+
+
Shares

रसुवाको बाढीबारे अनलाइनखबरका ३ जिज्ञासा र इसिमोडको जवाफ

अनलाइनखबर डटकमले मंगलबार दिउँसो रसुवाको बाढीको कारण खोज्ने क्रममा इसिमोडलाई इमेलमार्फत् मुख्य तीन जिज्ञासा राखेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते ९:१६

२५ असार, काठमाडौं । रसुवागढीलाई तहसनहस बनाउने गरी भोटेकोशी नदीमा आएको बाढीको कारण खुट्याउन विज्ञहरु प्रयासरत छन् । जल तथा मौसम विज्ञान विभाग र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का विज्ञहरु यसको अध्ययनमा व्यस्त छन् ।

विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार रसुवा र रसुवासँग सिमाना जोडिएको चीनको तिब्बत क्षेत्रमा भारी वर्षा भएको छैन । त्यसैले बाढीको कारण अझै स्पष्ट हुन सकेको छैन । कारण पत्ता लगाउन स्याटेलाइट तस्वीर अध्ययनको काम जारी छ । त्यसका लागि विभागले इसिमोडको सहयोग मागेको छ ।

इसिमोडका विज्ञहरुले पनि स्याटेलाइटको आधारमा अध्ययन जारी राखेका छन् । इसिमोडको वरिष्ठ जलविज्ञान अनुसन्धान सहायक प्रदीपमान डंगोलका अनुसार बाढीको कारण अझै स्पष्ट हुन सकेको छैन तर प्रारम्भिक अनुसन्धानमा चरम वर्षा भने बाढीको कारण होइन भन्ने निष्कर्ष निस्किएको छ ।

‘८ जुलाई २०२५ मा रसुवामा आएको बाढीको ठ्याक्कै कारण अहिले नै भन्नु हतार हुनेछ । यद्यपि, हामी यो यकिनका साथ भन्न सक्छौं कि चरम वर्षा यो घटनाको कारण थिएन,’ डंगोल भन्छन्, ‘यस विषयमा विस्तृत अनुसन्धान आवश्यक छ, तर त्यो गर्नका लागि पहिले मनसुनको बादल हट्नुपर्नेछ ताकि स्पष्ट भूउपग्रह चित्र प्राप्त गर्न सकियोस् ।’

भूगर्भशास्त्री, हिमनदी विज्ञ, जलवायु तथा मौसमविद् र रिमोट सेन्सिङ विश्लेषकहरूको संयुक्त टोलीले यस बाढीको वास्तविक कारण पत्ता लगाउने विस्तृत अध्ययन गर्नुपर्ने इसिमोडको जोड छ ।

इसिमोडको सन् २०२१ को तथ्यांक अनुसार, त्रिशूली नदीको माथिल्लो धारतिर चीनको तिब्बत स्वायत्त क्षेत्र भित्र पर्ने एक हिम ताललाई उच्च जोखिमयुक्त तालको रूपमा वर्गीकृत गरिएको छ । त्यसको नजिकबाट निगरानी आवश्यक छ ।

साथै सन् १९९० देखि २०२० सम्मको तीन दशकको अवधिमा यस नदी प्रणालीमा पर्ने हिम तालहरूको आकार ३३ प्रतिशतले र संख्या १६ प्रतिशतले बढेको इसिमोडको अध्ययनले देखाएको छ । बाढी आउनुअघिका केही उपग्रह चित्रहरूले पनि हिम तालहरूको संख्या बढेको देखाएका छन् । तर, हाल बादल लागेकाले उपग्रह चित्र विश्लेषणमा अवरोध भइरहेको छ ।

त्यसैले कुन ताल फुटेको हो वा कुनै तालमा आकस्मिक परिवर्तन आएको हो भन्ने पत्ता लगाउन बादल हट्ने र उच्च रिजोल्युसनको भूउपग्रह चित्र पर्खनु पर्ने इसिमोडको भनाइ छ ।

अनलाइनखबर डटकमले मंगलबार दिउँसो रसुवाको बाढीको कारण खोज्ने क्रममा इसिमोडलाई इमेलमार्फत् मुख्य तीन जिज्ञासा राखेको थियो । अनलाइनखबरको जिज्ञासा र इसिमोडबाट मंगलबार बेलुकी प्राप्त जवाफ यस्तो छ-

१. के रसुवाको बाढी हिम ताल फुटेर आएको हो ? यदि हो भने कुन ताल ?

