारपछि उनी निको भएर घर फर्किए ।
घटनाको लामो समयसम्म उनको उपचार भइरह्यो । त्यसपछि विस्तारै काम गर्न थाले । घाइतेलाई त ज्यूँदै इँटाभट्टामा पोलेको आरोप खेपेका आलमले भागेर ज्यान जोगाएकाहरुलाई हेर्ने र उपचार खर्च दिने अवस्थै थिएन । न आलमले कुनै सोधखोज गरे, न गौरीशंकर फर्केर उनकोमा पुगे ।
साढे तीन महिनाको उपचारबाट जसोतसो घर फर्किए पनि गौरीशंकरलाई पूरै निको भएको छैन । घर–भवन निर्माणको काम गर्ने उनी केहीबेरमै गल्छन् । निरन्तर खटेर काम गर्न सक्दैनन् । विस्फोटपछि शरीरकै अन्य भागबाट छाला निकालेर घाउ टालिएको थियो ।
गर्मीको बेलामा उनको ज्यानले असाध्यै सास्ती पाउँछ । शरीर पोल्छ, भारतमा गर्मी भएका बेलामा त्यसलाई छल्न उनले पटकपटक काठमाडौं, पोखरा गएर काम पनि गरे । आमा, श्रीमती र तीन सन्तानका लागि पनि हिम्मत जुटाइरहेका उनी बेलाबेलामा आउने धम्की र त्रासबाट भने बिथोलिन्छन् ।
ज्यूँदो साक्षी
चैत, २०६४ को घटनामाथि अनुसन्धान शुरु हुन १२ वर्ष पर्खिनुपर्यो । सर्वोच्च अदालतको पटकपटकको आदेशपछि रौतहट प्रहरीले पूर्वसांसद आलमलाई पक्राउ गरेर अनुसन्धान शुरु गर्यो । अनुसन्धानका क्रममा प्रहरीले विस्फोटबाट केही भारतीय घाइते भएको, शरीरमा खत भएका उनीहरु भारतमा रहेको सूचना पायो ।
खोजबिन गर्दा भारतको सीतामढीमा गौरीशंकर राम चमार भेटिए । उनको अनुहारभर विस्फोटको खत थियो । दुवै कानका लोती थिएनन् । र छातीदेखि माथि पूरै खत थियो । प्रहरीसँगको बयानमा उनले ‘त्यो दिन आफू घटनास्थलमा रहेको, ठूलो आवाजमा विस्फोट भएको र विस्फोटपछि बाँचेर ज्यान जोगाएको’ बयान दिए ।
‘बम विस्फोटबाट मेरो दुवै कान चुँडिएको, घाँटी र छाती समेतमा बमको छर्रा लागी म घाइते भएकोमा होसमा आउँदा भारतको सीतामढीस्थित सदर अस्पतालमा भर्ना भएको रहेछु’ उनले बयानमा भनेका थिए, ‘अस्पतालमा म सँगै इँटा उद्योगमा काम गर्ने मेरै गाउँको नरेश राम, बिकाउ राम उपचार गराउँदै गरेको अवस्थामा देखेको हुँ, उनीहरुले हामी पनि त्यही बम विस्फोटमा परी घाइते भएका हौं भनी बताएका थिए ।’
त्रिवि शिक्षण अस्पतालले गरेको स्वास्थ्य परीक्षण प्रतिवेदन अनुसार, गौरीशंकर सहित सफी अहमद विस्फोटबाट घाइते भएका हुन् । उनकै शरीरको घाउखत जाँच प्रतिवेदन र बयान अनुसार, प्रहरीले रौतहटको राजापुरमा त्यो दिन विस्फोट भएको भनी प्रतिवेदन तयार गरेको थियो ।
मुद्दा चलेपछि उनले जिल्ला अदालतमा पनि त्यही व्यहोराको बयान गरेका थिए । अदालतमा बयान नगर्न निकै दबाब आएको उनी स्वयं स्वीकार्छन् ।
‘कतिबेला मलाई मार्छन् कि घरका कसैलाई केही गर्छन्, असाध्यै डर लागिरहेछ’ उनी भन्छन्, ‘म नभएको बेलामा घरमा गएर आमा र श्रीमतीलाई गौरीशंकर जतिबेला पनि मारिन सक्छ भनेर धम्की दिए, त्यसपछि त डर लाग्नु स्वाभाविकै हो ।’
उनको दावीलाई त्यतिबेला जिल्ला अदालतको आदेशले पनि पुष्टि गर्छ ।
