+
+
Shares

तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ४.८ प्रतिशत, निर्माण क्षेत्रले लियो गति

यो त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक हुने अनुमान छ । यो अवधिमा निर्माण क्षेत्रले गति लिएको देखिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार २३ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा अर्थतन्त्र ४.८ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ।
  • अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक हुन सक्ने र निर्माण, विद्युत्, वित्तीय, खानी तथा खनीज क्षेत्रमा वृद्धिको संकेत गरिएको छ।
  • अर्थतन्त्रको कुल वृद्धिदर ०.६ प्रतिशत हुने र वार्षिक आर्थिक वृद्धिदर ४.६१ प्रतिशतको अनुमान गरिएको छ।

२३ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ तेस्रो त्रैमास (माघ-चैत) मा अर्थतन्त्र ४.८ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आव २०८०/८१ को सोही त्रैमासको तुलनामा अर्थतन्त्रमा यस्तो विस्तार हुने अनुमान गरिएको हो । यो त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक हुने अनुमान छ । यो अवधिमा निर्माण क्षेत्रले गति लिएको देखिएको छ ।

साथै, विद्युत् उत्पादन तथा वितरणमा वृद्धि, वित्तीय तथा बीमा क्षेत्रमा भएको वृद्धि, खानी तथा खनीज पदार्थको उत्खनन्‌मा भएको वृद्धिले अर्थतन्त्र विस्तारमा सकारात्मक भूमिका खेलेको कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए ।

कार्यालयले अर्थतन्त्रका १८ औद्योगिक क्षेत्रको गणना गर्दै आएको छ । यो अवधिमा शिक्षा, पानी तथा फोहोर व्यवस्थापन, आवास तथा भोजन क्षेत्रमा भने औसतमात्र वृद्धि देखिएको छ ।

उता, चालु आव दोस्रो त्रैमास (कात्तिक-पुस) को तुलनामा भने तेस्रो त्रैमासमा अर्थतन्त्र ०.६ प्रतिशले वृद्धि हुने अनुमान छ । दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा १८ औद्योगिक क्षेत्रमध्ये यातायात तथा भण्डारण, वित्तीय तथा बीमा र आवास तथा भोजन क्षेत्र ऋणात्मक अवस्थामा पुगेको कार्यालयको तथ्यांक छ ।

अन्य क्षेत्रको वृद्धिसमेत सामान्य रहँदा कुल गार्हस्थ उत्पादन (जीडीपी) को वृद्धि झिनोमात्र देखिएको हो । यो अवधिमा विद्युत् उत्पादन र वितरण क्षेत्रको वृद्धिदर उल्लेख्य रहेको देखिन्छ ।

औद्योगिक क्षेत्रगत वृद्धिदर कति ?

कार्यालयले जीडीपीको वृद्धिदरका लागि गणना गर्ने १८ औद्योगिक क्षेत्रमध्ये विद्युत् उत्पादन तथा वितरणको सबैभन्दा धेरै १२.५ प्रतिशतले वृद्धि भएको छ । निर्माण क्षेत्र ६.९ प्रतिशतले बढेको छ । खानी तथा खनिज पदार्थ उत्खनन्‌ र वित्तीय तथा बीमा क्षेत्र ६.७ प्रतिशतले वृद्धि भएको छ ।

सूचना तथा सञ्चार क्षेत्र ६.६ प्रतिशत, यातायात तथा भण्डारण ६.३ र औद्योगिक उत्पादन ६.२ प्रतिशतले विस्तार भएको अनुमान कार्यालयको छ । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कृषिको वृद्धिदर ३.६ प्रतिशत रहने देखिएको छ ।

हिउँदे बाली, तरकारी बाली र केही नगदेबाली उत्पादन यस वर्ष बढेको लामिछानेले जानकारी दिए । अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.६ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

उत्पादनमूलक उद्योगको वृद्धिदर ६.२, शिक्षा २.३, पानी आपूर्ति २.४ र आवास तथा भोजन क्षेत्रको वृद्धिदर २.५ प्रतिशतले बिस्तार हुने देखिन्छ ।

अघिल्लो त्रैमासको तुलनामा कुन क्षेत्र तङ्ग्रिए, कुन सेलाए ?

कार्यालयका अनुसार दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासको आर्थिक वृद्धिदरको अवस्था हेर्दा १८ औद्योगिक क्षेत्रमध्ये १५ वटाको विस्तार भएको छ । तीन क्षेत्र घटेको छ । यो अवधिमा विद्युत् तथा ग्यास उत्पादन सबैभन्दा बढी ५.५ प्रतिशतले विस्तार हुने अनुमान छ । सेवा क्षेत्रमा २.५ प्रतिशतको वृद्धि हुने देखिएको छ ।

अर्थतन्त्रमा बढी हिस्सा ओगट्ने कृषिको ०.७ प्रतिशतमात्र वृद्धि हुने अनुमान छ । समग्रमा ०.६ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरिएको छ ।

ऋणात्मक वृद्धिदर हुनेमा यातायात तथा भण्डारण क्षेत्रको –३.३ प्रतिशत, वित्त तथा बीमा क्षेत्रको –१.६ प्रतिशत र आवास तथा भोजन क्षेत्रको वृद्धिदर -०.८ प्रतिशतले ऋणात्मक रहने कार्यालयले जनाएको छ ।

चालु आव २०८१/८२ मा वार्षिक आर्थिक वृद्धिदर भने ४.६१ प्रतिशत हुने कार्यालयको अनुमान छ । गत वैशाखमा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांक अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।

अघिल्लो आव २०८०/८१ मा ३.६७ प्रतिशतले अर्थतन्त्र विस्तार भएको थियो । २०७९/८० मा भने १.९८ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको कार्यालयको तथ्यांक छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?