हालको अवस्थामा हिम ताल फुटेर आएको बाढी वा पहिरो ताल फुटेर आएको बाढी भएको आशंका गरिएको भए पनि अहिलेसम्म यसबारे कुनै ठोस प्रमाण भेटिएको छैन । इसिमोडको २०२१ को तथ्यांक अनुसार, त्रिशूली नदीको माथिल्लो धारतिर तिब्बत स्वायत्त क्षेत्र (चीन) भित्र पर्ने एक हिमनदी ताललाई उच्च जोखिमयुक्त तालको रूपमा वर्गीकृत गरिएको छ र त्यसको नजिकबाट निगरानी आवश्यक छ ।

हाम्रो पछिल्लो अध्ययनले देखाएको छ कि सन् १९९० देखि २०२० सम्मको तीन दशकको अवधिमा यस नदी प्रणालीमा पर्ने हिमनदी तालहरूको आकार ३३ प्रतिशतले र संख्या १६ प्रतिशतले बढेको छ । बाढी आउनुअघिका केही उपग्रह चित्रहरूले पनि हिमनदी तालहरूको संख्या बढेको देखाएका छन् ।

तर, हाल बादल लागेकाले उपग्रह चित्र विश्लेषणमा अवरोध भइरहेको छ । त्यसैले कुन ताल फुटेको हो वा कुनै तालमा आकस्मिक परिवर्तन आएको हो भन्ने पत्ता लगाउन बादल हट्ने र उच्च रिजोल्युसनको उपग्रह चित्र पर्खनु पर्नेछ ।

२. कुनै खोला वा नदी थुनिएर त्यसपछि बाढी आएको थियो कि ? यदि हो भने कुन ?

प्रारम्भिक प्रतिवेदन र सामाजिक सञ्जालमा देखिएका दृश्यहरूअनुसार बाढी रसुवाको केरुङ क्षेत्र हुँदै आउने भोटेकोसी नदी (त्रिशूलीको एक प्रमुख सहायक नदी) को पूर्वतिरबाट आउने लेन्दे खोलाबाट सुरु भएको देखिन्छ ।

तर, जल तथा मौसम विज्ञान विभागको जलस्तर तथ्यांकले कुनै खोलो थुनिएको वा अचानक फुटेको संकेत दिएको छैन– जस्तै तात्कालिक रुपमा पानीको सतह एक्कासी बढेर फेरि घटेको– यस्तो कुनै संकेत छैन । यसको अर्थ खोलो वा नदी थुनिएर फुटेको कारण सम्भावना कम देखिन्छ । यद्यपि, अझै माथिल्लो क्षेत्रको स्थलगत अनुसन्धान आवश्यक छ ।

३. के चिनियाँ क्षेत्रमा भारी वर्षा भएको थियो ? यदि हो भने त्यसको प्रकृति कस्तो थियो ?

इसिमोडको प्रारम्भिक विश्लेषण अनुसार, इसिमोडको High–Impact Weather Assessment Toolkit, अमेरिकी NOAA को Global Forecast System, युरोपेली ECMWF, जापानी HIMAWARI-८ उपग्रह चित्रहरू, तथा Global Precipitation Measurement जस्ता क्षेत्रीय तथा वैश्विक मौसम पूर्वानुमान प्रणालीहरूले बाढी आउनुअघि चिनियाँ जलाधार क्षेत्रमा उल्लेख्य वर्षा भएको संकेत गरेका छैनन् । यसको अर्थ चरम वर्षा यो घटनाको प्रमुख कारक होइन भन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?