News Summary
Generated by OK AI. Editorially reviewed.- साफ यू-२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोलीको बिदाई कार्यक्रममा सिनियर टोलीको विवादबारे केही चर्चा भयो।
- सिनियर टिमका प्रशिक्षक प्याट्रिक डे वाइल्डले एक अन्तर्वार्तामा नेपाल नफर्कने बताएका थिए।
- एन्फा अध्यक्ष र महासचिवले विवादलाई लिएर प्रतिक्रिया दिएका हुन्।
२४ असार, काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली महिला राष्ट्रिय यू-२० टिमको बिदाई कार्यक्रम थियो ।
एन्फा मुख्यालय, सातदोबाटोमा भएको बिदाई कार्यक्रममा बिदाई जुनियर टिमको थियो । तर त्यहाँ चर्चा भने सिनियर महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको भयो ।
चर्चा सकारात्मक हिसावमा थिएन । प्रशिक्षक वाइल्डप्रति कटाक्ष गर्न देखि लिएर प्रो लाइसेन्स प्रशिक्षकको काम भने त्यो अनुसार नभएको सम्म प्रतिक्रिया आयो ।
यो सबै चर्चा गर्ने काम अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले गरेका थिए ।
र यसको पृष्टभूमि थियो मुख्य प्रशिक्षक वाइल्डको अन्तर्वार्ता । कान्तिपुरका मंगलबार बिहानै प्रकाशित अन्तर्रातामा प्रशिक्षक वाइल्डले एन्फा नसुध्रेसम्म आफू नेपाल नफर्कने बताएका थिए ।
नेपाली राष्ट्रिय महिला टोली उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर सोमबार स्वदेश फर्कँदा प्रशिक्षक वाइल्ड भने टिमसँग फर्केनन् । उनी उतैबाट आफ्नै देश बेल्जियम फर्किएका थिए । त्यसको भोलिपल्ट उक्त अन्तर्वार्ता प्रकाशित भयो ।
त्यसमा खेलाडीले आइस नपाएको, कुनै सुविधा नभएको, प्रधानमन्त्रीले फोन गरेर शुभकामना दिँदा खेलाडीमाथि दबाब भएको र खेलाडीहरु पेनाल्टी हान्न समेत तयार नभएको जस्ता विषयमा प्रशिक्षकले बोलेका थिए ।
प्रशिक्षकको अधिकार कति? कति कुरा बोल्न हुने/नहुने त्यो अर्को बहसको विषय बन्न सक्छ । तर उनले बोलेकै कुराले भने अहिले एन्फा र नेपाली फुटबलमै तरंग पैदा भएको छ ।
कतिले प्याट्रिकले सही बोले भनेका छन् त कतिले गलत । यसमा दुवैखाले प्रतिक्रिया आएको छ । महिला यू-२० टिमको बिदाईमा उपस्थित भएका एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईले त्यही विषयलाई नै आधार रहेर बिदाईमा आफ्नो भनाई राखेका थिए ।
सुरुमै भनाई राखेका राईले शुभकामना दिन पनि अफ्ठ्यारो लागेको र पेनाल्टी हान्न पो डराउने हुन् कि भन्दै व्यङ्ग गरे । यद्यपी आफूले शुभकामना दिने भन्दै उनले भनाई राखे । ‘प्रोफेसनल भनेर राखेको । खै के भन्ने । गाह्रो छ । कहिलेकाहीँ आइस भएन, पानी नहोला । यी सामान्य कुराहरु चर्चामा ल्याइरहनुपर्ने जस्तो लाग्दैन’ राईले भने । उनले यस्ता घटनाक्रमहरुबाट सिक्दै जाने कुरा समेत राखे ।
यस्तै त्यसपछि आफ्नो भनाई राखेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले प्रधानमन्त्रीले शुभकामना दिनु नराम्रो नभएको बताए । यस्तै उनले प्याट्रिक डे वाइल्डले मिडियामा बोलेको कुरा सत्य नहोस भन्ने कामना समेत गरे ।
