
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले टेकुस्थित फोहोर ट्रान्सफर स्टेशनमा रहेका सामुदायिक कुकुरहरूको व्यवस्थापनका लागि सहकार्य र स्थानान्तरण योजना बनाएको छ।
काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि सरोकारवालाहरूलाई आह्वान गरेको छ । टेकुस्थित फोहोर ट्रान्सफर स्टेशन परिसरमा कुकुरहरूको संख्या धेरै भएकाले तिनीहरूलाई व्यवस्थापन गर्नुपर्ने भन्दै महानगरले सूचना निकालेको हो ।
सूचनामा भनिएको छ, ‘त्यहाँ कुकुरको संख्या धेरै भएकाले तिनीहरूले आक्रोश देखाउने गरेका छन् । त्यसकारण सिर्जना भएको असहज परिस्थितिलाई व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।’
त्यहाँ रहेका कुकुरमध्ये कतिपयलाई अन्यत्र सारेर ‘उनीहरूको सहजतापूर्वक बाँच्ने हक सुरक्षित गर्नुपर्ने’ भन्दै गत २० गते छलफल भएको पनि उल्लेख गरिएको छ ।
टेकुमा रहेको वातावरण विभागको कम्पाउण्डभित्र ५० भन्दा बढी कुकुरहरू रहेका कारण काम गर्ने वातावरण बिग्रिएको, कर्मचारीहरूलाई डर र असहज भएको गुनासो आएको छ । यस समस्यालाई समाधान गर्न महानगरले पशु कल्याणमा काम गर्ने विभिन्न संस्थाहरू-जस्तै स्नेहा केयर र एसपिसिए नेपालसँग सहकार्य गरी केही कुकुरहरू अस्थायी रूपमा उनीहरूको सेल्टरमा राख्ने निर्णय गरेको काठमाडौं महानगरपालिकाकी पशु चिकित्सक डा. पूजा खनालले जानकारी दिइन् ।
उनको भनाइमा, यी संस्थाहरूले जिम्मेवारीका साथ कुकुरहरूको हेरचाह गर्ने र उनीहरूलाई गैरजिम्मेवारीपूर्वक कतै नछोड्ने प्रतिबद्धता जनाएका छन् । अहिलेका लागि यो समाधान अस्थायी हो र दीर्घकालीन समाधानबारे अझै छलफल हुन बाँकी रहेको खनालले बताइन् ।
टेकुको अवस्था र पशु प्रेमीहरूको चिन्ता
जनावर प्रेमी मनिष राईका अनुसार, सिंहदरबार क्षेत्रमा रहेका सडक कुकुरहरूलाई टेकुको डम्पिङ साइटमा लैजाने र त्यहाँ व्यवस्थित नगरी केजमा थुनेर राख्ने गम्भीर समस्या देखिएको छ ।
उनले भने, ‘स्थानीय फिडरहरूका अनुसार काठमाडौं महानगरपालिकाले कुकुरहरूलाई उपचार र बन्ध्याकरणको नाममा उठाएर टेकुमा लैजान्छ, तर त्यहाँको कुकुरहरूको अवस्था दयनीय छ ।’
राईको भनाइमा, ‘महानगरपालिकाले टेकुको डम्पिङ साइटमा स्थानीयलाई प्रवेश गर्नसमेत रोक लगाएको छ, जसले पारदर्शीताको अभाव झल्काउँछ । ’उनले सुझाए, ‘वर्षमा दुई–तीन पटक बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेमा कुकुरको संख्या नियन्त्रण हुन्छ । त्यसतर्फ महानगरको ध्यान जान जरुरी छ । साथै, महानगरपालिकाले आफैँले व्यवस्थित सेल्टर बनाएर पारदर्शी रूपमा काम गर्नुपर्छ ।’
दीर्घकालीन समाधान के त ?
काठमाडौँ महानगरपालिकाको टेकुस्थित फोहोर ट्रान्सफर स्टेशनमा रहेका करिब ५० वटा सामुदायिक कुकुरहरूले फोहोर व्यवस्थापनमा समस्या उत्पन्न गराएका कारण संस्थाहरूसँग सहकार्य गरी तिनीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने योजना बनाएको सूचना जारी गरेको हो । तर, यो समस्याको दीर्घकालीन समाधान नभएको वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् ।
उनको भनाइमा कुकुरहरू आफ्नो क्षेत्रमा मात्र बस्ने र नजिकका समूहमा मात्र आवतजावत गर्ने हुँदा, तिनीहरूलाई अन्यत्र सार्दा खाली भएको ठाउँमा फेरि अर्को क्षेत्रका कुकुरहरू आएर उही समस्या दोहोरिन सक्छ ।
‘त्यहाँ सामुदायिक कुकुरहरूले आक्रमण गर्न खोज्नुको मुख्य कारण खुला रूपमा फालिएको फोहोर हो’ श्रेष्ठ भन्छन्, ‘जसले कुकुरहरूलाई आकर्षित गर्छ । कुकुरहरूको आक्रामक व्यवहार मानवीय उपस्थितिका कारण नभई खुला रूपमा देखिएको खानेकुराले उत्पन्न हुन्छ । त्यसैले फोहोर र खाद्य स्रोतलाई सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्छ ।’
उनका अनुसार, यदि फोहोरलाई बन्द प्रणालीमा सेग्रिगेसन र व्यवस्थापन गरियो भने कुकुरहरू त्यहाँ जम्मा हुँदैनन् । समाधानका लागि फोहोरलाई बन्द प्रणालीमा व्यवस्थापन गर्नुका साथै कुकुरहरूको बन्ध्याकरण र सामुदायिक स्तरमा खानपिनको व्यवस्था गर्नुपर्छ ।
श्रेष्ठले निष्कर्षमा भने, ‘कुकुरहरूलाई जबर्जस्ती अन्यत्र सार्दा तिनीहरूको प्राकृतिक बासस्थान र सामाजिक संरचनामा असर पर्न सक्छ, जुन उनीहरूको अधिकारको हनन् हो । बन्द फोहोर व्यवस्थापन र सामुदायिक सहयोगले मात्र यो समस्याको दीर्घकालीन समाधान हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4