
२५ असार, गुल्मी । मनसुन सक्रिय भएसँगै गुल्मी जिल्लामा सम्भावित प्राकृतिक विपद्बाट करिब २२ हजार नागरिक प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मी र सम्बन्धित सुरक्षा तथा आपतकालीन व्यवस्थापन निकायहरूले तयार पारेको जोखिम मूल्याङ्कन प्रतिवेदनअनुसार यस वर्ष पहिरो, बाढी र डुबानजस्ता विपद्को उच्च जोखिम रहेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, रेडक्रस, गैरसरकारी संघ संस्था र पत्रकारसँग विपद् पूर्वतयारी सम्बन्धमा अन्तरक्रिया समेत गरेका छन् ।
विपद्बाट जनधनको क्षति कम गर्न र विपद् भइहालेमा तत्कालै उद्धार र राहत बारेमा छलफल समेत गरिएको थियो ।
विगत वर्षहरूमा मनसुनको समयमा आएको बाढी, पहिरो, डुबान, सडक अबरुद्ध र घर क्षतिजस्ता घटनालाई आधार मानेर यो वर्ष अझ बढी सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
जिल्लाका पहाडी र भौगोलिक दृष्टिले संवेदनशील क्षेत्रमा बसोबास गर्ने करिब २२ हजार नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष कुनै न कुनै रूपमा असरमा पर्ने अनुमान गरिएको गैरेले बताए ।
जिल्लाका १२ वटा स्थानीय तहका उच्च पहाडी क्षेत्रमा पहिरोको सम्भावना उच्च भएकाले त्यहाँका स्थानीय बासिन्दालाई सतर्क रहन पनि आग्रह गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहसँग आपतकालीन उद्धार तथा राहत कार्यका लागि पूर्वतयारी योजना निर्माण गरिएको छ ।
विपद् व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति क्रियाशील बनाइएका छन् । जिल्ला भर साना ठूला राजमार्गहरुको अवस्थाको बारेमा नेपाल प्रहरीले निरन्तर अनुगमन गस्ती गर्दै आइरहेको छ ।
यसवर्ष मनसुनजन्य विपद्बाट हालसम्म ५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।
जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी, अस्थायी बासस्थलको व्यवस्थापन, खाद्यान्न, लत्ता–कपडा, औषधि लगायतका राहत सामग्रीको जोहो, र उद्धार टोलीको तयारी पूर्ण अवस्थामा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
सुरक्षा निकायहरूमध्ये नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तत्काल परिचालन गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको छ । साथै रेडक्रस, नागरिक समाज, विभन्न गैरसरकारी संस्था, युवा क्लब, सामुदायिक संस्था र स्वयम् सेवक समूहहरूसँग पनि सहकार्य भइरहेको प्रशासनले जनाएको छ ।
त्यस्तै विपद् उद्धारको लागि सशस्त्र प्रहरी वल गुल्मले चन्द्रकोट गाउँपालिकाको मजुवामा अस्थायी क्याम्पसमेत स्थापना गरेर तयारी अस्वथामा राखिएको छ । त्यस स्थानमा सदरमुकामबाट जान ढिलाइ हुनसक्ने सम्भावनालाई मध्य नगरराखेर विपद् उद्धारमा सक्रिय प्रहरी युनिट राखिएको सशस्त्र प्रहरी वल ३७ नम्बर गुल्मीका प्रहरी नायब उपरीक्ष पवन खड्काले बताए ।
उनले कुनै पनि ढाउमा विपद तथा जोखिम अवस्थाबारे सूचना दिनसमेत आग्रह गरे । प्रशासनले नागरिकहरूलाई मौसम पूर्वानुमान र सरकारी सूचनामा ध्यान दिन, नदी किनार, पहिरो सम्भावित भेग, र जोखिमयुक्त स्थानमा अनावश्यक बसोबास नगर्न चेतावनी दिएको छ ।
आकस्मिक अवस्था आएमा स्थानीय प्रशासन, वडा कार्यालय वा नजिकको सुरक्षा निकायलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ ।
विपद् व्यवस्थापनको क्रममा सूचनाको प्रभावकारी आदानप्रदानका लागि सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा मोबाइल एसएमएस प्रणालीको प्रयोग भएको छ ।
ग्रामीण क्षेत्रमा सूचनाको पहुँच सुनिश्चित गर्न स्थानीय एफएम रेडियो, सूचनापाटी र माइकिङको समेत प्रयोग गरिने तयारी प्रशासनले गरेको छ ।
मनसुन अझै केही महिना सक्रिय रहने भएकाले थप जोखिम पनि उत्पन्न हुन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकहरूप्रति विशेष सावधानी र सहयोगको आह्वान गरेको छ ।
संकटका बेला संयमता, सतर्कता र सहकार्य नै जीवन र क्षतिको बचाउ भएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
प्रतिक्रिया 4