‘उहाँ जत्तिको एउटा व्यावसायिक प्रशिक्षकले त्यतिसम्मको कुराहरु गर्दाखेरी टिमलाई, संस्थालाई, खेलाडीलाई प्रशिक्षक स्वयं उहाँलाई त्यसको सकरात्मक भन्दा नकरात्मक असर हुन जान्छ । त्यो होइन होला । त्यो कसैले बोलेको झुक्केर नाम मिलेको जस्तो लाग्छ मलाई’ नेम्वाङले भने ।
यू-२० खेल्ने जाने टोलीमा पनि कप्तान यहीँ घोषणा गरेर जान उनले यू-२० महिला टिमका प्रशिक्षक याम बहादुर गुरुङलाई पनि भाषणकै क्रममा भने । ‘कप्तान यहीँदेखि तोकेर पठाउनुहोस्’ नेम्वाङले गुरुङलाई लक्षित गर्दै भने ।
उनले सिनियर टिममा उत्पन्न भएको विवादलाई पृष्ठभूमि बनाएर भोलिका दिनमा यू-२० टिममा म्यानेजर र प्रशिक्षक कुनै टसल नहोस् भन्ने कामना समेत गरे ।
एन्फा अध्यक्ष नेम्वाङले यू-२० महिला टिमकी म्यानेजर रहेकी इन्दु सुवालको नाम पनि लिँदै बंगलादेशमा खेल्न जाँदा कुनै विवाद नहोस् भनेर सजग गराए । तर खेलाडीको बिदाई समारोहमा अभिभावक संस्थाको नेतृत्वले नै यस किसिमको भनाई राख्ने टिमलाई निर्देशन दिने कटाक्ष गर्ने जस्ता कुरा गर्दा खासै राम्रो सुनिएको थिएन ।
दिनभर प्रशिक्षक वाइल्डको अन्तर्वार्ताको चर्चा हुँदा यू-२० टोलीको बिदाईको माहोल नै अर्कै बनेको थियो । मुख्य प्रशिक्षक प्याट्रिक बेल्जियम फर्किएपछि अब उनको भविष्य के हो उनी फर्कने नफर्कने भन्ने चर्चाको विषय बनेको छ ।
एन्फा महासचिव किरण राईका अनुसार उज्बेकिस्तान जाने बेला नै छनोटपछि प्रशिक्षक वाइल्ड बेल्जियम जाने निर्णय भएको थियो ।
तर छनोट सकिएपछि भने उनले कहिले फर्कने कुनै जानकारी नगराई बेल्जियम गएको राईले बताए । ‘छनोट खेल्न जानुअघि नै उहाँ जाने कुरा भएको थियो । तर कहिले नेपाल आउने जानकारी गराउनुभएको छैन’ उनले भने ।
प्रशिक्षकको पछिल्लो अन्तर्वार्ता र छनोटका क्रममा भएको घटनाक्रम हेर्दा उनी फेरि नेपाल आउनेमा शंका छ । अब तत्काल नेपाली महिला टोलीको खेल नुहनु, उज्बेकिस्तानमा कप्तानको विवाद देखिनु जस्ता विषय अहिले पचिलो बनेको छ । एन्फाले अहिलेसम्म यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर यो विषयलाई कसरी हल गर्ने भनेर एन्फा नै सोचमग्न बनेको देखिन्छ ।
एन्फा महासचिव किरण राईले प्रशिक्षकको सम्झौता एक वर्षको भएकोले उनी फर्किएर नेपाल आउनुपर्ने बताउँछन् । प्रशिक्षक एन्फा नसुध्रिएसम्म नेपाल नआउने बताउँछन् ।
दुवैले एक अर्कालाई स्वीकार गर्न नसक्ने स्थितिसम्म पुगेपनि बल्ल आएका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक फेरि नेपाल नआउन सक्छन् ।
छनोटको पहिलो खेल देखि नै टिम व्यवस्थापनसँग टसल भएपछि प्रशिक्षक प्याट्रिक डि वाइल्डले पहिलो खेलपछि नै एन्फा अध्यक्षलाई पत्र लेख्दै घटनाक्रम बारे जानकारी गराएका थिए । पहिलो खेलमा कप्तान चयनको विषयलाई लिएर व्यवस्थापक र प्रशिक्षकबीच टसल भएको थियो ।
व्यवस्थापकले रेनुका नगरकोटेलाई कप्तान तोकेर नाम पठाउने, प्रशिक्षकले सावित्रा भण्डारीलाई कप्तान बनाउदै आर्मब्याण्ड दिने विषयले ठूलो चर्चा पाइरहेको छ ।
प्रतिक्रिया 4