
२४ असार, काठमाडौं । नेपाल बीमा प्राधिकरणले पहिलो पटक नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम तथा नियामकीय योजना एकीकृत गरेको छ ।
गत वैशाख मसान्तसम्म कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमा पहुँच पुगेको छ भने ५२.६१ प्रतिशत जनसंख्या बीमा पहुँच बाहिर रहेको प्राधिकरणले जनाएको छ ।
बीमा विस्तारका लागि प्राधिकरणमा हाल कार्यरत १ सय ५८ जना र बीमा कम्पनीमा वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्दै अनुसन्धानमूलक तथा आवश्यकतामा आधारित नवीनतम बीमालेख निर्माण गर्न पहल गरिने प्राधिकरणले जनाएको छ ।
आगामी दिनमा ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।
मोबाइल एप, टेलिम्याटिक्स, इन्स्योरटेक, सुपरटेक लगायत डिजिटल प्रणाली प्रयोग गरी प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको समितिको बुझाइ छ ।
बीमकले प्रविधि प्रयोगद्वारा यथाशीघ्र दाबी भुक्तानी गर्दै बीमा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता कायम गर्न प्राधिकरणले प्रभावकारी बीमा नियमन तथा सुपरीवेक्षण प्रणाली विकास गर्ने योजना गरेको जनाएको छ ।
चालु आव २०८१/८२ तेस्रो त्रैमाससम्म बीमकहरूको ८ खर्ब ४७ अर्ब १२ करोड लगानी सुरक्षित र प्रभावकारी बनाउँदै बीमकहरूको वित्तीय स्थायित्व, जोखिम व्यवस्थापन तथा बीमित हित संरक्षण गर्न बीमा प्राधिकरणले सक्रिय नियामक निकायको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ ।
प्राधिकरणले ‘सहज पहुँचयुक्त, विश्वसनीय, सुदृढ र गुणस्तरीय बीमा प्रणालीको विकास’ गर्ने सोचसहित नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।
त्यसैगरी प्रतिस्पर्धी विश्वसनीय बीमा प्रणाली विकास एवं विस्तार गरी बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्ने लक्ष्य प्राधिकरणको छ ।
बीमा सेवाको गुणस्तर अभिवृद्धि गरी आधुनिक तथा दिगो बीमा प्रणालीे विकास गर्ने उद्देश्य राखेको प्राधिकरण अध्यक्ष शरद ओझाले बताए ।
जीवन, सम्पत्ति तथा दायित्वको जोखिम न्यूनीकरण गर्दै सबल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने तथा बीमा क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी, विकसित तथा विश्वसनीय बनाउनमा विशेष जोड दिने ओझाको भनाइ छ ।
प्रतिक्रिया 4