+
+
Shares
रसुवा बाढी :

रसुवागढीबाट चीनसँगको व्यापार अनिश्चित, मितेरी पुल बग्यो, आईसीपीमा ठूलो क्षति  

भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै सडक सम्पर्क पूर्णरूपमा टुटेको छ । अर्कातर्फ, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार २४ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीले रसुवागढी र टिमुरे नाका बगाएको र सडक, पुल, विद्युत् आयोजना क्षतिग्रस्त भएका कारण व्यापार र यातायात प्रभावित भएका छन्।
  • नेपाल–चीन सीमा व्यापार पूर्णरूपमा बन्द भएको र क्षतिग्रस्त संरचनाको मर्मत र पुनर्निर्माणको कार्य सुरु हुने जानकारी दिइएको छ।
  • महासंघले विपद्को पीडितहरूको तत्काल उद्धार र सहयोगको लागि सरकार र सम्बन्धित निकायसँग अनुरोध गरेको छ।

२४ असार, काठमाडौं । नेपालको चीनतर्फको मुख्य व्यापारिक नाका रसुवागढीबाट हुने व्यापार पूर्णरूपमा टुटेको छ । साथै, भयानक क्षतिका कारण यहाँबाट हुने व्यापार समेत अनिश्चित बनेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ महिना) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ ।

चीनतर्फको अर्को नाका तातोपानीबाट यो अवधिसम्म ४६ अर्ब ८९ करोडको आयात भएको छ । निर्यात व्यापार शून्य छ । चीनतर्फ हवाईमार्गबाट हुनेबाहेक व्यापार यी दुई नाकाबाट हुने गरेको छ । मंगलबार बिहान आएको विनाशकारी बाढीले यस नाकाको मितेरी पुल नै बगाएसँग अब रसुवागढीबाट तत्काल आयात–निर्यात हुने छैन ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार चीनतर्फबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै सडक सम्पर्क पूर्णरूपमा टुटेको छ । अर्कातर्फ, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।

रसुवा भन्सार कार्यालय यार्डमा क्षति पुगेको छ । ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । साथै, रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको छ । १८ नागरिक वेपत्ता छन् । सुरक्षा निकायले ५५ जनाको उद्धार गरेको छ ।

नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार तत्कालका लागि यो नाकाबाट अन्तर्राष्ट्रिय व्यापार सम्भव छैन ।

व्यवसायी रमेश बरालका अनुसार रसुवा बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा रहेका कन्टेनर तथा ट्रकहरू बगाउँदा करोडौं क्षति भएको छ । आयात निर्यातका व्यापारिक मालसामान मात्रै करिब ५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ । तर, बाढीग्रस्त क्षेत्रमा कति गाडी थिए, कति बगे भन्ने यकिन तथ्यांक आउन सकेको छैन । त्यसैले यति नै क्षति पुग्यो भन्न सकिन्न ।

यो बाढीले पुल र सडक समेत बगाएका कारण चीनतर्फको व्यापार धेरै समय प्रभावित हुने उनले बताए । ‘अब दसैंका लागि सामान आयात हुने बेला हो । त्यसो हुँदा रसुवागढी नाकाबाट हुने आयात निर्यात निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यस्तो महत्त्वपूर्ण समयमा आएको बाढीका कारण चीनसँगको व्यापारमा निकै ठूलो क्षति हुने देखिन्छ ।’

निर्माणाधीन टिमुरे नाकामा क्षति कति ?

रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा कुल निर्माणको ६० प्रतिशत भौतिक क्षति भएको पाइएको छ । नेपाल इन्टरमोडल विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार बाढीमा १४ जना कामदार बेपत्ता छन् । तिनमा ८ नेपाली र ६ चिनियाँ कामदार छन् । भौतिक क्षतितर्फ रिटेलिङ वाल ४ सय मिटर पूरै बगेको छ । बेचिङ प्लान्ट पूरै बगेको छ । लिटिगेसन सेड र वेयरहाउसमा समेत क्षति पुगेको छ ।

इन्स्पेक्सन सेड र ट्वाइलेट ब्लकमा समेत क्षति भएको छ । वेयरहाउसको फाउन्डेसन पूरै बगेको छ । पूरै पार्किङ क्षेत्रमा क्षति भएको छ भने बालुवा र गिट्टीले भरिएको छ । इन्ट्री रोडतर्फको रिटेनिङ वालमा क्षति भएको छ । मेन कम्प्लेक्स भवन बाहेक सबै पूर्वाधारमा क्षति भएको समेत समितिले जनाएको छ । एक्जिट रोड सुरक्षित छ । पार्किङ यार्ड फेसिलिटी र रिटेनिङ वालमा समेत पूरै क्षति भएको छ । यस प्रकार यो संरचनाको ६० प्रतिशत क्षति भएको देखिएको छ ।

