+
+
Shares

प्राधिकरणमा हितेन्द्रदेवका १०० दिन : विपन्न परिवारलाई ९०० थान मिटर निःशुल्क वितरण

बंगलादेशसँग भएको विद्युत् निर्यात सम्झौता अवधिका लागि एलसी खोलेर १५ जुन २०२५ देखि नियमति ४० मेगावाट विद्युत् निर्यात गरिएको र भारतमा दैनिक औसत ६ सय २५ मेगावाट निर्यात भइरहेको शाक्यले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १ सय दिनको कार्यकालमा श्वेतपत्र जारी गरी ऊर्जा सुरक्षा र वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिए।
  • उनले कुलेखानी, हुलिङटार, उत्तरगंगा र अपर अरुण जस्ता आयोजना र प्रसारण प्रणालीको विकास र सुधारका कार्यहरू सम्पन्न गरेको बताए।
  • शाक्यले विद्युत् निर्यात, नयाँ आयोजना र जग्गा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको जानकारी दिए।

२४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालको १ सय दिन पूरा गरेका छन् ।

शाक्यले कार्यकालको सय दिनमा भएका प्रमुख कामबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेका छन् । उनले सय दिनभित्र गरेका प्रमुख काममध्ये ‘प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्गचित्र देखाउने गरी जारी गरिएको श्वेतपत्र’ लाई पहिलो र महत्त्वपूर्ण भनेका छन् ।

उनका अनुसार श्वेतपत्रले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत्, नवीनतम उपायबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्यांक तथा मानवस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

ऊर्जा सुरक्षा र विश्वसनीय ऊर्जाका लागि कुलेखानी सिस्नेरी १ सय मेगावाट र हुलिङटार दुम्किम ४ सय ९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यताका लागि लाइसेन्स आवेदन गरिएको, बीईएसएस अध्ययन तथा निर्माण सहयोगको पहल सुरु गरिएको तथा उत्तरगंगा तथा अपर अरुण लाइसेन्स प्रक्रिया अगाडि बढाइएको शाक्यले बताए ।

त्यसैगरी ४३ एमभीए क्षमता बराबरको चार वटा ३३÷११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको, विभिन्न १२ सामुदायिक संस्थाका करिब ७ हजार ३ सय १५ ग्राहकलाई प्राधिकरणको ग्राहकमा रूपान्तरण गरिएको, करिब ९ सय थान मिटर गरिब तथा विपन्न परिवारलाई निःशुल्क वितरण गरिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

शाक्यका अनुसार काठमाडौं उपत्यकाभित्र नियमित, भरपर्दाे र गुणस्तरीय विद्युत् आपूर्ति व्यवस्था मिलाउन उपत्यकाभित्रका विभिन्न १७ वटा स्विचिङ तथा सबस्टेसनमा जडान भएका फिडर सञ्चालन अवस्था स्युचाटारमा रहेको वितरण नियन्त्रण केन्द्रमार्फत चौबिसै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै प्रसारण लाइन तथा सबस्टेसन निर्माणतर्फ १ सय ४ सर्किट किलोमिटर र ३ सय ६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किलोमिटर प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको शाक्यले बताए ।

‘प्रसारण लाइन निर्माणमा देखिएको जग्गाप्राप्तिको समस्या समाधानका लागि मार्गाधिकार भित्र पर्ने जग्गा कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था मन्त्रालय मार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ,’ कार्यकारी निर्देशक शाक्यले पत्रकार सम्मेलनमा भने, ‘मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत् तथा अन्य सामूहित खेती प्रणाली विकासको अवधारणा अगाडि बढाइएको छ ।’

त्यसबाहेक त्यस्ता जग्गाधनीहरूलाई विद्युत् प्राधिकरणका आयोजनाहरूमा प्राथमिकता साथ सेयर दिने व्यवस्थाका लागि पहल गरिएको उनको भनाइ छ ।

उनका अनुसार गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति व्यवस्था मिलाउन निजगढ–पोखरिया ४०० केभी, बालाजु–महाराजगञ्ज–सिंहदरबार १३२ केभी, दूधकोशी पावरहाउसदेखि शितलपाटी–तिन्गला–दूधकोशी ४०० केभी प्रसारण लाइन निर्माण अनुमतिका लागि प्रक्रिया सुरु गरिएको छ ।

त्यसैगरी बंगलादेशसँग भएको विद्युत् निर्यात सम्झौता अवधिका लागि एलसी खोलेर १५ जुन २०२५ देखि नियमति ४० मेगावाट विद्युत् निर्यात गरिएको र भारतमा दैनिक औसत ६ सय २५ मेगावाट निर्यात भइरहेको पनि शाक्यले बताए ।

शाक्यले १ सय २ मेगावाट मध्यभोटेकोशी आयोजनाको मुख्य सुरुङ संरचनामा देखिएको प्राविधिक समस्या (पानी चुहिने) समाधान गरी ‘वेट टेस्ट’ प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए ।

त्यस्तै विभिन्न ६२.९७ मेगावाट क्षमताका ७ जलविद्युत् तथा सोलार आयोजनाको व्यावसायिक उत्पादन सुरु भएको, ४ हजार ९ सय ६६ मेगावाट जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन एग्रिमेन्ट प्रावधान अनुसार विद्युत् खरिद–बिक्री सम्झौता प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?