+

पुरुषमा समस्या देखिए अरुको वीर्य लिएर सन्तान जन्माउन सकिन्छ (भिडियो)

२०८२ असार  २५ गते ८:५५ २०८२ असार २५ गते ८:५५

हामीले तोकेको उमेर समूहमा सबैभन्दा बढी कलेज पढ्दै गरेका त्यसमा पनि स्नातक पढ्दै गरेका युवाहरू बढी आउनुहुन्छ ।

पुरुषमा समस्या देखिए अरुको वीर्य लिएर सन्तान जन्माउन सकिन्छ (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘सन्तान नहुनु महिलाको कमजोरी हो’ भन्ने सोच समाजमा अझै गहिरो छ तर त्यसमा पुरुषको स्वास्थ्य पनि भूमिका हुन्छ।
  • वीर्य दान एक प्रभावकारी विकल्प हो, जसले स्वस्थ वीर्यबाट गर्भाधान सम्भव बनाउँछ र नेपालमा यसको स्वीकार्यता बढ्दैछ।
  • वीर्यको गुणस्तर जाँच, गोपनीयता र कानुनी प्रक्रिया पालना आवश्यक छ, र दाताको उमेर, स्वास्थ्य र वंशाणुगत इतिहास जाँच गरिन्छ।

‘सन्तान नहुनु महिलाको कमजोरी हो’ भन्ने सोच हाम्रो समाजमा अझै गहिरो रूपमा गडेर छ । जब बच्चा हुँदैन, औंला महिलातर्फ उठ्छ ।  जुन गलत हो । सन्तान नहुनुमा पुरुषको स्वास्थ्य र वीर्यको भूमिका पनि हुनसक्छ ।

धेरैलाई थाहा नहुनसक्छ, हर्मोनल असन्तुलन, शुक्रकीटको कमी वा कमजोर गुणस्तरका कारण पुरुष पनि सन्तान जन्माउने क्षमताबाट वञ्चित हुन सक्छन् । तर, आधुनिक प्रजनन् प्रविधिहरूले यो समस्याको समाधान निकालिसकेको छ । तीमध्ये सबैभन्दा संवेदनशील तर प्रभावकारी विकल्प हो-वीर्य दान ।

यो प्रक्रिया निःसन्तान दम्पतीका लागि उज्यालो किरण बनेको छ, जहाँ कुनै अर्को पुरुषले दिएको स्वस्थ वीर्यबाट शुक्रकीट निकालेर महिलाको अण्डासँग निषेचन गराई गर्भाधान गरिन्छ ।

नेपालमा पनि वीर्य दानप्रति बुझाइ र स्वीकृति बढ्दो छ । विगतमा यो विषय ‘ट्याबु’ जस्तै रहँदा आज सामाजिक सञ्जाल, सञ्चार माध्यम र फर्टिलिटी क्लिनिकहरूको पहलबाट खुला बहसको विषय बन्दै गएको छ ।

यसै सेरोफेरोमा रहेर वात्सल्य नेचुरल आइभीएफ सेन्टरमा कार्यरत प्रसूति तथा निःसन्तान रोग विशेषज्ञ डा. अस्मिता पाण्डेसँग अनलाइनखबरका लागि मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :-

वीर्य दान के हो ?

दम्पतीमध्ये श्रीमतीको प्रजनन् स्वास्थ्य अवस्था ठिक छ । तर, श्रीमानको वीर्य उत्पादन भइरहेको छैन वा वीर्य परीक्षण गर्दा गुणस्तरको पाइएन भने अरुको वीर्य लिई महिलाको अण्डामा निषेचन गराई गर्भाधान गराउने प्रक्रिया वीर्य दान हो ।

कस्ता दम्पती लागि दान गरिएको वीर्य आवश्यक पर्छ ? कति बेला यो सेवा लिनु उपयुक्त हुन्छ ?

प्राकृतिक रुपमा एक वर्षसम्म पनि प्रयास गर्दा सन्तान भइरहेको छैन । आइभीएफबाट गर्दा पनि शुक्रकीटको गुणस्तर राम्रो देखिएन । पुरुषमा हर्मोनल उत्तरचढावले वीर्यको उत्पादन नै भएको छैन भने भण्डारण गरिएको वीर्यको प्रयोग गरी सन्तान जन्माउन सल्लाह दिइन्छ ।

वीर्यदाताको कसरी खोजी हुन्छ ? नेपालमा यसबारे सचेतना कतिको पाउनुभएको छ ? यो आवश्यक पर्दा मात्र पुरुषलाई बोलाउने हो कि ?

