+
+
Shares

‘माग्ने बुढा’ले छेडेको ६१ लाखको युद्ध : कसले जित्ला ?

‘माग्ने बुढा’ले आफ्नै निर्माता, लेखक र निर्देशकविरुद्ध पारिश्रमिकको हल्लालाई प्रतिवाद गरेर जोखिम उठाएका छन् । यो जोखिममा उनी सफल भए भने इमान बोक्ने कलाकारको रुपमा स्थापित हुनेछन् । यदि असफल भए, उनी आफैलाई प्रश्नले छाड्नेछैन ।

विष्णु शर्मा विष्णु शर्मा
२०८२ असार २५ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता केदार घिमिरेले ‘माग्ने राजा’को प्रचारमा रहेका बेला पारिश्रमिक विवादले चर्चा पाएको बताए।
  • उनीहरूले आफूलाई ‘माग्ने बुढा’को छवि बाट बाहिर निकाल्न र नयाँ भूमिकामा देखिन चाहेको बताएका छन्।
  • उनले भविष्यमा ‘प्रतिशत बाँडफाँट’ र नयाँ प्रयोगहरूमा काम गर्न इच्छुक रहेको व्यक्त गरे।

काठमाडौं । प्रेम गर्नूस वा घृणा, ‘पारिश्रमिक’ यतिबेला घरेलु फिल्मको यथार्थ हो । महिनायता सर्वाधिक ‘क्वाइन’ भैरहेको यो शब्द वरपर नेपाली फिल्म फन्को मार्दैछ ।

केमा लगानी गर्दा ठीक हुन्छ भन्ने कुरामा चर्चा हुँदै जाला तर, ‘पारिश्रमिक’बारेको बहस सघन हुँदै जाने पक्का छ । ‘स्टार ड्रिभन’ र ‘कन्टेन्ट ड्रिभन’को घनचक्करबीच यतिबेला ‘माग्ने बुढा’को ६१ लाख नेरु पारिश्रमिक प्रकरण चर्किएको छ ।

प्रदर्शन तयारीमा रहेको आफ्नो ११ औं फिल्म ‘माग्ने राजा’को प्रवर्धनमा बुर्कुसी मारिरहेका अभिनेता केदार घिमिरेलाई ‘पारिश्रमिक’ प्रश्नले पछ्याइरहेको छ । सजिलै प्रश्नले उनलाई छाड्ने छैन । लामो समय, घिमिरेले आफूलाई प्रमाणित गरिरहनुपर्नेछ ।

‘माग्ने बुढा’ले आफ्नै निर्माता, लेखक र निर्देशकविरुद्ध पारिश्रमिकको हल्लालाई प्रतिवाद गरेर जोखिम उठाएका छन् । यो जोखिममा उनी सफल भए भने इमान बोक्ने कलाकारको रुपमा स्थापित हुनेछन् । यदि असफल भए, उनी आफैलाई प्रश्नले छाड्नेछैन । यदि उनले युद्ध जिते भने नेपाली चलचित्रमा पारिश्रमिकको आवेग र फन्डा सँधैका लागि घट्नेछ ।

‘माग्ने बुढा’को यो प्रतिवाद आफूलाई स्टार भन्नेहरूको ‘मौनता’प्रति पनि लक्षित छ । उनले नेपाली फिल्म क्षेत्रको प्रवृत्तिलाई उदांगो पार्ने प्रयत्न गरेका छन् । यद्यपि, यसका नतिजा विस्तारै देखिएला ।

२ दशक लामो अभिनय करिअरमा केदार अहिलेजस्तो विवादमा कहिल्यै परेनन् । हालैको एक अपरान्ह अनलाइनखबरसँग संवाद गरिरहँदा केदारले डेब्यु फिल्म ‘दौड’देखि ‘छक्कापञ्जा’ सिरिज हुँदै ‘माग्ने राजा’सम्मका किस्सा उधिने ।

सुरुमै उनलाई सोधियो- तपाईं त सबैभन्दा महंगो कलाकार भन्छन् नि ?

