
२४ असार, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले गरेको प्रस्ताव गरेको मितिमा महाधिवेशन गर्न नसके स्वतः भङ्ग हुने भएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुलाई उनीहरुले प्रस्ताव गरेको समयावधि उपलब्ध गराएको छ । भ्रातृ संस्थाहरुले फरक-फरक समयमा महाधिवेशन गर्ने गरी पार्टीलाई प्रस्ताव गरेका छन् । माघसम्म सबै भ्रातृ संस्थाको महाधिवशेन सक्ने तयारी गरिएको छ ।
नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, किसान महासंघ, थारू संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघले महाधिवेशन गर्न सकेका छैनन् ।
२०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधी समाप्त हुने भनि यसअघि पनि पार्टीले निर्देशन दिएको थियो । पार्टी बैठकले तदर्थ समितिले २०८१ चैत्र मसान्तपछि गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ।
प्रस्तावित कार्यतालिका अनुसार महाधिवेशन गराउन पार्टीका तर्फबाट निर्देशक समितिलाई कार्यादेश दिइने भएको छ । अधिवेशन गराउन पार्टी केन्द्रीय समितिबाट प्रत्येक भ्रातृ संस्थाका लागि ३÷३ जना हुने गरी निर्देशक समिति बनाइएको छ ।
महाधिवेशन गर्नका लागि हरेक भ्रातृ संस्थामा व्यवस्थापन समिति समेत गठन गरिने भएको छ ।
‘महाधिवेशन तयारी र व्यवस्थापनमा सहजीकरणका लागि पार्टीले सम्बन्धित संघको मौजुदा तदर्थ समितिका अध्यक्ष सहित महाधिवेशन व्यवस्थापन समिति बनाउनेछ,’ पार्टी निर्णयमा भनिएको छ,‘तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न पार्टीका प्रदेश, जिल्लालगायतका सबै तहगत समिति र अन्य सम्बन्धित सबैले निर्देशन समितिलाई आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्नु पर्नेछ ।’
प्रतिक्रिया 4