सुरु-सुरुमा वीर्य दाता खोज्न कठिन हुन्थ्यो । अहिले वीर्य दानसम्बन्धी सचेतना बढेको छ । फर्टिलिटी क्लिनिकहरूले सामाजिक सञ्जाल, मिडिया र अन्य माध्यमबाट जागरूकता फैलाउने प्रयास गरिरहेका छन् ।

प्राय पहिला आइराख्नु भएको पुरुषका साथीभाइ सर्कलमार्फत आइरहनु भएको हुन्छ । कतिपय दिनहुँ खेर गइरहने वीर्यले कसैले सन्तान सुख पाउछन् भने किन नदिने भनेर पनि आइरहेको पाउछौं ।

दान गरिएको वीर्यको गुणस्तर ठम्याउने आधार के हो ?

वीर्यमा तीनवटा कुरा हेरिन्छ । पहिलो शुक्रकीटको संख्या कति मात्रा छ भन्ने । प्रतिमिलिलिटर वीर्यमा कम्तीमा ३२ मिलियन शुक्रकीट हुनुपर्छ । दोस्रो चल्न सक्ने अवस्था हेरिन्छ । कतिको दुत्र गतिमा चल्छ भन्ने कुरा हुन्छ । कम्तीमा ४२ प्रतिशत शुक्रकीट गतिशील हुनुपर्छ, अर्थात् तिनीहरूमा चल्ने क्षमता हुनुपर्छ ।

तेस्रो भनेको शुक्रकीटको आकार सामान्य हुनुपर्छ । सामान्य शुक्रकीटमा अण्डाकार टाउको, छोटो घाँटी र लामो पुच्छर हुन्छ ।

असामान्य आकार (जस्तै, गोलो टाउको, बांगो घाँटी वा गतिहीन पुच्छर भएका शुक्रकीटहरू अयोग्य मानिन्छन् ।

कति उमेर समूहका पुरुषले दिन मिल्छ ? कस्तो हुन्छ संकलन प्रक्रिया ?

यसमा २१ देखि ३४ वर्षका पुरुष योग्य मानिन्छ । दाताको अनुहारको रङ, उचाइ, वंशाणुगत पृष्ठभूमि जाँच गरिन्छ । यसमा तीन पुस्ताको इतिहास लिइन्छ । उसको स्वास्थ्य स्थिति जाँच गरिन्छ । उनीहरू शारीरिक र मानसिक रुपमा पूर्णस्वस्थ हुनुपर्छ ।

कुनै पनि संक्रामक रोग, वंशाणुगत रोग वा परिवारमा विगत दुई पुस्तामा यस्ता रोगहरू भएको हुनुहुँदैन । यसका लागि रक्त परीक्षण र अन्य स्क्रिनिङहरू गरिन्छ । साथै, दान गरिएको वीर्यको आकार-प्रकार परीक्षण गरेर मात्र भण्डारणका लागि लगिन्छ ।

वीर्यदाता र वीर्य लिनेबीचको गोपनीयताको कतिको ख्याल गरिन्छ ?

यो प्रक्रियामा गोपनीयता सतप्रतिशत अपनाइन्छ । जसकारण कसले दिएको वा कसले लिएको भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन । तर व्यक्तिगत विवरणको अभिलेख भने आईभीएफ सेन्टर वा अस्पतालले राखिरहेको हुन्छ ।

यसमा वीर्य आवश्यक परेका दम्पतीले दाताको रङ, उचाइ र जातबारे जिज्ञासा राख्दा खुलाउन सकिन्छ । तर, व्यक्तिगत विवरण भने दिइँदैन । किनकी, वास्तविता खुल्दा भविष्यमा समस्या आउनसक्छ ।

यो प्रक्रियामा गोपनीयता सतप्रतिशत अपनाइन्छ । जसकारण कसले दिएको वा कसले लिएको भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन । तर व्यक्तिगत विवरणको अभिलेख भने आईभीएफ सेन्टर वा अस्पतालले राखिरहेको हुन्छ ।

यसमा वीर्य आवश्यक परेका दम्पतीले दाताको रङ, उचाइ र जातबारे जिज्ञासा राख्दा खुलाउन सकिन्छ । तर, व्यक्तिगत विवरण भने दिइँदैन । किनकी, वास्तविता खुल्दा भविष्यमा समस्या आउनसक्छ ।

यसरी वीर्य लिँदा वा दिँदा कुनै कानुनी प्रक्रिया पनि अपनाउनुपर्छ ?

