+
+
Shares

सोबिताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १५:३५

२४ असार, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।

सांसद गौतमले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको समाचार आएको भन्दै उक्त विषय गम्भीर रहेको बताएकी थिइन् ।

त्यसप्रति आपत्ति जनाउँदै मुख्य सचेतक महेश बर्तौलाले संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् ।

‘केही माननीयज्यूहरूले असाध्यै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषय यो संसद्मा राख्नुभएको छ । बोल्न पाउने अधिकारलाई दुरुपयोग गर्दै प्रधानमन्त्रीज्यू स्पेनको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो,’ बर्तौलाले भने, ‘उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मान्छे स्पेनमै बसेका छन्, भिजिट भिसामा गएर फर्किएका छैनन् भन्ने विषय यहाँ प्रस्तुत भए । यी विषय असाध्यै निराधार, कपोकल्पित र भ्रामक र यस्तो गरिमामय संसद्मार्फत जिम्मेवार सांसदबाट तथ्यहीन कुरा गर्ने कुरा बेठीक छ । यस्ता तथ्यहीन भ्रमणपूर्ण विषयलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’

साथै, उनले को को मान्छेहरू नफर्किएका हुन् ? त्यसबारे संसद्मै बोलेर भन्न चुनौती पनि दिए ।

‘को मानिसहरू प्रधानमन्त्रीज्यू साथमा गएर फर्किएनन् ? को को व्यक्तिहरू नफर्किएका हुन् ? बोल्ने माननीयज्यूले को को मान्छे फर्किएनन् भन्ने कुरा यो संसद्मै जानकारी गराइनुपर्छ,’ बर्तौलाले भने ।

प्रधानमन्त्रीको सचिवालयले पनि उक्त विषय भ्रामक रहेको भन्दै नफर्किएकाहरूको सूची सार्वजनिक गर्न सांसद गौतमलाई चुनौती पेस गरेको छ ।

प्रधानमन्त्री ओलीसहितको सरकारी टोली गत १४ असारमा स्पेन गएको थियो ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन गएका प्रधानमन्त्री ओलीसहितको टोलीमा अन्य व्यक्ति पनि गएको र उनीहरू नफर्किएको सांसद गौतमले बताएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?