३५ ईभीसँगै २३ कन्टेनर सामान सहित बगे

जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ३५ वटा ईभी गाडी बगेको पुष्टि भएको छ । कन्टेनर ट्रक सामान सहित २३ वटा बगेको पुष्टि भइसकेको छ । सिनो ट्रक ६ वटा बगेको पुष्टि भएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेको यार्ड र सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि राखिएका केही थान मालवाहक ट्रक/कन्टेनर र विद्युतीय सवारीसाधन समेत बगाएको पाइएको छ । क्षति आकलनको काम भने अझै पनि जारी छ ।

उता, व्यवसायीले समेत थप गाडी बगाए पनि त्यसको पुष्टि गर्ने प्रयास भइरहेको बताएका छन् ।

२ सय मेगावाट बराबर विद्युत् उत्पादन बन्द

रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको मात्र २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ । सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति नभएको उनले बताए ।

त्यस्तै ६० मेगावाट क्षमताको  त्रिशूली–३ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर, भवनमा बाढी पसेको छ । त्रिशूली–३बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

त्यस्तै चिलिमेको पावरहाउसमा पानी छिरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको जानकारी उनले दिए । यिनै आयोजनाको उत्पादन बन्द भएकाले त्रिशूली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको शाक्यले बताए ।

सडक क्षति अध्ययन थालियो

सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अध्ययन गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन गरिएको छ ।

गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गरिएको छ । बाढी र वर्षाको अवस्था हेरी सडक विभागको जनशक्तिले तत्काल गर्नुपर्ने काम सुरु गर्ने उनले बताए ।

अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामका लागि योजना बनाउने समेत उनले बताए । उनका अनुसार उक्त क्षेत्रमा गर्नुपर्ने संरक्षण मर्मत र पुनर्निर्माणका लागि विभागको टोलीले अन्य निकायसँग समेत समन्वय गरिरहेको छ ।

 

उता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीबाट क्षतिग्रस्त सडक, पुल लगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन सडक विभागलाई निर्देशन दिएका छन् । उनले क्षतिग्रस्त स्थानमा अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिएका हुन् ।

भोटेकोशी नदीले पुर्‍याएको क्षति अध्ययन गरी यातायात सहज बनाउने तर्फ लाग्न समेत उनले निर्देशन दिए । अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुनर्निर्माण योजना बनाउन उनको निर्देशन छ ।

नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षति अध्ययन गरी जनजीवन र यातायात सहज बनाउने तर्फ जनशक्ति र स्रोताधन परिचालन गर्न उनले निर्देशन दिए । बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षति मध्यनजर गरेर वर्षायामभरि सुरक्षित यातायात र सडक सञ्चालन गर्न सम्बद्ध निकायसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले निर्देशन दिए ।

उक्त सडक बाहेक अन्य सडकतर्फ समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी जनशक्ति, औजार, उपकरण  परिचालन गर्न उनको निर्देशन छ ।

महासंघको चिन्ता

नेपाल उद्योग वाणिज्य महासंघले रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेको छ ।

विपद्मा परेका व्यक्तिको तत्काल उद्धार र जोखिमग्रस्त क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासका लागि महासंघले नेपाल सरकारसँग आग्रह गरेको छ । बाढी पहिरोले चीनसँगको मुख्य व्यापारिक नाकामा सुक्खा बन्दरगाहमा क्षति हुनुका साथै त्यहाँ राखिएका इलेक्ट्रिक र मालवाहक सवारीसाधन बगाएको विषयमा समेत महासंघले चासो लिएको छ ।

यस विषयमा रसुवा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, कन्टेनर ढुवानी संघ र नेपाल स्वतन्त्र यातायात मजदुर संघका पदाधिकारीले महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठलाई भेटेर क्षतिको विवरण जानकारी गराउँदै तत्काल सहयोगका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

महासंघले गृह मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासलाई आवश्यक सहयोगका लागि पहल गरिदिन आग्रह गरेको छ । चीनतर्फ फसेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न र नेपालतर्फको उद्धारका लागि सरकारसँग महासंघले अनुरोध गरेको छ ।

रसुवा बाढी
लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?