उनले यो प्रश्नको जवाफ दिँदादिँदा आफू थाकिसकेको बताए । अहिलेसम्म यति पारिश्रमिक लिएको भनेर नभनेको उनले बताए । यो रस्साकस्सीमा केदारभित्र एउटा आत्मबोध भएछ- अब पारिश्रमिकको कुरा नगर्ने । चलचित्र र कर्मको कुरा गर्ने ।’

‘यो कुराले यति ठूलो रुप लेला भन्ने जस्तो लागेको थिएन । यति ठूलो रुप कि माग्ने बुढाले इन्डष्ट्रि बिगार्न थाल्यो भन्ने आरोप आउन थाल्यो । त्यसपछि बाहिर खुलेर बोल्नुपरेको हो’ उनले भने ।

‘माग्ने राजा’का निर्माताले हाइपका लागि आफूले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर हल्ला गर्दा आफू फसेको उनले बताए । उनले निर्माता, लेखक र निर्देशकप्रति यो सबथोकको दोष औंल्याए । यतिसम्मकी, सबै मिलेर आफूलाई सकाउन खोेजेको टिप्पणी उनले गरे ।

‘लेखक, निर्देशक र निर्माता । उहाँहरु सल्लाह गरेर त होला, मलाई यसरी अभिनय गराउने । यस्सो बुझ्दा, सबै मिलेर मलाई सकाउन लागेजस्तो लाग्दैन हजुरलाई ?’ उनले प्रतिप्रश्न गरे ।

यतिबेला आफूलाई उद्योग बिगार्न थालेको आरोप आउन थालेको उनले बताए । ‘यो कुराले यति ठूलो रुप लेला भन्ने जस्तो लागेको थिएन । यति ठूलो रुप कि माग्ने बुढाले इन्डष्ट्रि बिगार्न थाल्यो भन्ने आरोप आउन थाल्यो । त्यसपछि बाहिर खुलेर बोल्नुपरेको हो’ उनले भने ।

केदार यतिबेला नेपाली फिल्मलाई ‘स्टार ड्रिभन’ र ‘कन्टेन्ट ड्रिभन’ दुबै खालका फिल्म चाहिने बताउँछन् । ‘तर, नेपालको बजारको लागि कथा सुहाउँदो फिल्म नै चाहिन्छ’ उनको मत छ ।

उनी स्टारभन्दा स्क्रिप्टमा लगानी गर्नुपर्ने बताउँछन् । ‘लेखनलाई पहिलो प्राथमिकतामा राख्नुपर्‍यो । राम्रा राम्रा लेखकलाई प्राथमिकता दिनुपर्‍यो । राम्रो कथा र राम्रो ब्रान्डमा काम गर्नलाई कलाकारले आफै पैसा घटाएर आउँछन् । उनीहरुलाई आफ्नो करिअर जोगाउनु हुन्छ’ उनी भन्छन् ।

पारिश्रमिकको विकल्प निर्माण वा मुनाफा साझेदार बन्नु हो । केदारले ‘छक्कापञ्जा’का सबै श्रृंखलामा साझेदारको रुपमा काम गरे । धेरै फिल्मले उनलाई यो शैलीमा प्रस्ताव पनि राखे । तर, बीचमा आइदियो विश्वासको संकट । त्यसपछि उनी पारिश्रमिकतिर मोडिए । भविष्यमा उनी राम्रो फिल्म र मिल्ने टीमसँग ‘प्रतिशत बाँडफाँट’मा बस्न चाहन्छन् ।

के केदार माग्ने बुढाको छविबाट बाहिरिन तयार छन् ? प्रश्न उनका लागि अहिलेसम्मकै चुनौतीपूर्ण अवश्य छ ।

यदि कसैले अफर गरेमा आफू नयाँ भूमिकामा देखिन उनी तयार छन् । ‘माग्ने बुढाको अवतारबाट बाहिर गएर नमाग्ने बुढाको रोल गर्न तयार छु’ भन्छन्, ‘कसैले अफर गर्छ भने म तयार छु ।’

भन्छन्, ‘नयाँ प्रयोग गर्दा मलाई त्यो डर भने छैन । म जोखिम चाहन्छु । अहिले सर्ट मूभी र टिकटकमा पनि प्रयोग गरेर हेर्न सकिन्छ । प्रुभ गरेर मात्र चलचित्रमा पनि ल्याउन सकिन्छ नि । यसबारे मैले सोचेको छु’ उनले भने ।

‘माग्ने बुढा’को नयाँ फिल्म ‘माग्ने राजा’ आउँदो तीजमा प्रदर्शन तयारीमा छ । लिड एक्टरको रुपमा यो उनको पहिलो फिल्म हुनेछ । उनलाई लाग्छ- शीर्ष भूमिकामा अभिनय गर्नु भनेको, जस अपजस आफ्नै टाउकोमा बोक्नु हो ।’

धेरै अर्थमा ‘माग्ने बुढा’को लागि ‘माग्ने राजा’ एउटा परीक्षण पनि हुनेछ ।

तस्वीर तथा भिडियो : शंकर गिरी

लेखक
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?