जिल्ला अदालत रौतहटले जाहेरीकर्ता एवं साक्षी समेत रहेका गौरीशंकरमाथि सुरक्षा चुनौती रहेको भन्दै उनी लगायतलाई सुरक्षा दिन आदेश नै जारी गरेको थियो ।
आदेशमा भनिएको छ, ‘गौरीशंकर राम चमारले निवेदन दिएको देखिएकोले जाहेरवाला, पीडित र साक्षीहरुको सुरक्षाको प्रत्याभूति दिनुपर्ने जिम्मेवारी र दायित्व नेपाल सरकारको रहेको र कसूरको गम्भीरतालाई विचार गर्दा निजहरुलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने आवश्यक देखियो ।’
जिल्ला अदालतले फैसला गर्दा गौरीशंकरको जाहेरी र बकपत्रलाई महत्वपूर्ण प्रमाण मानेको थियो ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले भनेको थियो, ‘….यसबाट पनि विस्फोट भएको, निज समेत घाइते भएको र निज त्यहाँबाट गई उपचार गराई बचेको भन्ने कुरा समर्थित हुन्छ । जसलाई मोहम्मद आफताव आलम लगायतको समूह (प्रतिवादी) ले अन्यथा सावित गर्न सक्नेगरिको कुनै ठोस प्रमाण वा जिकिर प्रस्तुत गर्न सकेको देखिंदैन ।’
तर फैसला बोल्छ- विस्फोटका घाइते होइनन्
उच्च अदालतले भने गौरीशंकरले पेश गरेको कुनै पनि कुरालाई प्रमाण मानेको देखिएन । घाइते भएलगत्तै भारतमा उपचार गर्दा उनका आफन्तले बम विस्फोटबाट घाइते भएको भनेमा उपचार गर्न कठिन हुने भएपछि स्टोभ पड्किएको भनी लेखाएका थिए ।
अस्पतालमा लेखाएको त्यही विवरणलाई उच्च अदालतले आरोपितहरुलाई सफाइ दिने आधार बनाएको देखिन्छ । उच्च अदालतले स्टोभ पड्की घाउखत लागेको भन्ने अस्पतालको प्रेस्किप्सन रहेको भन्दै विस्फोटबाट घाइते भएको तथ्यमै प्रश्न गरेका थिए ।
न्यायाधीशहरुले ‘बेहोस भई लडेको व्यक्तिले अरुलाई कसरी फोन गर्नसक्छ ?’, भनी प्रश्न गरेका छन् । उच्च अदालतले ‘बेहोशी अवस्थामा फोन गरेको भन्ने कुरा अपत्यारिलो रहेको’ भनी उनको बकपत्रमा खोट देखाउँदै प्रमाणको रूपमा लिन अस्वीकार गरेको थियो ।
आलमको घर र ईटाभट्टामा काम गर्नेहरुले गौरीशंकरलाई नचिनेको न्यायाधीशहरुले फैसलामा लेखेका छन्, ‘जाहेरी व्यहोरा भन्दा फरक बकपत्र रहेको तथा परस्परमा विरोधाभासयुक्त बकपत्र समेतका आधारमा निज गौरीशंकर रामको बकपत्र सत्यतामा आधारित नरहेकोले विश्वसनीय प्रमाणको रुपमा ग्रहणयोग्य रहेको देखिएन ।’
गौरीशंकरलाई उच्च अदालत वीरगञ्जको फैसला निको लागेको छैन । घटनापछि कैदमुक्त भएका आलम र उनका सहयोगीहरुले केही तलमाथि गर्ने हुन् कि भन्ने चिन्ता छ उनलाई । सीतामढीको गर्मी, त्यसमाथिको त्रास । उनी शुभेच्छुकहरुको सहयोगले काठमाडौं आएका हुन् ।
‘ठिक से (ठिक ढंगले) मिसिल हेरेर फैसला गरिदिनुपर्थ्यो, उहाँहरुले गलत फैसला गर्नुभएको छ’, जाहेरीकर्ता र साक्षी समेत रहेका गौरीशंकर भन्छन्, ‘हामी त त्यही घटनामा परेर जलेका साक्षी हौं, शरीरको यस्तो अवस्था छ, घटना देख्ने म त ज्यूँदै छु, उहाँले कसरी त्यहाँ बम नै पड्किएको छैन भन्न सक्नुभयो ?’
प्रतिक्रिया 4