हाल नेपालमा वीर्यदानलाई नियमन गर्ने स्पष्ट कानुनी ढाँचा छैन । तथापि, क्लिनिकहरूले दाता र ग्रहणकर्ता दुवैको सहमति पत्र लिन्छन् । यो सहमतिमा वीर्यदानको प्रयोग र सम्भावित परिणामहरूबारे स्पष्ट जानकारी हुन्छ ।

दात्ताका लागि दान गरेबापत पारिश्रमिकको सुविधा हुन्छ ? वा, उहाँहरूले रगतदान जस्तै निःशुल्क यो सेवा दिनुहुन्छ ?

दात्ताहरूका लागि दान गरेबापत शुल्क दिने व्यवस्था छ ।

प्राय दाताहरू कस्तो खालको बढी आउनुहुन्छ ?

हामीले तोकेको उमेर समूहमा सबैभन्दा बढी कलेज पढ्दै गरेका त्यसमा पनि स्नातक पढ्दै गरेका युवाहरू बढी आउनुहुन्छ ।

दाताबाट लिइएको वीर्य कसरी भण्डारण हुन्छ ? कस्तो हुन्छ प्रक्रिया ?

बाहिर त डिम्ब र अण्डा भण्डारणका लागि ब्लड बैंक जस्तो एक किसिमको बैंक नै बनाएर भण्डारण गरिन्छ । अनि आफूलाई चाहिएको क्राइट एरियाको लिने प्रक्रिया हुन्छ । तर, नेपालमा यो सुविधा छैन ।

यहाँ दाताहरूका लागि वीर्य संकलनको छुट्टै कक्ष तयार गरिएको हुन्छ, जुन पूर्णरूपमा आरामदायी र शान्त वातावरणमा थपिएको हुन्छ । त्यहाँ दाताबाट संकलन गरिएको वीर्य तुरुन्तै एन्ड्रोलोजी ल्याबमा लैजाने गरिन्छ, जहाँ विशेष प्रक्रिया अपनाइन्छ ।

वीर्यलाई स्वस्थ र सुरक्षित राख्न आवश्यक पोषकतत्वहरू मिसाइन्छ र त्यसपछि विशेष ट्युबहरूमा राखिन्छ । यी ट्युबहरूलाई–१९६ डिग्री सेल्सियस तापक्रमको तरल नाइट्रोजनमा राखेर जमेको अवस्थामा भण्डारण गरिन्छ ।

भण्डारण गरिएका वीर्यलाई कम्तीमा तीन महिनासम्म राखिएपछि मात्र आवश्यक परीक्षणहरू गरी प्रयोगमा ल्याइन्छ, ता कि त्यसको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न सकियोस् ।

भण्डारण गरिएको वीर्यलाई कसरी निषेचन गराइन्छ ?

निषेचन गर्ने एउटा प्रक्रिया मात्र छैन । पहिला आईभीएफ मात्र हुन्थ्यो । अहिले इक्सी भन्ने नयाँ उपचार प्रक्रियाबाट निषेचन गराइन्छ ।आईभीएफबाट निषेचन गराउँदा एउटा काँचको ग्लासको प्लेट जस्तो हुन्छ । त्यसमा अण्डा र शुक्रकीट राखेर छाडिदिँदा आफैँ मिलन हुन्छ भनेर छोडिन्छ ।

अर्को इक्सी प्रक्रियामा भने हाइपावर माइक्रोस्कोपबाट हेरी शुक्रकीटलाई अण्डाभित्र लगेर सुईको माध्यमबाट पसाउँछौं । जसले गर्दा भ्रूण बन्छ । यो प्रक्रियाको सफलतादर उच्च देखाएको कारण हाम्रो आईभिएफ सेन्टरमा इक्सी प्रक्रिया नै प्रयोग हुन्छ ।

दान गरिएको वीर्य कसरी गर्भसम्म लगिन्छ ? कति लाग्छ शुल्क ?

