+
+
Shares

…त्यसपछि बालकले बोल्न बिर्सिएर भुक्न थाले

आफ्नी आमा र दाजुले भावनात्मक रूपमा त्यागेपछि ती बालकले माया र साथको खोजीमा भुस्याहा कुकुरहरूको झुन्डसँग नजिकिए । उनी कुकुरसँगै खेल्न थाले, बस्न थाले र अन्ततः कुकुरको व्यवहार नक्कल गर्न थाले। यतिसम्म कि उनी बोल्नुको साटो भुक्न थाले ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १३:५२

थाइल्याण्डको उत्तरादित प्रान्तका एकजना ८ वर्षे बालकको अवस्थाले सबैलाई मर्माहत बनाएको छ।  वर्षौंदेखि लागूपदार्थ दुर्व्यसनमा लिप्त भएकी आफ्नो आमाबाट बेवास्तामा परेर असहाय बनेका ती बालक कुकुरहरुसँगै बस्न थालेका थिए ।

लामो समयसम्म कुकुरहरुको संगतले उनको आनीबानी र बोली व्यवहार समेत ठ्याक्कै कुकुरको जस्तो भयो । उनी मानिस हुन् तर मानिसले जस्तै बोल्नुको साटो कुकुरले जस्तै भुक्न थाले ।

फाउन्डेशन फर चिल्ड्रेन एन्ड वुमेनकी पाविना होङसाकुललाई उक्त पीडादायक घटनाको बारेमा  लाप लाए जिल्लास्थित एक विद्यालयका प्रधानाध्यापकले जानकारी गराएका थिए । ती बालकलाई उनकी आमाले एकपटक मात्र विद्यालय ल्याएकी थिइन् र त्यो पनि सरकारी सहायता पाउनका लागि मात्र ।

तर, उनले छोरालाई कहिल्यै पनि विद्यालयमा भर्ना गरिनन् । साथै उनलाई घरमा पनि कुनै हेरविचार र स्याहारसुसार गरिनन् । आफ्नी आमा र दाजुले भावनात्मक रूपमा त्यागेपछि ती बालकले माया र साथको खोजीमा भुस्याहा कुकुरहरूको झुन्डसँग नजिकिए । उनी कुकुरसँगै खेल्न थालेबस्न थाले र अन्ततः कुकुरको व्यवहार नक्कल गर्न थाले। यतिसम्म कि उनी बोल्नुको साटो भुक्न थाले ।

पाविना होङसाकुलले तत्कालै लाप लाए जिल्लाको स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाइन्। छानबिनका क्रममा प्रधानाध्यापकले दिएका सबै सूचना सही भएको पुष्टि भयो। प्रहरीले ती  बालककी ४६ वर्षीया आमा र २३ वर्षे दाजुको परीक्षण गर्दा दुवैजनाको शरीरमा लागुपदार्थ सेवनको लक्षण भेटियो। ती दुवै जनाले बालकको हेरचाह नगरी धेरैभन्दा धेरै लागुपदार्थ सेवन गर्नमा केन्द्रित थिए ।

ती महिलाले प्रायः पैसा र खानेकुरा मागेर जीवन गुजारा गरिरहेकी थिइन् । उनले लागुपदार्थ सेवन गर्ने कुरा सबैलाई थाहा भएकाले गाउँलेहरू उनको परिवारबाट टाढा रहन्थे । त्यसैले उक्त बालकसँग गाउँका अन्य बालबालिका खेल्दैनथे । घरभित्र पनि आमा र दाजुले उपेक्षा गरेपछि ती बालकले कुकुरहरूको साथमा आफूलाई सुरक्षित महसुस गर्न थाले अनि कुकुरकै चाल र बोली नक्कल गर्न थाले ।

थाई पत्रिका खाओसोदका अनुसार ती बालकको उद्धार गरी हाल उनलाई उत्तरादित बाल गृहमा राखिएको छ । बोल्नै नजानेका ती बालकलाई विशेषज्ञहरूले उनलाई मानवीय भाषा बोल्न सिकाउने प्रयास गरिरहेका छन्। सरकारले ती बालकको औपचारिक शिक्षा सुनिश्चित गर्नेछ। गोपनीयताका कारण बालकको नाम चाहिँ सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?