+
+
Shares

२५ वर्ष स्टेरिङ घुमाएका हातले दैनिक दुहुन्छन् २०० लिटर दूध

टेकबहादुरलाई गाई फर्मबाट मासिक खर्च कटाएर १ लाख ५० हजारसम्म बचत हुन्छ । २०० लिटर दूध उत्पादन गरिरहेका उनी दैनिक ५०० लिटर दूध उत्पादन गर्ने योजनासहित काम गरिरहेका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असार २५ गते ८:५८

२५ असार, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका- ५ लक्ष्मीनारायण टोलका टेकबहादुर घिमिरेले १० वर्ष साउदी अरब र कतारमा बिताए । घर फर्किएपछि केही वर्षौं अरुको गाडी चलाए ।

जीवनको २५ वर्ष गाडीको स्टेरिङ घुमाएका टेकबहादुरको दैनिकी पछिल्लो ५ वर्षयता फेरिएको छ । उनले गाउँमै गाई फर्म सञ्चालन गरेका छन् । उनको व्यवसायलाई श्रीमती संगीता पौडेलले साथ दिएकी छिन् ।

स्टेरिङ चलाउने उनका हात अब दूध दुहुने मेसिन चलाउन थालेका छन् । घरमा दूध खानका लागि पालेको एउटा गाईबाट सुरु भएको व्यवसायलाई उनले उदाहरणीय बनाएका छन् ।

टेकबहादुरको ‘लक्ष्मीनारायण गाई फर्म’मा सानाठूला गरी ४४ वटा उन्नत जातका गाई छन् । दैनिक २०० लिटर दूध उत्पादन हुन्छ । उनले उत्पादन गरेको दूध गाउँदेखि इटहरी बजारसम्म बिक्री हुन्छ । छिमेकीहरु फर्ममा नै दूध लिन आउँछन् ।

‘हामीलाई दूध बिक्री गर्न समस्या छैन, मागअनुसार उत्पादन गर्न सकेका छैनौं,’ संगीता भन्छिन्, ‘धेरै दूध गोठबाटै बिक्री हुन्छ ।’

टेकबहादुरको घर सुन्दरहरैचा नगरपालिका– ४ मा पर्छ । सुरुमा उनले घरमै गाई पालेका थिए । घरमा गाई पाल्दा छर(छिमेकीले गोबर गनाएको गुनासो गरे । गोबर सोहोर्ने पेसा गरेको भन्दै कुरा पनि काटे ।

गाउँले अलिक असहज मानेको महसुस गरेपछि उनले साढे १२ कट्ठा जग्गा भाडामा लिएर फार्म विस्तार गरे ।

कुनै समय अरुको गाडी कुदाउने टेकबहादुरले अहिले गाई फर्ममा ४ जनालाई रोजगारी दिएका छन् । गाई पाल्नु गोठालो बन्नु मात्र होइन, राम्रो पेसा हो भन्ने सन्देश दिएका छन् ।

‘हिजो गोबर सोर्ने पेसा के गरेको भन्नुहुन्थ्यो, अहिले गाउँमा सन्देश दिएको छ, यो हाम्रो हेरेर यसरी पनि गाई पाल्न सकिन्छ भनेर सुरु गर्नुभएको छ,’ संगीताले भनिन्, ‘थोरैबाट विस्तार गर्दै यहाँसम्म आएका छौं ।’

उनीहरुले गाई पालनसँगै व्यावसायिक रुपमा बाख्रा, लोकल कुखुरा र हाँस पालेका छन् । फर्मकै लागि दुई वटा ट्याक्टर पनि राखेका छन् ।

टेकबहादुरलाई विदेशको मिहिनेतले भन्दा स्वदेशकै गाई फर्मको परिश्रमले खुसी मिलेको छ । गोठमा बिहान ४ बजेबाट सुरु हुने उनको व्यस्तता हरेक दिन साँझसम्म चल्छ ।

‘पहिले पहाड चलाउँथे अनि त्यसपछाडि २०६१ मा साउदी गएँ, ५ वर्ष बसेपछि फर्किएर फेरि कतार गएँ । त्यहाँबाट फर्किएर १०-११ वर्ष ट्याक्टर चलाएँ,’ टेकबहादुर भन्छन् ‘सुरुमा एउटा गाई पालेका थियौं, त्यसलाई बढाउँदै–बढाउँदै व्यवसाय नै बनायौं । विदेशको बसाइभन्दा स्वदेशकै गाई पालनमा धेरै आनन्द छ ।’

संगीतालाई पनि श्रीमान्ले विदेशमा गरेको संघर्षभन्दा गाउँमा गरेको मिहिनेत राम्रो लाग्छ । ‘बाहिर भनेको त अर्काको देश, अर्काकै भैगो नि, यहाँ आफ्नो गर्दा हुन्छ,’ उनी भन्छिन्, ‘पहिले मान्छेले के गोबर सोर्नु भन्थे । हामी हाँसीखुसी छौं, बाहिर जानु परेको छैन, यहाँ कति हो कति आनन्द नि ।’

टेकबहादुरलाई गाई फर्मबाट मासिक खर्च कटाएर १ लाख ५० हजारसम्म बचत हुन्छ । २०० लिटर दूध उत्पादन गरिरहेका टेकबहादुर दैनिक ५०० लिटर दूध उत्पादन गर्ने योजनासहित काम गरिरहेका छन् ।

संगीताले सुरुमा नजानेर फर्म निर्माणमा अलिक बढी लगानी गरेकी छिन् । सल्लाह लिन आउनेलाई भने उनी सजिलो बाटो सिकाउँछिन् ।

उनीहरुकै काम देखेर गाउँमा सिक्नेहरु पनि छन् । ‘यो बनाउन नै धेरै लगानी लायौं, हाम्रो अलि आत्तिने बानी छ, थाल्ने बित्तिकै त आम्दानी दिइहाल्दैन नि,’ उनले भनिन्, ‘गाईसँगसँगै बाख्रा–कुखुरा पनि पालिएको छ । साइड काम गर्दा त्यसबाट हुने आम्दानीले खर्च चलाउन सहज हुँदो रहेछ ।’

‘व्यावसायिक रुपमा गाई पालन गर्दा गोठालो मात्र होइन, राम्रो आम्दानी लिन सकिन्छ भन्ने सबैलाई भइसकेको छ,’ उनले भनिन्, ‘हाम्रो देखेर धेरै स्थानीय गाई पालनतर्फ आकर्षित हुनुभएको छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?