
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिकमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माणको लागि निर्देशन दिए।
- उनले अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना बनाउन र यातायात सहज बनाउने कार्यमा जोड दिए।
- सडक विभागले क्षतिग्रस्त क्षेत्रमा प्राविधिक टोली परिचालन गरी संरक्षण, मर्मत र पुनर्निर्माण कार्य अघि बढाएको छ।
२४ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीबाट क्षतिग्रस्त सडक, पुल लगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
उनले क्षतिग्रस्त स्थानमा अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिए । भोटेकोशी नदीले पुर्याएको क्षति अध्ययन गरी यातायात सहज बनाउने तर्फ लाग्न समेत उनले निर्देशन दिए ।
अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुनर्निर्माण योजना बनाउन उनको निर्देशन छ ।
नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षति अध्ययन गरी जनजीवन र यातायात सहज बनाउने तर्फ जनशक्ति र स्रोतसाधन परिचालन गर्न उनले निर्देशन दिए ।
बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षायामभरि सुरक्षित यातायात र सडक सञ्चालन गर्न सम्बद्ध निकायसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले निर्देशन दिएका छन् ।
उक्त सडक बाहेक अन्य सडकतर्फ समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्न उनको निर्देशन छ ।
सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्याएको क्षति अध्ययन गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ ।
गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन भएको हो । बाढी र वर्षाको अवस्था हेरी सडक विभागको जनशक्तिले तत्काल काम सुरु गर्दैछ । अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यका लागि योजना समेत बनाउने छ । उक्त क्षेत्रमा गर्नुपर्ने संरक्षण मर्मत र पुनर्निर्माणका लागि विभागको टोलीले अन्य निकायसँग समेत समन्वय गरिरहेको सडक विभागले जनाएको छ ।
प्रतिक्रिया 4