गर्भसम्म पुर्‍याउने प्रक्रिया फरक हुनसक्छ । फरक भएसँगै शुल्क पनि फरक पर्न जान्छ । आयूआई भन्ने प्रक्रियामा वीर्य सफा गरेर महिलाको जिउमै बनेको अण्डामा मिलन होस् भनेर पाठेघरमा लगेर छोड्दिने आयूआई प्रक्रिया आईभीएफमा जानुपरेन भने सस्तो नै हुन्छ ।

महिलाको पनि प्रजनन्मा समस्या देखिएर आईभीएफमै जानुपर्ने जस्तो देखिएको छ भने वीर्य लिएर आईभीएफ माध्यमबाट पनि बच्चा राख्छौँ । त्यो अलि महँगो पर्न जान्छ ।

एकजना दात्ताको वीर्य कति महिलाका लागि काम लाग्छ ?

पहिला त धेरैमा प्रयोग हुन्थ्यो । अहिले यसरी धेरैमा प्रयोग गरिँदैन ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार, एउटा दाताको वीर्य अधिकतम ७ परिवारमा प्रयोग गर्न सकिन्छ । यो नियमले भविष्यमा रक्तसम्बन्धी समस्याहरूलाई रोक्न मद्दत गर्छ । नेपालमा पनि यो मापदण्डलाई पालना गर्ने प्रयास भइरहेको छ ।

किनकी, अनियन्त्रित वीर्यदानले रक्तसम्बन्धी विवाहको जोखिम बढाउँछ, जसले जेनेटिक रोगहरू निम्त्याउन सक्छ ।

सन्तानहरूमा धेरै सौतेनी दाजुभाइ–दिदीबहिनी भएको थाहा पाउँदा मनोसामाजिक तनाव र पहिचान सम्बन्धी संकट उत्पन्न हुन सक्छ । अभिभावकहरूमा विश्वासको कमी र भावनात्मक तनाव बढ्न सक्छ । स्वास्थ्य स्क्रिनिङ नगर्दा संक्रामक रोग वा जेनेटिक समस्याहरू सन्तानमा देखिन सक्छ ।

उदारहणका लागि नेटफ्लिक्समा एउटा सिरिज छ, ‘द म्यान विथ थाउजेन्ड किड्स’ । त्यसमा दाताले दिएको वीर्य एकहजारभन्दा बढी परिवारमा पुगेको थियो । जसमा त्यसरी दान गर्दा मानसिक, शारीरिक र सामाजिक समस्या खेप्नु पर्ने परिणाम देखाएको थियो ।

पुरुषले वीर्यको गुणस्तर कायम राख्न के कस्तो कुरामा ध्यान दिनुपर्छ ?

वीर्यको गुणस्तरमा खानपानले पनि असर गर्ने हुँदा पोषक तत्व कम हुने जंकफुड, मैदाजन्य खानेकुरा, चिल्लो, तारेको खानेकुरा सकेसम्म खानुहुँदैन । फलफूल, तरकारी बढी खाने र खाना ठिक्क मात्रामा खानुपर्छ ।

अर्को भनेको आजभोलि शारीरिक बल लगाउनेभन्दा बढी बसेर गर्ने जागिर छ । ८ देखि ९ घण्टासम्म बसेर काम गर्दा शरीर फिट रहँदैन । त्यसैले, बिहान शारीरिक व्यायाम गर्ने, बसेर काम गर्ने अवस्थामा बेला-बेलामा उठेर यताउता हिँड्नु गर्नुपर्छ ।

तनावले पनि गुणस्तरमा प्रभाव पार्ने हुँदा तनाव व्यवस्थापन गर्ने, सकारात्मक रहन प्रयास गर्ने, चुरोट र रक्सी नपिउने गर्न सकेमा वीर्यको मात्रा, आकार-प्रकार र गुणस्तरमा सकारात्मक प्रभाव पार्छ ।

पुरुषले पनि महिलाको जस्तै सन्तान योजना बनाउनुअघि के कस्ता परीक्षण गर्नुपर्छ ?

पुरुषको पनि रगत परीक्षण गराउन आवश्यक छ । अहिले हर्मोनको समस्या महिलामा मात्र नभएर पुरुषमा पनि बराबरी रुपमै देखिन थालेको छ । जस्तो, भाटामिन डीको कमीले पनि वीर्यको गुणस्तरमा खराबी ल्याउन सक्छ । नतिजामा के कस्ता कमी देखिएको छ ? ती कमी सप्लिमेन्ट र जीवनशैली परिवर्तन गरेर सन्तान योजना बनाउनु उपयुक्त हुन्छ ।

तस्वीर/भिडियो : शंकर गिरी 

निसन्तान वीर्यदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय